नोवेल मेडिकल कलेजले पैसा नतिरेको भन्दै शव आफन्तलाई दिएन

  • प्रकाशित मितिः मंसिर, 26, 2075
  • पहिलो किताब संवाददाता

मोरङ / विराटनगर स्थित नोवेल मेडिकल कलेजले उपचार खर्च नदिएको भन्दै मृतकको शव परिवारलाई नदिएको सार्वजनिक भएको छ । अस्पतालहरुको यस्ता गतिविधि नयाँ भने हैन केहि दिन अघि पनि नोवेलले शव परिवारलाई नदिएको सार्वजनिक भएको थियो । 
 
मोटरसाइकल दुर्घटनामा परी पाँच महिना अघि घाइते भएका मोरङको कटहरी –३ का दिपक मिश्रको उपचारका क्रममा मंगलवार निधन भएको भएपनि उपचार खर्च नदिएको भन्दै नोवेल अस्पतालले परिवारका सदस्यलाई शव नदिएको हो । 
 
अस्पतालका संचालक सुनिल शर्माले भने दैनिक सामाजिक काम गरीरहेको प्रचार हुने गरेको छ । तर उनै शर्माको स्वामित्व रहेको अस्पतालमा खर्च दिन नसकेर शव नपाएको भन्दै मृतककी श्रीमति अनिता मिश्र भने उपचारमा सबै सकिएको भन्दै शव निकालीदिन सहयोग खोज्दै हिडेकी छन् । 
 
मृत्यु भएका पतिको शव निकाल्नका लागि पिडा बोकेर भौतारीरहेकी मिश्रले नोवेलमा उपचारका क्रममा परिवारसँग भएको १४ लाख बेसी रुपैंया सकिएको बताएकी छन् । अस्पतालको बाकी रकम तिर्न नै नसक्ने अवस्था भएपछि अस्पताललाई जानकारी गराउँदा समेत शव नदिएपछि सहयोग जुटाउन हिनेको उनले बताएकी छन् । 
 
अस्पतालमा मृत्यु भएका पतिको उपचारका क्रममा बाँकी रहेको करिव साँढे ३ लाख रुपैंया तिर्न नसकेपछि उनले आफ्ना पतिको शव निकाल्ने काममा सहयोग गर्न सबैमा आग्रह समेत गरेकी छन् । 
 
साउन २ गते विराटनगर– ४ को  कञ्चनबारीमा भएको दुर्घटनामा मोटरसाइकलको ठक्करबाट मिश्र घाइते भएका थिए । सोहि ठाँउका हरि दाहालले चलाएको मोटरसाईकलको ठक्करबाट मिश्र घाइते बनेका थिए । 
 
आर्थिक स्थिति सामान्य रहेका मोटरसाईकल चालक दाहालले ३ लाख रुपैयाँ उपचारका खर्चका लागि दिएको र बाँकी खर्च आफ्नो परिवारले रिनपान गरेर जुटाएको उनले जानकारी गराएकी छन् । 
 
मृतक रिक्सा चालक थिए । उनको मृत्युपछि आर्थिक अभावका कारण कक्षा २ र एलकेजीमा पढ्दै आएका छोराहरु प्रिन्स र प्रियान्सुको पढाइ समेत रोकिएको बताईएको छ ।  शुल्क तिर्न नसकेको भन्दै बुबा उपचारमा रहेकै बेला स्थानिय लर्ड बुद्ध स्कुलले दुईवटै छोरालाई निकालेको आफन्तले जानकारी गराएका छन् । 
 
श्रीमान घाईते बनेपछि उपचारका क्रममा सबै सकिएको बेला भाडमा बस्दै आएको मिश्र परिवारलाई भाडा नदिएको भन्दै घरबेटीले समेत घर छाड्न दबाब दिईरहेको बेला अस्पतालले शव नदिएपछि अनिता थप पिडामा डुबेकी छन् । 
 
नोवेल अस्पतालले भने उपचार खर्च सबै छुट दिन नसक्ने जनाएको छ । बाँकी रकम मध्ये एक लाख रुपैंया छुट दिने तर पुरै दिन नसक्ने बताएपछि मिश्रकी श्रीमतिले शव निकालीदिन अनि त्यसका लागि सहयोग गर्न आग्रह गरेकी हुन् । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved