रोशनीले दिइन् न्यायाधीशसमक्ष निवेदन : महराले मलाई कुनै दुर्व्यवहार गरेका छैनन्

  • प्रकाशित मितिः कार्तिक, 3, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ/ संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराबाट आफूलाई बलात्कार प्रयास नभएको भन्दै न्यायाधीश समक्ष निवेदन दिएकी छन्।

आइतबार साँझ महरालाई म्यादथपका लागि काठमाडौँ जिल्ला अदालत पुर्‍याएको थियो । त्यस लगत्तै उनी पनि अदालत पुगेर न्यायाधीश बाबुराम सुवेदीसमक्ष निवेदन दिएकी हुन्।

शाहीले न्यायाधीश सुवेदी समक्ष महराबाट आफूलाई कुनै दुर्व्यवहार नभएको आफूले आवेशमा आएर उक्त अभिव्यक्ति दिएको भन्दै निवेदन दिएकी हुन्। निवेदनमा उनले असोज १२ गते महरा आफ्नो कोठामा नआएको बताएको महराका वकिल वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले जानकारी दिए।

सरकारी वकीलको कार्यालयमा महराको बयानपछि प्रहरीले म्याद थपका लागि अदालत लगेको छ। प्रहरीले थप अनुसन्धान आवश्यक भएको भन्दै अदालत समक्ष सात दिन म्याद थपको माग गरेको छ।

म्याद थपको विषयमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ।

यस विषयमा छलफल जारी छ। महराको म्याद थपको आदेश अझै आइसकेको छैन।

यसअघि गएको असोज २८ गते काठमाडौँ जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो।

बलात्कारको आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ परेको थियो। प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महराको स्वास्थ्यमा समस्यादेखि पछि केही दिनदेखि नर्भिक अस्पतालमा छन्।

उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी हुन्। महराले आफूमाथि असोज १२ गते बलात्कारको प्रयास गरेको भन्दै आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन्।

त्यसपछि महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो। महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वार्तासहितको समाचार असोज १४ गते सार्वजनिक भएको थियो। आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved