हत्या आरोपमा फरारीको प्रहरीलाई सुझाव हामी आफैं आउँछौं, फर्केर जाउ !

  • प्रकाशित मितिः श्रावण, 22, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर/ विराटनगर–१४ का सेमानन्द यादवको हत्या प्रकरणमा जोडिएका नौजना व्यक्तिलाई मोरङ प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिइएको छैन । सुरुमा मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीलाई छलेर तल्लो तहका प्रहरी सदस्यले पीडकसँग गरेको साँठगाँठ र मिलेमतोका कारण उनीहरु अहिलेसम्म पक्राउ पर्न नसकेका हुन् ।

गत जेठ ३२ गते विवाहको पञ्चेतीमा कुटिएका यादवको असार २६ गते राती निधन भएको थियो । विराटनगर–१४ का वडाअध्यक्ष बालदेव यादव, विराटनगर–१८ का सन्जय साह, जहदा–१ का वडा अध्यक्ष प्रदिप यादव समेतको उपस्थितिमा कुटपिट गरिएको सेमानन्द सख्य घाइते थिए ।

उपचारको क्रम चलिरहेको बखत मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ, मुद्दा फाँटका प्रहरी निरीक्षक (अनुसन्धान अधिकारी) राजेश सुवेदी र सादा पोशाकका सई विकास खत्रीले पीडकसँग साँठगाँठ गरेका कारण यादवको मृत्युपछि उनीहरु फरार हुन सफल भएका थिए ।

पीडितलाई उभ्याएर साँचो–साँचो भन भन्दै भिडियो रेकर्ड गराएका उनीहरुले पीडकलाई माथि पार्ने गरि सम्झौता समेत गराएका थिए । हातपात भएको हैन, छैन भन्न लगाएर उपचार वापतको रकम समेत दिलाएका थिए । पीडितले ज्यान मार्ने उद्योगमा दायर गरेको उजुरीमा उल्लेखित आरोपित नियन्त्रणमा लिने समेत गरिएन ।
प्रहरी उपरीक्षक अधिकारी समक्ष भ्रमपूर्ण सुचना दिएर पक्राउ गर्ने मनसाय नै नराखेको मोरङ प्रहरीको एउटा टिमले कुटपिटबाट सख्त घाइते भएका यादवको मृत्युपछि पीडकलाई भगाउन सहयोग समेत गरेको खुलेको छ ।
कुटपिटमा संलग्नका परिवारका सदस्यले दिएको जानकारी अनुसार प्रहरीले ज्यान मार्ने कसुरमा दर्ता गरेको मुद्दाका आरोपितमध्ये विराटनगर–१८ का भोला यादव र जहदा–१ का दिनेश यादव आफैं आउने तयारीमा रहेका छन् । योजना अनुसार २६ देखि २८ दिनभित्रमा दुईजनालाई प्रहरीमा बुझाउने र बाँकी अदालतको आदेश अनुसार उपस्थित गराउने प्रहरी र पीडक परिवारका सदस्यबीच सहमति भएको छ ।
मृतक यादवलाई कुटपिटमा संलग्न तीनजना अध्यक्षमध्ये बालदेवका छोरा रविन, भतिजा दिपेश समेत मुद्दाका आरोपित हुन् । त्यस बाहेक जहदा–१ का किरानी भन्ने दिनेश यादव, विराटनगर–१८ का भोला यादव, विन्देश्वर यादव, विराटनगर–१४ का विरेश यादव र विजय यादव विरुद्ध रहेका छन् ।
उनीहरुलाई खोज्न भन्दै भारतको विरनपुरसम्म पुगेको प्रहरीलाई फरारीहरुले आफैं आउने जवाफ दिएर फर्काएका छन् । खोज्दै पुग्दा उनीहरुलाई नभेटिने तर खबर भने केहि दिनमा आफैं आउने रे, अब धेरै दुःख नगर्नु रे भन्ने खबर छोड्ने गरेका हुन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved