दोहोरो नागरिकताधारी अवैध कारोबारी

  • प्रकाशित मितिः चैत्र, 8, 2075
  • नवराज कट्टेल

विराटनगर / तीनवर्ष अगाडी भारत फारबिसगंजको अररिया जिल्लाबाट विधानसभा निर्वाचन लागि मतदाता बनेका पुनमचंद अग्रवाल मोरङको रंगेली नगरपालिका–७ का स्थायी बासिन्दा हुन् ।

भारतीय पहिचानपत्रका आधारमा आर.बी.लेन मतदानस्थलका मतदाता अग्रवाल नेपालमा रंगेली नगरपालिकास्थित आदर्श विद्यालयको मतदान केन्द्रका लागि मतदाता समेत देखिएका छन् ।

नेपाली र भारतीय दुवै देशको नागरिक पहिचान धारण गरेका अग्रवाल दुवै देशका लागि योग्य मतदाता मानिएका छन् । तर दुवै देशको दोहोरो नागरिकता लिएका अग्रवाल अवैध कारोबारी रहेको खुलेको छ ।

भारतीय पहिचानपत्रमा उल्लेख अभिभावक विवरण र नेपाली नागरिकता तथा मतदाता परिचयपत्रमा उल्लेख विवरण समान छ । अग्रवालले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले छानविन थालेको छ ।

दोहोरो नागरिकता लिएर नेपालमा अवैध कारोबार गरेको आशंका समेत अग्रवालमाथि गरिएको छ । फाट्का, हुण्डि र मिटरब्याजको अवैध कारोबारी मानिदैं आएका अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेपछि मात्रै दोहोरो नागरिकताको छानविन सुरु गरिएको हो ।

नागरिकता खारेजीको माग गर्दै उजुरी परेपछि अनुसन्धान सुरु भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद पाण्डेले जानकारी दिएका छन् । अग्रवाल विरुद्ध फागुन २१ गते उजुरी परेको थियो ।

नेपाली नागरिकता १०९९ नम्बर र भारतीय पहिचानपत्र १३८५ नम्बरमा बाबुको नाम महावीरप्रसाद अग्रवाल उल्लेख भएको देखिन्छ । तर, आरोपित अग्रवालले आफू नेपाली नागरिक भएको र कसैले फसाउने षड्यन्त्र गरेको जिकीर गर्दछन् ।

झुटो विवरण पेश गरि नेपालबाट नागरिकता लिएको अनुसन्धानबाट देखिन आए खारेजी हुने सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ । मोरङमा अग्रवालले जस्तै झुटो विवरण पेश गरेर नागरिकता लिएको आरोपमा ८५ वटा मुद्दा अनुसन्धानका प्रक्रियामा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा परेका उजुरीको छानविनपछि कतिपय अदालतमा विचराधिन अवस्थामा रहेका छन् । कतिपय भने जिल्ला प्रशासन कार्यालयको अनुसन्धानकै क्रममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डे बताउँछन् । प्रशासनको अनुसन्धानमा रहेका दोहोरो नागरिकता मुद्दा समेत १७ वर्ष अगाडी देखिकै हुन् ।

मोरङ जिल्ला प्रशासनले चालु आर्थिक वर्षमा मात्रै तीनजना गैरनागरिकले लिएको नागरिकता खारेज गर्नका लागि गृहमन्त्रालयमा सिफारिस गरेको छ । जिल्ला प्रशासनले जारी गरेको नागरिकता गैरनागरिकले लिएको ठहरिएमा गृहमन्त्रालयले खारेजी गर्दछ ।

गैर नागरिकले झुटो विवरण पेश गरेर नागरिकता लिने क्रम रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता वितरणमा कडाई गरिरहेको छ । निर्वाचित जनप्रतिनिधिले समेत गलत विवरणका आधारमा नागरिकता सिफारिस गर्ने क्रमलाई रोक्न जिल्ला प्रशासन कार्यालयले कडाई गरेको हो ।

मोरङमा विराटनगर महानगरपालिका–१ का वडाअध्यक्ष उद्धव अर्यालसहित निर्वाचित जनप्रतिनिधि तथा वडा सचिवले भारतीय नागरिकलाई नागरिकता सिफारिस गरेको घटना यस अगाडी नै सार्वजानिक भएको थियो । त्यसको छानविनपछि अदालतमा मुद्दा विचराधिन रहेको छ । यस अगाडी रंगेली नगरपालिकाबाटै झुटो विवरण भएको नागरिकता सिफारिस भएपछि वडा अध्यक्ष आफैंले जिल्ला प्रशासन कार्यालयमा खारेजी माग गरेका थिए ।

संवेदनशील भएका कारण नागरिकता वितरणमा यकिन विवरणलाई आधार बनाउन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डे बताउनुहुन्छ । सर्जिमिन मुचुल्कामा हस्ताक्षर गर्ने व्यक्तिको समेत पहिचान हुने विवरण हेरेर मात्रै यकिन गर्न थालिएको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved