रेडपाण्डा संरक्षणमा यातायात विस्तार देखि सरकारको न्युन लगानी प्रमुख चुनौती

  • प्रकाशित मितिः भदौ, 30, 2075
  • सन्तोष पुर्कुटी

ताप्लेजुङ / आज रेडपाण्डा डे अर्थात नौ औँ अन्तराष्ट्रिय रेडपाण्डा दिवश । यसको संरक्षणका क्षेत्रमा कृयाशिल संघसस्थाले विभिन्न कार्यक्रम गरि यो दिवश मनाईरहेका छन् । विश्वकै दुर्लभ बन्यजन्तु रेडपाण्डा (हाब्रे) को बास स्थान र आहारा संकटमा पर्दै गए पछि रेडपाण्डा नेटवर्कले सन् २०१० देखि यो दिवश मनाउन सुरु गरेको हो । रेडपाण्डा संरक्षणकै लागि रेडपाण्डा नेटवर्कले विभिन्न गैरसरकारी संघसस्थाहरु संग मिलेर विभिन्न कार्य गर्दै आएको छ ।

पुर्वमा रेडपाण्डा नेटवर्कको सहयोगमा संरक्षणका गतिविधि गर्दै आएका हिमाली संरक्षण मञ्च ताप्लेजुङ, दिपज्योती युवा क्लब पाँचथर र ईलामको उच्च पहाडी संस्था ले विद्यालय स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । दिवसका अवसरमा ताप्लेजुङमा भने “रेडपाण्डा संरक्षणका लागि विद्यार्थीहरुको भुमिका” विषयक वक्तित्वकला प्रतियोगिता सञ्चालन गरिएको हिमाली संरक्षण मञ्चले जनाएको छ । जिल्लाका विभिन्न विद्यालयमा मञ्चले शुक्रबार वक्तित्वकला प्रतियोगिता सञ्चालन गरेको छ । वर्षेनी समुदाय स्तरमा समेत पुगेर विभिन्न क्रियाकलाप सञ्चालन गरिदै आएको छ । तर रेडपाण्डा संरक्षणमा भने दिनानुदिन विभिन्न कठिनाई थपिदै गएको छ । रेडपाण्डाको बास स्थान विनास, चोरी सिकारीका घटना, संरक्षणमा कम लगानी लगायतका कारण संरक्षणमा कठिनाई थपिदै गएको हो ।

दुर्गम क्षेत्रमा यातायातको विस्तार, मानव वस्ति विस्तार, बन डढेलो, चरिचरण क्षेत्रको विस्तार, रासायनिक बस्तुको अधिकतम प्रयोग, चोरी सिकारी जस्ता कार्य रेडपाण्डा संरक्षणका मुख्य चुनौती रहेको सरोकारवालाले बताएका छन् । यस्तै संरक्षणका लागि राज्यको लगानी न्युन रहनुले पनि समस्या भएको छ । रेडपाण्डा पाईने पुर्वि क्षेत्रमा गैरसरकारी संघसस्थाको भरमा मात्र यसको संरक्षणका लागि कार्य भईरहेको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङका रमेश राईले बनजंगलको विनास, मानव वस्तिको विस्तार, चोरी सिकारी जस्ता कार्य बढ्दै गएकाले संरक्षणमा कठिनाई उत्पन्न भएको बताउनुभयो । उहाँका अनुसार रेडपाण्डा पाईने पुर्वका ताप्लेजुङ, पाँचथर र ईलामका क्षेत्रमा पछिल्लो समय बनजंगलको फडानी, बढ्दो वस्ति विस्तार, चोरी सिकारी जस्ता कार्य भईरहेकाले संरक्षणमा चुनौती थपिएको छ ।

सन् २०१३ को एक अध्ययन अनुसार ताप्लेजुङमा ७७ देखि १३४, पाँचथरमा २५ देखि ४३ र ईलाममा २३ देखि ४० वटा सम्म रेडपाण्डा रहेको अनुमान गरिएको संयोजक राईले बताउँनुभयो । यो अध्ययन रेडपाण्डा नेटवर्क र स्थानीय साझेदार सस्थाहरु हिमाली संरक्षण मञ्च ताप्लेजुङ, दिपज्योती युवा क्लब पाँचथर र ईलामको उच्च पहाडी संस्था ले गरेको थियो । रेडपाण्डा नेटवर्कका अनुसार मुलुकका २४ वटा हिमाली तथा पहाडी जिल्लाहरुमा रेडपाण्डा पाईन्छ । ताप्लेजुङ, पा“चथर, ईलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्वू, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालिकोट र जाजरकोटमा रेडपाण्डा पाईने नेटवर्कको तथ्यांकमा उल्लेख छ । भारत, भुटान, वर्मा र चीनमा समेत गरि एक हजारको हाराहारीमा रेडपाण्डा रहेको छ भने नेपालमा मात्रै ५ सय वढि भएको एक तथ्यांकमा जनाईएको छ ।

समुन्द्रि सतहबाट दुई हजार २ सय देखि चार हजार ८ सय मिटरको उचाईमा अवस्थित मिश्रित जंगलमा पाईने रेडपाण्डा घर पालुवा, गोठमा राखिने र सिकारी कुकुरको समेत सिकार हुने गरेको छ । यस्तै रेडपाण्डालाई नै लक्षित नगरि अन्य जनावरलाई थापिएको पासोमा समेत रेडपाण्डा पर्ने गरेको छ । रेडपाण्डाको मुख्य आहारा मालिङ्गो, निगालो मासिदै जानु, अव्यवस्थित चरिचरन, चोरी सिकारी र संरक्षणका लागि जनचेतनाको कमी नै अहिलेको मुख्य चुनौती रहेको संरक्षणकर्मीहरु बताउँछन् ।

आर्कषक र लज्जालु रेडपाण्डा (हाब्रे)
हेर्दा अत्यन्तै आर्कषक र लज्जालु स्वभावको रेडपाण्डा विश्वकै दुर्लभ बन्यजन्तु हो । स्थानीय भाषामा यसलाई हाब्रे भन्ने गरिन्छ । प्रकृति संरक्षण क्षेत्रमा कार्यरत रहेको अन्तराष्ट्रिय सस्था आईयुसिएनको रातो पुस्तिकामा अति संकटापन्न सुचिमा रेडपाण्डा सुचिकृत छ । यस्तै नेपाल सरकारले पनि संरक्षित बन्यजन्तुको सुचिमा राखेको छ ।

मालिङ्गो या निगालोको टुसालाई मुख्य आहाराको रुपमा प्रयोग गर्ने रेडपाण्डा अन्य बन्यजन्तुको तुलनामा निकै सोझो मानिन्छ । हलुका रातो, सेतो र कालो रंगमा देखिने रेडपाण्डा रुखको टोड्कामा बस्न रुचाउँछ । नेपाल बाहेक चीन, भारत, भुटान र वर्मामा समेत रेडपाण्डा पाईने बताईन्छ । रेडपाण्डाको सहबास माघ–फागुन र असार देखि भदौ महिनासम्म बच्चा जन्माउने समय हो । संरक्षणकर्मीका अनुसार कम प्रजनन तर उच्च मृत्युदरमा रेडपाण्डा पनि पर्छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved