टञ्च मेशिनलाई आधार बनाएर सुनलाई तामा भन्दै कारोबारी, ठगिने उपभोक्ता भने छक्क

  • प्रकाशित मितिः फाल्गुन, 2, 2075
  • नवराज कट्टेल

विराटनगर / सुनको गहनाको शुद्धता परीक्षण गर्ने टञ्च मेशिन भित्र्याएका सुन कारोबारीले उपभोक्तालाई ठग्ने नयाँ जुक्ति निकालेका छन् । शुद्धता परीक्षणका लागि मेशिनमा राखिने गहनालाई मर्करीले धोएर स्वरुप परिवर्तन गरिने गरिएको हो ।

उपभोक्ताले प्रयोगमा ल्याईसकेका गहना बिक्रीका क्रममा शुद्धता परीक्षण गर्ने भन्दै स्वरुप परिवर्तन गरेर ठग्ने गिरोह पूर्वका विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड र उर्लावारीमा सक्रिय रहेका हुन् ।

पहेंलो धातु सुनलाई मर्करी (पारो) सँग सम्पर्क गराएपछि त्यसले रंग परिवर्तन गर्दछ । मर्करीमा डुबाएको सुनको स्वरुप उगाल आएको तामा झैं हुनेभएपछि त्यसैमा टेकेर कारोबारीले उपभोक्तालाई ठग्ने गरेका छन् । कारोबारीले सुन परीक्षणका नाममा मर्करी खन्याउने र टञ्च मेशिनमा राखेपछि सुनको स्वरुपमा आएको परिवर्तन उपभोक्तालाई देखाउँछन् ।

भ्रममा परेका उपभोक्ताले आफ्नो गहना हेर्दाहेर्दै तामाको स्वरुपमा परिवर्तन भएको देखेपछि कम मुल्यमा बिक्री गर्न बाध्य हुन्छन् । तर, यसरी किनेको सुनका गहना आगोमा राखेर तेजाबले धोएपछि पुनः सुन मै बदलिन्छ भन्ने उनीहरुलाई थाहा हुँदैन ।

झुक्याएर सस्तो मुल्यमा किनेको सुनका गहनालाई तताएर सुनमै परिणत गरेपछि पुनः महंगो मुल्यमा बिक्री गर्ने धन्दाले कारोबारी फस्टाएका छन् । तर, महंगो मुल्यमा किनेको एक नम्बरी सुनको स्वरुप परिवर्तन भएको देखेपछि सस्तो मुल्यमा बिक्री गर्नुपर्ने उपभोक्ता भने निराश छन् ।

गुणस्तर तथा नापतौल विभाग बाहेकले परीक्षण गरेको सुनको शुद्धताले मान्यता पाउँदैन । सरकारीस्तरमा टञ्च मेशिन विभागसँग मात्रै छ । तर, निजी क्षेत्रमा भित्र्याइएका यस्ता मेशिन के कति छन् भन्ने यकिन तथ्यांक भने कसैसँग छैन । सुन कारोबारीले मेशिनलाई आधार बनाएर उपभोक्ता ठग्न सक्ने संभावना बारे ज्ञान नभएपनि व्यक्तिगत प्रयोजनका लागि टञ्च मेशिन भित्र्याएको कुरा विभागमा जानकारी छ ।

गतवर्ष पुसमा यस्तै प्रकरणबाट ठगिएका विराटनगर–१२ ऋतिक बर्माका अनुसार ठगि गर्नेहरुले हजारौं बुद्धि लगाउने बताउँछन् । सुनकै कारोबारमा संलग्न बर्र्मा झापा दमकका यदुकुमार रामदामले धितो राखेको सुन नक्कली परेपछि रकम गुमाउनेमा पर्छन् ।

धरानका दिपक बनेपालीका अनुसार सुन कारोबारीले सर्वसाधारणलाई झुक्याएर ठग्ने जुक्ति फरक–फरक छन् । वर्षौदेखि लगाएको गहना बिक्री गर्न जाँदा २५ प्रतिशत मात्रै सुन रहेको बताएपछि आफूले बिक्री नगरि फर्केको बनेपालीको भनाई छ ।

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी अहिलेसम्म यस्तो उजुरी कसैबाट नआएको बताउँछन् । सुनको स्वरुप परिवर्तन गरेर ठगिमा परेको भन्ने कुनै उजुरी नआएको भएपनि मर्करीको सम्पर्कमा रहने पहेंलो धातु सुनको स्वरुप परिवर्तन हुने पुडाशैनीले बताए । ‘सुनलाई मर्करीको सम्पर्कमा राखे त्यसको रंग कालो हुन्छ’ महानिर्देशक पुडासैनीले भने–उपभोक्ताले खरिद बिललाई सुरक्षित राख्नु पर्दछ , प्रमाणहरु नष्ट भएको वा ठगिएको भन्ने आधार नभेटिँदासम्म कारवाही चलाउन असजिलो हुन्छ ।

नियमन गर्ने निकायले गुणस्तर मापन गर्ने कुनैपनि मेशिन भित्र्याएको तथ्यांक राखिरहनु पर्दैन । तर, बजारमा भित्रिएका यस्ता मेशिनलाई आधार बनाएर उपभोक्ता ठगिनसक्ने संभावनाको खोजि र अनुसन्धानमा समेत चासो राखेको पाईदैन ।

सुन कारोबारीले भित्र्याएका टञ्च मेशिन समेत फरक–फरक प्रकार र मुल्यका छन् । न्यूनतम ४० लाखदेखि एक करोड २० लाख रुपिँयासम्मको मेशिन बजारमा छन् । सुनको वजन अनुसारको शुद्धता परीक्षण गर्ने टञ्च मेशिन चलाउने कालिगढमा समेत दक्षता आवश्यक पर्दछ ।

व्यक्तिगत प्रयोजन बाहेक निजी क्षेत्रबाट राखिएका टञ्च मेशिनको प्रमाणीकरणले सरकारी मान्यता पाउँदैन । तर, टञ्च मेशिन राखेर सुनको शुद्धता परीक्षण गर्ने व्यवसाय समेत विराटनगर, धरान, इटहरी, उर्लावारी, दमक र बिर्तामोडमा चलिरहेको छ ।

उपभोक्ताले खरिद बिलसहित पसलमा पुग्दा ठगिनबाट जोगिन्छन् । तर, लामो समयसम्म प्रयोगमा आएका गहनाको बिल सधैं उपभोक्ताले राख्दैनन् । बिल बिनाको सुनका गहना लिएर खरिद गरिएकै पसलमा पुगेपनि टञ्च मेशिनको परीक्षण फन्दामा उपभोक्ता परिहाल्छन् ।

सुनको शुद्धता मेशिन बाहेक अभ्यस्त व्यक्तिले समेत सहजै छुट्याउन सक्ने महानिर्देशक पुडासैनीको भनाई छ । यदि कुनै कारणले यस्तो अवस्था आएमा आफ्नो वस्तु बिक्री नगर्न समेत उनको आग्रह छ ।

शुद्ध सुनलाई २४ क्यारेटको प्रमाणिकरण दिइएको हुन्छ । त्यस्तो सुनका गहना जड्तीरहित ९८ प्रतिशत रहेको मानिन्छ । नेपालमा नेपाल राष्ट्र बैंकले खरिद गर्ने सुन ९९.९९ प्रतिशत शुद्धता मानिन्छ । त्यहि सुनमा जड्ती मिसाएर २२ र २० क्यारेटमा रुपान्तरण गरिएको हुन्छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved