पैसा कमाउन विदेश नै जानुपर्दैन : नेपालमै मासिक डेढ लाख

  • प्रकाशित मितिः माघ, 28, 2074
  • पहिलो किताब संवाददाता

मोरङ / दैनिकरुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानुपर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ ।

एक माउ भैँसीबाट पशुपालन शुरु गरेका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आएका छन् । २०६७ सालदेखि एक माउ भैँसीबाट पशुपालन शुरु गरेका चोङवाङले अहिले आफैँले उत्पादन गरेको १२० लिटर दूध बिक्री गर्दै आएका छन् । उनले वार्षिक रुपमा बिक्री गर्ने सय ट्र्याक्टर गोबरमल प्रतिट्र्याक्टर रु तीन हजारका दरले बिक्री गर्दै आएको बताए।

चोङवाङले गाउँमा आफैँ रोजगारीको सृजना गर्ने विचारले कुलझोडा पशुपालन तथा दुग्ध व्यवसाय प्रालिको स्थापना गरे। उनले अहिले आफ्नै चार बिघा जमिनमा स्थापना गरेको पशुपालन केन्द्रमा पाँच जनालाई रोजगारी दिएका छन् । सो केन्द्रमा अहिले नौ माउ भैँसी र पाँच माउ गाई छन् । व्यवसायलाई बिस्तार गर्ने उद्देश्यले सातवटा बाच्छी र ६ वटा पाडी पनि पालेका छन् । रु दश लाखको लगानीमा शुरु गरेको व्यवसायमा हाल रु २० लाख लगानी पुगिसकेको चोङवाङको भनाइ छ ।

उनि मात्र होइन ३ वर्ष मलेसियामा काम गरेर फर्केका मोरङ दर्वेशा–१ का अशोक सुवेदीेले बाख्रापालन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परिवार नै मिलेर दुईवटा बाख्राबाट बाख्रा फारम खोलेका सुवेदी परिवारले अहिले १०० वटा बाख्रा पाल्न थालेका छन् । उन्नत जातका बाख्रा पाल्न शुरु गरेपछि सुवेदी परिवारको आर्थिक जीवनस्तरमा सुधार आएको छ । आफू विदेशमा काम गर्न जाँदा कमाउन नसकेको र हाल बाख्रापालनबाट मनग्य आम्दानी हुने गरेकाले अरूलाई पनि यही पेशा अपनाउन उनिआग्रह गर्छन् ।

सुवेदीले बाख्रापालन सँगै दुई जनालाई रोजगारीसमेत दिएका छन् । अरूले कृषि पेशा गरेको सुनेको आधारमा आफूले पनि व्यवसाय थालनी गरेका सुवेदीले फारमबाट उत्पादन भएको बोका–पाठीहरु तीन महिनामा बिक्री गर्न हुने र चार महिनामा १८ किलोसम्म पुग्ने गरेको बताए । बीउका रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुने गरेको भएता पनि माग पूरा गर्न नसकिरहेको सुवेदीको भनाइ छ । उनि मात्र होइन जिल्लाका ४० युवा व्यावसायिक पशुपालन र दुग्ध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ । अहिले मोरङमा साना–ठूला गरेर चारसय व्यावसायिक पशुफार्म सञ्चालित छन् ।

जिल्ला पशुसेवा कार्यालय मोरङका प्रमुख डा सुशील अधिकारीका अनुसार व्यावसायिक रुपमा १४३ वटा गाईको फार्म सञ्चालन गरिएको छ । त्यस्तै १४ भैँसी फार्म र पाँच पाडा–पाडीको फार्म दर्ता छन् । त्यस्तै मोरङ जिल्लामा ७० बाख्रा, ६४ बंगुर, २० कुखुरा र ४१ वटा मिश्रित फार्म दर्ता भएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved