नेपालका लागि छुट्यो विद्युतीय कार्गो रेल

  • प्रकाशित मितिः फाल्गुन, 5, 2075
  • नवराज कट्टेल

विराटनगर / उद्योगी र व्यवसायीले उठाउँदै आएको विद्युतीय कार्गो मालवहाक रेल अब कोलकाता बन्दरगाहाबाट समेत सुरु भएको छ । बिरगञ्जका लागि कोलकाता बन्दरगाहाबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम शुक्रबार साँझदेखि विधिवत सुरु भएको हो ।

बिरगञ्जसँगै विराटनगरमा समेत विद्युतीय कार्गो प्रणाली सुरु गर्ने निर्णय भएपनि आईसीपीको निर्माण सम्पन्न नभएका कारण रोकिएको छ ।

यस अगाडी विशाखापट्टनमबाट विद्युतीय कार्गो सुरु भएको थियो । विगत ८ महिनादेखि निरन्तर विद्युतीय कार्गो वीरगञ्जको सुक्खा बन्दरगाहका लागि छुट्दै आएको थियो ।

कोलकाता बन्दरगाहादेखि पनि यो सुविधा हुनुपर्ने माग गर्दै आएका उद्योगी व्यवसायीले बिरगञ्जका लागि कार्गो छुट्नु व्यापार सहजीकरणका लागि कोशे ढुंगा मानेका छन् ।

ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम अन्तर्गत मालवाहक रेल कोलकाता बन्दरगाहबाट शुक्रबार साँझ वीरगञ्जको सुक्खा बन्दरगाहका लागि हिँडिकसेको छ । कोलकाताबाट २० वटा कन्टेनर बोकेर बिरगञ्ज सुख्खा बन्दरगाहातर्फ मालवाहक रेलको बिद्युतीय कार्गो सेवाको शुक्रबार साँझ विशेष अवसरको रुपमा शुभारम्भ गरिएको थियो ।

कोलकातास्थित नेपालका महावाणिज्यदूत एकनारायण अर्यालको प्रमुख आतिथ्यमा झण्डोतोलन गरिएपछि विद्युतीय कार्गो नेपालका प्रस्थान गरेको हो । बन्दरगाहस्थित कमिस्नर कस्टम मनीषचन्द्र, कनकोरका महाप्रबन्धक शाहीद रहमन र बन्दरगाह सञ्चालक समितिका अध्यक्ष विनीतकुमारसहितले महावाणिज्यदूत अर्यालसँगै एकै पटक झन्डा देखाउनु भएको थियो ।

नेपाल र भारतबीचको पारवहन र व्यापारमा विद्युतीय कार्गो प्रणालीले ठूलो परिवर्तन ल्याउने छ । विद्युतीय कार्गो सञ्चालनमा आएपछि कोलकाता बन्दरगाह र अन्य ठाउँमा नेपाली व्यवसायीले अनावश्यक रूपमा खर्च गर्दै आएको अरबौँ रुपैयाँ जोगिने अनुमानसहितको दाबी छ । व्यापार सहजीकरणका लागि यो ठूलो फड्को हुने र यसले नेपाली उद्योगी र व्यवसायीका लागि झन्झटमुक्त बनाउने बताइन्छ ।

विशाखापट्टनमबाट वीरगञ्जसम्म इसिटिएस रेल बाउन्ड कार्गो सफल भएपछि नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् भारत सरकारलाई कोलकाता बन्दरगाहदेखि वीरगञ्ज र विराटनगरसम्म पनि ट्रान्ससिपमेन्ट मोडलअनुसारको इसिटिएस कार्गो ल्याउन अनुरोध गरेको थियो ।

नेपालको अनुरोधलाई भारत सरकारले स्वीकार गर्दै फागुन ३ गते (तदनुसार १५ फरबरीदेखि) कोलकाता बन्दरगाहबाट पनि इसिटिएस कार्गो वीगरञ्ज सुक्खा बन्दरगाह र विराटनगर नजिकको भारतीय रेल वे स्टेसन बथनाहासम्म परीक्षणका लागि पठाउने निर्णय गरेको थियो । तर, बथनाहासम्म आएको यो कार्गो व्यवस्थापनमा समस्या हुनेभएपछि आईसीपीको निर्माणपछि मात्रै कार्यन्वयनमा ल्याउने तयारी गरिएको छ ।

अघिल्लो महिना गरेको यो निर्णय कार्यन्वयन गर्दै तत्काल बिरगञ्जसम्मका लागि कोलकातादेखि बिद्युतिय कार्गो रेल सुरु गरिएको हो । माघ ११ गते सूचना प्रकाशित गर्दै कोलकताबाट परीक्षणका रुपमा ट्रान्ससिपमेन्ट मोडालिटीअनुसार इसिटिएस कार्गो पठाउने उल्लेख गरिएको थियो । भारतको कस्टम हाउस कोलकाताका कमिस्नर अफ कस्टम (पोर्ट) मनीष चन्द्रको हस्ताक्षर रहेको सूचना अनुसार तोकिएकै दिनदेखि सेवा प्रारम्भ भएको हो ।

ट्रान्ससिपमेन्ट मोडालिटी अनुसार कन्टेनरमा सामान ल्याउँदा सिपिङ लाइनले कोलकाता बन्दरगाह हुँदै नेपाल पठाएको कन्टेनरलाई बन्दरगाहस्थित भन्सार कार्यालयले इलेक्ट्रोनिक डिभाइस लगाएर सिधै नेपाल पठाउँछ । यसका लागि भारतीय रेलको एक शाखा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड (कनकोर)–ले बन्दरगाहमा लेखेर दिनेछ । कोलकातादेखि वीरगञ्ज र बथनाहासम्म रेलको र्याक उपलब्ध गराउने जिम्मा कनकोरले लिएको हो ।

कोलकाता बन्दरगाहले प्रत्येक कन्टेनरमा इलेक्ट्रोनिक डिभाइस लगाउने र एक डिभाइसको भारतीय रुपिँया ३ हजार ३ सय नेपाली व्यवसायीले भुक्तानी गर्नुपर्ने हुन्छ । उक्त डिभाइस कन्टेनरमा लगाएपछि कोलकाता बन्दरगाहबाट छुटेको रेलको अवस्था सहजै बुझ्न सकिन्छ ।

कोलकाता बन्दरगाहबाट परम्परागत रूपमा सडक मार्गबाट कन्टेनर ल्याउँदा सिपिङ एजेन्सीको कोलकातास्थित परिसरमा २१ दिनभित्र कन्टेनर फिर्ता पठाइसक्नु पर्ने प्रावधान रहेको थियो । विशाखापट्टनमबाट ट्रान्ससिपमेन्ट मोडलमा ल्याउँदा त्यो झन्झट हटेको छ । २१ दिनभित्र कन्टेनर नपुगे दिनको ४५ देखि १०५ डलर प्रति कन्टेनर डिटेन्सन खर्च लाग्छ ।

ट्रान्ससिपमेन्ट मोडलअनुसार विशाखापट्टनमबाट पैठारी गर्दा कुनै कागजात जुटाउनु पर्दैन । कोलकाता बन्दरगाहबाट परम्परागत रूपमा मालसामान छुटाउँदा ट्रेलरमा कन्टेनर हालेर ल्याउँदा ८ प्रकारका कागजात जुटाउनु पर्ने गरेको थियो । ती कागजातमा कस्टम ट्रान्जिट डिक्लियरेसन फर्म (सिटिडी फर्म), इन्भ्वाइस, बिल अफ लेडिङ, प्याकिङ लिस्ट, लेटर अफ अन्डरटेकिङ, इम्पोर्ट लाइसेन्स अफ नेपाल, इन्सुरेन्सको कागज, एलसी वा ड्राफ्ट थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved