प्रदेश – १ मुलुककै सम्वृद्द प्रदेश – सभामुख

  • प्रकाशित मितिः फाल्गुन, 23, 2074
  • रणध्वज लोहार

धरान / धरानमा “प्रदीप सर” भनेर परिचित उनै प्रदीप कुमार भण्डारी प्रदेश नम्बर १ को सभामुख वनेका छन् । लामो समय शिक्षण पेषासँगै राजनितिमा होमिएका धरान १६ निवासी निवासी भण्डारी माघ २९ गते प्रदेश नं.१ को प्रदेशसभाको सभामुखमा निर्वाचित बनेका हुन् ।

नेकपा एमालेका तर्फबाट सुनसरी क्षेत्र नं. १ “क” बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका भण्डारीको यो पहिलो संसदीय यात्रा हो । पहिलो यात्रामै उनी सभामुख जस्तो गरिमामय र महत्वपूर्ण जिम्मेवारी समाल्न पुगेका छन् । नयाँ जिम्मेवारीसँगै प्रदेशसभा सन्चालनको विषयमा प्रदेश नम्बर १ का सभामुख प्रदीप कुमार भण्डारीसँग पहिलो किताबका लागि रणध्वज लोहारले गरेको कुराकानीकोे सारः

१. प्रदेश सभामुख जस्तो महत्वपूर्ण जिम्मेवारी पाउनु भएको छ, कस्तो अनुभव गर्दै हुनु हुन्छ ?


– यसलाई मैले ठूलो सफलता र मेरो राजनीतिक उपलब्धी भएको ठानेको छु । प्रदेशमा कानुन बनाउने र त्यसलाई कार्यान्वयन गराउने सवालमा प्राप्त गरेको जिम्मेवारी महत्वपूर्ण भएको ठानेको छु । यस जिम्मेवारीलाई सबैको साथ र सहयोगबाट पुरा गर्न म कठिबद्ध छु । यति बेला मलाई जिम्मेवारी थप भएको अनुभूति पनि भएको छ । यस अघि राजनीतिक दलको कार्यकर्ताको हैसियतमा थिए, अब भने संसदसभा चलाउने जिम्मेवारी आएको छु । यो ऐन नियम र कानुन बनाउने थलो हो । ऐन कानुन बनाउने विषय सजिलो विषय भने हैन । सबै कुराको शुक्ष्म अध्ययन गरेर सबैसँग समन्वय गरेर अघि बढ्र्नु छ । यसमा म अति गम्भीर छु ।

२.प्रदेश सभा संचालनका लागि अब कस्तो ऐन बनाउने तयारी छ ?


– हामीले पहिलो प्राथमिकता ऐन कानुन निर्माणलाई दिएका छौँ । ऐन निर्माणका लागि सरकारका तर्फबाट विधेयक प्रस्तुत हुन्छन् । विशेष गरेर विधेयक दुई प्रकारका हुन्छन् । एउटा सरकारी विधेयक जो सरकारले मन्त्रि परिषदमा निर्णय गरेर संसदमा ल्याउने छ र अर्को साधारण विधेयक जो संसदमा नै छलफल गरेर निर्माण गरिन्छ । सांसदहरुले विधी र प्रक्रिया अनुसार विधेयक प्रस्तुत गर्नु हुनेछ । सरकारले विजनेस दिने तयारी गरेको छ । त्यसका लागि समितीहरु वनाएर अघि वढ्नेछौ ।सरकार पनि भर्खर गठन भएको, त्यो पनि पुरा मन्त्रिपरिषद् बन्न सकेको छैन् । त्यही भएर संसदलाई कुनै विजनेस दिन सकेको छैन् । अहिले हामीले आन्तरिम नियमावली बनाएर संसदको कार्यसंचालन गरिरहेका छौं । भरखरै सम्पन्न भएको संसदको बैठकले ११ सदस्यीय कार्य सम्पादन नियमावली मस्यौदा समिति बनाएका छौ । समितिले २१ दिन भित्र तयार गरि संसदमा प्रस्तुत गर्ने छ । त्यसमाथि गहन छलफल भएर सदनबाट पारित हुनेछ ।

३.संसदको पाँच वटा बैठक बसिसक्नु भएको छ, सरकारले केही विजनेस दिएको देखिदैन किन नी ?


– सरकार अहिले पूर्ण आकारको बनी सकेको छैन् । सरकारले पूर्णता नपाउँदा महत्वपूर्ण निर्णयहरु पनि गर्न सकेको छैन । यद्यपी सरकारले पनि संसदलाई विजनेस दिन काम थालनी गरेको सुनेको छु । अब सरकारले अत्यावश्यक विधेयकहरु संसदमा ल्याउने छ । संसदमा सरकारले दिएको विजनेसको विषयमा गहन छलफल गरेर माननीयहरुले स्वीकृत गरेपछि विधेयक पास हुनेछ ।

४.कानुन अभावले प्रदेशको स्थानीय तहलाई परेको समस्याको विषयमा के सोच्दै हुनु हुन्छ ?


–वास्तवमा प्रदेशको कानुन अभावले कतिपय स्थानीय तह संचालनका लागि अप्ठ्यारो परेको छ । यस प्रति हामी गम्भीर पनि भएका छौं । सामान्य बाधा फुकाउनु पर्छ भनेर हामीले पहिलो प्राथमिकता कानुन निर्माणलाई नै दिएका छौं । यसमा सदनको ध्यानाकर्षण भएको छ । कानुन अभावमा स्थानीय तह बिना काम बस्नु भनेको जनातालाई समस्यामा पार्नु हो । त्यही भएर हामी गम्भीर भएर लागेका छौं ।

५.संघीयताको पहिलो अभ्यास भईरहेको छ, सबै माननीय नयाँ हुनु हुन्छ, स्वयम् तपाई पनि संसदीय अभ्यासमा नयाँ हुनु हुन्छ कस्तो महसुस गरिरहनु भएको छ ?


– निश्चय नै हामी अभ्यासमा छौ । केही सांसदबाहेक अन्य सांसदहरु नयाँ हुनु हुन्छ । अघिल्लो सरकारले अस्थायी मुकाम भनेर विराटनगर तोकेको छ । पूर्वाधारहरु छैनन् । कर्मचारीको पनि संरचना बनि सकेको छैन् । पूर्वाधार अभावले कार्यालय व्यवस्थापन, बैठक संचालनमा समेत समस्या उत्पन्न भएको छ । आवासको व्यवस्थापन, कर्मचारीको व्यावस्थान ठूलो चुनौतिको विषय बनेको छ । यी समस्याका बाबजुद पनि हामी जनतालाई अधिकार सम्पन्न बनाउने सवालमा हामी गम्भिर भएर लागेका छौं ।

६.प्रदेशका सम्वृद्धिका योजना के कस्ता छन् ?


– प्रदेश १ नं. ७ वटा प्रदेशमध्य श्रोत र साधानले पनि धनी प्रदेश हो । कृषि, पर्यटन, धार्मिक क्षेत्र, औधोगिक क्षेत्र , शैक्षिक र साक्षरता, स्वास्थ्य, जलश्रोतको हिसावले यो प्रदेश धनी छ । यसलाई उचित व्यवस्थापन गरि समानुपाितक रुपमा श्रोतको बाडफाड, उचित व्यवस्थापनबाट प्रदेश उत्कृष्ट तथा धनी बनाउन सक्ने सम्भावना छन् । कानुन निर्माण गरि यसको व्यावस्थापना गर्ने पहिलो योजना अघि सारेको छु । सम्वृद्धिका आधारहरु थुप्रो छन् । प्रदेश १ मा विश्वको होचो स्थान केचनाकवल, विश्वका अग्लो हिमाल सगरमाथा, विश्वको होचो उपत्यका अरुण उपत्यका, दर्जनौ धार्मिक स्थल(पाथिभरा,हलेसी, पिण्डेश्वर, बराहक्षेत्र, छिन्नताङ, रौता पोखरी, बुढासुब्बा)्र प्राकृतिक रमणीय स्थल यही प्रदेशमा छन् ।


यहाँ १४ वटा विमास्थल छन् । ८ हजार माथि उचाई भएका ८ वटा मध्ये ६ वटा हिमाल यही प्रदेशमा छन् । ३६ वटा हिमश्रृख्ला, ४ वटा निकुञ्ज, आरक्षण क्षेत्र छन् । भारतसँगका सिधा सम्पर्कका लागि जोगबनी, काकरभिट्टा, पशुपतिनगरबाट ३ वटा सीमा नाका छन् । चीनसँग जोडिएका दुई वटा सीमा नाका ओलाङचुङगोला र किमाथाङ्का सीमा नाका यही प्रदेशमा छन् । चार वटा मुलुक चीन, भारत, भुटान र बंगलादेशसँग प्रदेश १ ले मात्र सिधा व्यापारिक सम्बन्ध गर्ने हैसियत राख्दछ । मुलुककै ठूला आयोजना संचालन गर्न सकिने दुधकोशी, सुनकोशी, अरुण, तमोर यही प्रदेशमा बगेका छन् । अरुण तेश्रो आयोजना, सुनकोशी तथा तमोर जलविद्युत आयोजना निर्माणको क्रममा छन् । सप्तकोशीको पानीलाई सदुपयोग गर्न यहाँ वृहत माछा पालन गर्न सकिन्छ । अब मात्र यी प्रदेशका गहनालाई प्रदेशभित्र ल्याउन कानुनको अभाव छ, कानुन निर्माण सदनको पहिलो प्राथमिकता हुनेछ ।निजी लगानीलाई प्रोत्सहान, निर्यातको बढोतरी गरि प्रदेशको सम्वृद्धिको ढोका खोल्न सक्ने थुप्रै सम्भावनाहरु छन् ।

७.प्रदेशको नामामकरण र स्थायी राजधानीको निश्चिता कहिले गर्नु हुन्छ ? संसदको पहिलो बैठकमा यी विषयले किन प्राथमिकता पाएनन् ?


– प्रदेशको राजधानी र नामाकरण पेचिलो ढंगबाट चर्चा भईरहेको विषय हो । केन्द्रमा पनि यस विषयमा किनार नलागेर प्रदेशसभालाई जिम्मा दिएको विषय हो । संबैधानिक व्यवस्था अनुसार प्रदेश सभाका माननीयहरुले दुईतिहाई मतबाट राजधानी र सिमाङ्कन तोकिनु पर्ने व्यवस्था छ । अब चाढै नै संसदमा यो विषयमा छलफल शुरु हुनेछ । मैले राजधानी र नामकरणको विषयमा पदीय हैसियतले त्यो र यो भन्न मिल्दैन् । माननीयहरुले आफ्नो स्वतन्त्र अधिकार प्रयोग गरेर सोलुदेखि, सङ्खुवासभा, ताप्लेजुङका जनतालाई राजधानीको पायक बुझेर आफ्नो मत जाहेर गर्नु हुने छ । उहाँहरुको दुईतिहाई बहुमतबाट स्थायी राजधानीको टुङ्गो लाग्नेछ ।

जेष्ठ सदस्यको अध्यक्षतामा माघ २१ गते संसद बैठक बस्यो । मैले २९ गते सपथ लिए । अहिलेसम्मका बैठक भनेको सभामुख, उपसभामुखको निर्वाचनमै वित्यो, पछिल्लो बैठकमा आन्तरिक नियमावली मार्फत संसद चलाउने काम भए, र नियमावली परामर्श समिति बनाउने काम भयो । प्रारम्भिक काम नभई विधी सम्बत काम गर्न केही समय लाग्दो रहेछ । तुरुन्त मुृख्य विषयमा संसद प्रवेश गर्न पाएको छैन। बैठक कोठा, कार्यलय व्यवस्थापन हुन नसकेकाले १०÷१५ मिनट मात्र बैठक हुँदै आएका छन् । अब नियमावली मस्यौदा बनी सके पछि कार्यविधिअनुसार मुख्य विषयमा संसदमा बहस हुनेछ । आशा गरौं आगामी बैठकमा स्थायी राजधानी र नामकरणबारे पनि निर्णय हुने छन् ।

८.अधिकांश संसदहरुले विराटनगर राजधानी अपायक भनेर मिडियामा गुनासो गरिरहेका छन् नी ?


– हुन सक्छ । त्यो माननीयहरुको स्वतन्त्रताको कुरा हो । उहाँहरुले अनुभव गरेको कुरा भनेको हुन सक्छ । यहाँ सोलु, ओखलढुङगादेखि ताप्लेजुङ, पाँचथरबाट संसद आउनु भएको छ । त्यहाँबाट विराटनगर पुग्न सजिलो भने छैन् । त्यही हिसावले उहाँहरुले प्रतिक्रिया दिएको हुन सक्छ । स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा निर्णय गर्ने उहाँहरुकै हातमा छ । अवस्य पनि प्रदेशको राजधानी भौगोलिक विविधता , प्रशासनिक सुगमता , भौतिक पुर्वाधार , यातायातको सुविधा लगायतलाई प्राथमिकता दिएर तोकिने छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved