विराटनगर महानगरपालिकाले ५५ लाखमा किनेको ब्रुमर चल्दै नचलि थन्कियो

  • प्रकाशित मितिः चैत्र, 8, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / धुलो नियन्त्रण गर्न भन्दैे विराटनगर महानगरपालिकाले खरिद गरेको ब्रुमर चल्दै नचलि थन्किएको छ ।

जताततै खनेर भत्काएको सडक निर्माण हुनुभन्दा अगाडी नै हतारमा भित्र्याइएको मेशिनको प्रयोजन पूरा नहुँदै बिग्रेपछि नगरवासीले नदेख्ने स्थानमा थन्काइएको छ ।

सडकको धुलो नियन्त्रणका लागि बुमर खरिद गर्ने निर्णय गरेको नगरपरिषद्ले सडकको भौतिक अवस्था बारे ज्ञान नराख्दा प्रयोजनबिहीन शिर्षकमा रकम खर्च भएको छ ।

बुमर मेशिन चलाउन र त्यसको अपरेटिङ प्रणाली बुझ्ने दक्ष जनशक्ति समेत महानगरमा छैनन् । मेशिन भित्र्याएपछि अन्य सवारीका चालकलाई बुमर मेशिन चलाउन दिइएको थियो । गत असोजमा म्याट इन्टर–ट्रेनर काठमाण्डौंमार्फत ५५ लाख रुपिँयामा मेशिन खरिद गरिएको थियो ।

मेशिन भित्र्याएपछि विराटनगरको तीनपैनीदेखि पुष्पलाल चौकसम्मको बाटोमा रहेको धुलो तान्ने प्रयास गरिएको थियो । त्यहि क्रममा हाइड्रोलिकको पाइप फुट्यो । आपूर्तिकर्ता कम्पनि म्याटले मर्मतसहित मेशिन बारे ज्ञान दिलाउने भन्दै सरसफाई शाखामा कार्यरत चालक गोपाल तामाङलाई तालिम समेत दिएको थियो ।

तालिम प्राप्त चालकमार्फत सडकमा बुमर दौडाउँदा पनि धुलो तानेन । दैनिक परीक्षण गर्ने क्रममा फेरि मेशिन बिग्रपछि तीनपैनीस्थित पूरानो बारुणयन्त्र कार्यालय परिसरमा बुमर थन्क्याइएको छ । भूकम्पपछि चर्केको बारुणयन्त्र कार्यालय पुष्पपाल चौकमा सारिएपछि भवन जिर्ण रहेको छ । त्यहि भवन परिसरमा बुमर मेशिन थन्क्याइएको हो ।

नयाँ मेशिन सञ्चालनमा नआउँदै बिग्रेपछि नगरवासीले प्रश्न उठाउन सक्ने भएपछि बुमरलाई बारुणयन्त्र कार्यालय तीनपैनीको भित्री परिसरमा राखिएको छ । चालक गोपाल तामाङले सडक समतल नभएका कारण मेशिनले काम नगरेको दावी गरे । परीक्षण नै सफल नभएपछि ट्रायल गर्ने क्रममा बिग्रेर मर्मतमा धेरै खर्चनु पर्ने भएपछि राखिएको छ ।

विराटनगर महानगरपालिका जिन्सी शाखाका अशोककुमार गुप्ताका अनुसार महानगरले भित्र्याएको बुमर सञ्चालन नआउँदै थन्किएको हो । जिन्सीमार्फत सरसफाई शाखामा हस्तान्तरण गरिएको बुमर चलाउन जान्ने जनशक्ति अभाव भएपछि कामविहीन भएको दावी गुप्ताको छ ।

सरसफाई शाखाका हिरा यादवले दक्ष जनशक्ति अभाव भएका कारण त्यसको सञ्चालन प्रक्रिया बुझ्न नसकेको दावी गरे । उनले सरसफाई शाखाले प्रयोग गर्ने क्रममा बिग्रिएको बुमर जिन्सी शाखामार्फत मर्मत भईरहेको बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved