असहायका भगवान् युवराज थापाको कथा

  • प्रकाशित मितिः माघ, 19, 2074
  • अच्युत भट्टराई

आफैँ बैशाखीको साहारा लिएर कठिनले हिँड्ने युवराज थापा अहिले ३८ जना अपाङ्गता भएका व्यक्तिको आश्रयदाता बनेका छन् । उनले आश्रय दिएका मानिसमध्ये अधिकांश बालबालिका छन् । त्यसमा पनि शारीरिक अपाङ्गता मात्र होइन मस्तिष्क पक्षघात भएकाको संख्या बढी छ ।
अपाङ्गता भएर पनि परिवारको साहारा नपाएका साथै मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र परेकालाई प्रहरीको सिफारिसमा आश्रयस्थलमा ल्याउँछन् । र, आफूले सक्नेजति गर्छन् ।

अहिले काठमाडौंको सोलम्बुटार साखुमा रहेका द्वन्द्व पीडित तथा अपाङ्ग समाज नेपाल नामक यो संस्था संचालनमा आएको १० वर्ष भयो । भोजपुर जिल्लाको विकट गाउँ हसनपुर, कोल्टारमा जन्मेका युवराज १४ बर्षसम्म ठीकै थिए । अचानक उनको खुट्टा लुला भए उनी खुट्टा टेक्न नसक्ने अवस्थामा पुगे ।
“अन्धविश्वासले जरा गाडेको समाज भित्रको मेरो परिवारले मलाई धामी झाँक्री लगाउन थाल्यो जसको कारण मेरो रोग छिप्पिदाँ खुट्टा सधैंका लागि काम नदिने अवस्थामा पुगे” थापाले आफ्नो व्यथा सुनाए ।

आफ्नै परिवारका सदस्यबाट घृणित भएर जीवन बिताउँदाका पिडाहरु जीवन भर बिर्सन नसक्ने गरी उनको मनमा गडेको छ । ओछ्यानमै पोको परेका युवराजलाई ०५१ सालमा पहिलो पटक त्यो विकट ठाउँबाट डोकोमा बोकेर ल्याइयो । गाडी भेट्न चतरा आइपुग्नु पर्ने थियो । चतराबाट उपचारका क्रममा काठमाडौं हुँदै नेपालगञ्जसम्म उनका पिताले पुर्याए । बल्ल एक ठाउँ बाट अर्को ठाउँमा पुग्न सक्ने ह्विलचियर पाउँदा युवराजलाई भगवानले आफैं सहारा दिएजस्तै भयो ।

बल्ल जीवनमा बाँँच्न सकिन्छ भन्ने आशा पलाउन थाले युवराजका मनमा । सुनसरीको मानपुरमा बसेर त्यही ह्विलचियरमा धाएर उनले सिंगियाको स्कुल पढे । अनेक संघर्षका बावजुद उनले पढाइलाई अगाडि बढाउँदै लैजाँदा स्नातकसम्मको पढाइ पूरा गरे ।

युवराज काठमाडौंको पशुपति स्थित शान्ति सेवा गृहमा बस्थे । नियमित फिजियो थेरापीबाट बल्ल बैशाखीसम्म टेकेर हिँडन सक्ने भएका युवराजले ९ बर्षसम्म जागिर खाए । उनले असाध्यै पीडा भोगेर पनि जीवन संघर्ष गर्दै त्यो स्थानसम्म पुग्दा जीवन र संघर्षका धेरै अनुभव बटुलिसकेका थिए ।

अपाङ्ग भएर परिवारको बोझ भएकाका लागि एउटा आश्रय केन्द्र खोल्ने निर्णय गरे । शुरुमा तीन बच्चालाई उनिहरूका परिवारसँग मासिक तीन हजार लिएर संस्था संचालन गरे । पछि बच्चाहरू बढ्दै जाँदा उनलाई संकट पर्यो नछाड्नु न राख्नु को अवस्था पनि सिर्जना भयो शारीरिक रूपमा दुर्बल भए पनि मन भने उनको बलियो थियो अनेकौं संघर्ष गरेर पनि संस्थालाई अगाडि बढाउँदै लगेको मार्मिक कथा छ युवराजसँग ।


युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित अपाङ्ग समाज नेपालको आश्रय घर ।

अहिले उनलाई जीवनमा एउटा सन्तुष्टी मिलेको छ । यति धेरैलाई आश्रय दिन पाएकोमा उनी आफैंलाई भाग्यमानी ठान्छन् । अहिले संस्था चलाउनलाई पनि निकै सहज बनिसकेको छ । उनको एउटा फेसबुक पेज छ ‘सीभीडीएस नेपाल’ जसमा संस्थामा भएका गतिविधिका बारेमा पोष्ट गरिन्छ । अहिले फेसबुक हेरेकै भरमा देशविदेशबाट सहयोगीहरू जन्मदिन, पितृहरूको तिथिका अवसर पारेर नगद, खाद्यान्न, लत्ताकपडा लिएर आउने गर्छन् । कोही भने आफ्नै हातले मिष्ठान्न भोजन बनाएर खुवाउने गर्छन् । संस्थामा ७–८ जना काम गर्ने स्टाफ पनि छन् । दुई जना स्टाफका बच्चालाई मासिक ८ हजार तिरेर युवराजले नै पढाइ दिएका पनि छन् ।

०७१ सालबाट यही संस्थामा आश्रय लिएर बसेका नेत्र भण्डारी (उनका दुबै खुट्टाले काम गर्दैनन्) उनी ह्विलचियरको सहारामा वरपर गर्छन् । तर भण्डारी संस्थामा आश्रय लिने मध्यका बाठामा पर्छन जो सामाजिक संजालमा पनि अभ्यस्त छन् । भण्डारी भन्छन्, “यहाँ हामीलाई असाध्यै राम्रो छ हामी परिवारको बोझ बन्दा बाँच्नुको अर्थै थिएन, तर यहाँ युवराज सर त हामी जस्ताको लागि भगवान् नै हुनु भयो जसको कारण यो संसार हेर्ने, बाँच्ने रहर बढेको छ ।”

युवराजको परिवारमा एक छोरा र श्रीमति छन् । अहिले उनका पिता पदमबहादुर थापा पनि गत दसैँदेखि सँगै बस्छन् । शारीरिक रूपमा अशक्त भए पनि छोराले ठूलो पुण्यको काम गरेकोमा उनी अत्यन्तै खुसी छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved