अन्तिम सूची बुझाउँदै दलहरू

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/ दलहरूले आज (सोमबार) प्रतिनिधिसभा समानुपातिकतर्फ अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। आयोगले साँझ ५ बजेसम्म सूची बुझाउन समय तोकेको छ।

अन्तिम बन्दसूची बुझाउन आयोगले दलहरूलाई तीन दिनको समय दिएको थियो। नेकपा एमालेले आइतबार नै अन्तिम सूची आयोगमा बुझाइसकेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपा नेपालले भने आजमात्र बन्दसूची बुझाउनेछन्।  

गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ४९ दल सहभागी भएकोमा पाँचवटा दललेमात्र समानुपातिकतर्फ सिट जितेका छन्।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दलहरूले तोकिएबमोजिम सबै समूहको प्रतिशत मिलाएर सूची बुझाएमा आजै समानुपातिक तर्फका सांसदको सूची सार्वजनिक गरिनेछ। 'तर कहिलेकाहीँ तोकिएबमोजिम नआउन पनि सक्छ, त्यस्तो भएमा हामी सच्याउन थप दुई दिन समय दिन्छौँ', ढकाले भने, 'यदि सबै मिलाएर नै आयो भने हामी आजै सार्वजनिक गर्छौँ।' अन्नपूर्ण पोस्टले समाचार प्रकाशित गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने कानुनी प्रावधान छ। निर्वाचनमा ९५ लाख ४४ हजार ७७९ मत सदर भएको थियो।

एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्र १७, राजपा नेपाल ६ र संघीय समाजवादीले ६ सिट प्राप्त गरेका छन्। यो सिट बमोजिम दलहरूले महिला, मधेसी, जनजाति, दलित, खसआर्यसहित समूहगत विवरण आयोगमा बुझाउनुपर्नेछ।

नेपालको संविधानको धारा ८४ को उपधारा ८ मा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था छ।

आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष पठाउनु पर्ने व्यवस्था छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved