स्वाटै घट्यो आयात : विकास खर्च नहुँदा राजश्वमा नकारात्मक प्रभाव

  • प्रकाशित मितिः फाल्गुन, 11, 2075
  • नवराज कट्टेल

विराटनगर / विराटनगर भन्सार कार्यालयले पुस मसान्तसम्म आफ्नो राजश्व लक्ष्य हाँसिल गरेपनि माघमा यसको नकारात्मक प्रभाव देखिएको छ । अर्ववार्षिक समिक्षामा ०.०४ प्रतिशत बृद्धि प्रगति देखिएको भन्सार कार्यालयको चालु माघ महिनाको राजश्व लक्ष्यमा पुग्न नसकेको हो ।

माघ महिनाका लागि ३ अर्ब ४० करोड लक्ष्य राखिएको थियो । तर लक्ष्यमा पुग्न ६७ करोड अपुग हुँदै २ अर्ब ७३ करोडमा खुम्चिन पुग्यो । भन्सार कार्यालय विराटनगरका प्रमुख अधिकृत मिमांशु अधिकारीका अनुसार वस्तु आयातमा देखिएको गिरावटले राजश्वमा प्रभाव पारेको हो ।

भन्सार राजश्वमा यति धेरै मात्रात्मक फरक आउनुमा न्यून पूँजीगत खर्चलाई मान्नुपर्ने अर्थतन्त्रका जानकारहरुको बुझाई छ । अर्थतन्त्रको ‘रिफ्लाक्सन’ पूँजीगत खर्चबाट देखिने भएका कारण मालवस्तुको आयात घट्नु सामान्य मानिने भएपनि प्रभाव नकारात्मक हुने अर्थविज्ञ प्रा.डा. अर्जुन बराल बताउछन् ।

स्थायी सरकार भएपनि संक्रमणकालिन संरचनाले खर्च गर्ने कानुनी बाटो नपाउँदा विकास बजेट न्यून भएको प्रा.डा. बरालको तर्कछ । साधारण खर्चलाई आधार मानेर सरकार पूँजीगत खर्च बढाउनेतर्फ समयमै सचेत नहुदाँको परिणाम देखिदैं गएको उनको भनाई छ ।

‘गुणात्मक फड्को मार्न आजकै दिनमा ४० प्रतिशत पूँजीगत खर्च भईसक्नु पर्ने थियो’ प्रा.डा. बरालले भन्नुभयो–आर्थिक वर्षको समाप्तीसँगै हतारोमा हुने खर्चले आउने वर्षलाई समेत प्रभाव पार्दछ ।

उद्योग वाणिज्य महासंघ मोरङका अध्यक्ष पवन सारडाका अनुसार विगत चार महिनादेखि बजारको माग न्यून हुँदै आएको छ । विकास बजेट खर्च हुननसक्दा अर्थतन्त्रको चक्रिय प्रणाली प्रभावित देखिन थालेको हो ।

अर्थ वार्षिक राजश्व लक्ष्य ५० प्रतिशतको हाराहारीमा देखिएपछि पूँजीगत खर्च समेत हाराहारीमा देखिनु पर्ने थियो । तर, राजश्वमुखी मात्रै भएर विकासमा ध्यान नदिँदा त्यसको असर औद्योगिक कच्चा आयातमा समेत परेको अध्यक्ष सारडाको दावी छ ।

सरकारले विकास आयोजनाका लागि दिनुपर्ने भुक्तानि नदिएका कारण ठेकेदारले माग गरेको निर्माण सामाग्री समेत उद्योगीहरुले दिन छाडिसकेका छन् । ‘कति बेर उधारो दिने, बैंकको ब्याजले समेत ढाड सेकिसकेको छ’ उद्योगी सारडाले भन्नुभयो–ठेक्का पारेका ठेकेदारलाई निर्माण सम्पन्न गर्ने समय तोकियो, तर भुक्तानि दिइएन ।

विराटनगर भन्सार कार्यालयले पुस मसान्तसम्ममा १९ अर्ब ५७ करोड २० लाख राजश्व संकलन गर्दै राखिएको लक्ष्य १९ अर्ब ५६ करोड ४६ हजारमा प्रगति गरेको थियो । तर, त्यहि भन्सार कार्यालयको राजश्व असुली यति धेरै प्रभावित हुनुमा बजारकै समस्या मान्नुपर्ने प्रमुख अधिकृत अधिकारीको दावी छ ।

‘यो नाका मात्रै हैन, देशैभरी भन्सार राजश्व असुली प्रभावित भएको छ’ अधिकृत अधिकारीले भन्नुभयो–‘पर्ख र हेर’ को अवस्थामा आयातकर्ता छन् । तेस्रो मुलुकबाट मगाउने सामान मात्रै नभएर औद्योगिक कच्चा आयात समेत न्यून देखिनु भने चिन्ताको विषय रहेको मानिन्छ ।

राजनीतिक संयन्त्रको रुपमा रहेको सरकार र सरकारको संयन्त्र कर्मचारी प्रशासनमा सुधार ल्याएर विकास खर्चमा जोड दिनसके मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने प्रा.डा.बरालको सुझाव छ । फेरिएको संरचनामा संयन्त्र खडा गर्न लागेको समयसँगै खर्च गर्ने बाटो खोल्न कानुन निर्माणमा देखिएको ढिलाईलाई मुख्य दोष दिएर मात्रै सुधार्न नसकीने उनी बताउँछन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved