अमेरिकामा ग्रीनकार्ड र भिसामा कडाइ गरिँदै

  • प्रकाशित मितिः श्रावण, 28, 2076
  • पहिलो किताब संवाददाता

वाशिङटन/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी ग्रीनकार्ड र भिसा अस्वीकार गर्न सजिलो बनाउने नयाँ नियम सोमबार सार्वजनिक गरेको छ ।  जसअनुसार अब अमेरिकामा वैध रुपमा बस्न चाहने मानिसको संख्या पनि घट्न सक्ने देखिएको छ । नयाँ नियमबाट लाखौं मानिसहरु प्रभावित हुन सक्नेछन् ।  अवैध रुपमा बस्नेहरुमाथि अमेरिकाले यसअघि देखि नै धरपकड गर्न थालिसकेको छ । गएको सातामात्रै अमेरिकाले मिसिसिपीमा फुड प्रोसेसिङ कार्यमा संलग्न आप्रवासी रहेको स्थानमा छापा मारेर सयौंलाई पक्राउ गरेको थियो । अब पछिल्लो नियमले वैध रुपमा अमेरिका बस्न पनि अप्ठेरो अवस्था सिर्जना हुन सक्नेछ ।

सोमबार ल्याइएको नियमको अर्थ धेरै ग्रीनकार्ड र भिसाको लागि आवेदन दिनेहरु अस्वीकृत हुन सक्नेछन् । अर्थात् यसरी आवेदन दिनेको आयस्रोत कम छ र शिक्षा पनि कम छ भने उनीहरु अब अस्वीकृत हुन सक्नेछन् । यो नियमले अमेरिका आएर बस्न चाहने व्यक्तिहरु आत्मनिर्भर रुपमा बाँच्न सक्ने अमेरिकी सिटिजनसिप एण्ड इमिग्रेसन सेवाका निर्देशक केन कुकीनेलीले बताए । ह्वाइट हाउसमा सोमबार ब्रिफिङ गर्दै उनले यसले अब कम आम्दानी भएकालाई अब अमेरिका छिर्न गाह्रो पर्ने बताए ।

८३७ पेज लामो सो नियममा वैध ढंले आउन चाहने ३ लाख ८२ हजार मानिसलाई असर पर्नेछ । ग्रीनकार्ड दिनुभन्दा अघि अब आर्थिक स्रोत, स्वास्थ्य, शिक्षा, सीप, परिवारको स्ट्याटसलगायतका कुरामा आवेदकले अब ध्यान दिनुपर्नेछ । यो नियम आउँदो अक्टोबर महिनाको १५ तारेखबाट लागु हुनेछ ।

कसलाई पर्नेछ असर ?

यसबाट पहिलादेखि नै अमेरिकी नागरिकता मिलेकालाई असर पर्ने छैन ।  साथै यो नियम शरणार्थी वा शरणार्थी शिविरमा रहनेलाई पनि लागु नहुने बताइएको छ । यद्यपि भिसा बढाउन गरिने आवेदन, ग्रीनकार्ड वा अमेरिकी नागरिकता पाउनका लागि आवेदनमा भने यो नियम लागु हुनेछ ।  यो नियमअनुसार ती मान्छे जसको आय जरुरी मापदण्ड अनुरुप छैन वा जो सरकारी मद्यत जस्तो खाद्य, सरकारी अस्पताल वा सरकारी घरको अपेक्षा गर्छन् उनीहरुलाई भविश्यमा अमेरिका प्रवेशको अनुमति पाउन समस्या हुनेछ ।

मौजुदा समयमा अमेरिकामा रहने सरकारी सुविधामा निर्भर रहने आप्रवासीको आवेदन खारेज हुने सम्भावना रहेको जनाइएको छ । एक अनुमानका अनुसार अमेरिकामा २ दशमलब २ करोड मानिससँग त्यहाँको नागरिकता छैन । उनीहरुलाई पनि नयाँ नियमको असर पर्न सक्छ । मानवअधिकारवादी समूहले ट्रम्प प्रशासनको यो फैसलाको आलोचना गरेका छन् । उनीहरुको भनाइमा यो भनाइ कम आय भएका आप्रवासीलाई रोक्न ल्याइएको हो । 

नेशनल इमिग्रेसन ल सेन्टरका अनुसार यो नियम लागु भएमा रोक्नको लागि अदालतमा मुद्दा पनि पर्न सक्छ । ह्वाइट हाउसले भने आप्रवासनसँग जोडिएको मौजुदा कानुनले अमेरिकामा आफन्त रहनेलाई केही महत्व दिने गरिए पनि अब महत्व नदिइने जनाइएको छ ।  जो आत्मनिर्भर छन् र सरकारी सेवामा दबाब दिन्नन् त्यस्ताले मात्रै मौका पाउन सक्नेछन् । यसैगरी अंग्रेजी भाषा पनि राम्रो हुनुपर्ने नयाँ नियममा उल्लेख गरिएको छ । 
(सीएनएन र बीबीसी )
 

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved