अभियुक्तको सुरक्षा, प्रहरीको चिन्ता

  • प्रकाशित मितिः जेठ, २, २०७५
  • नवराज कट्टेल

विराटनगर / हराएको भनिएको साढे ३३ केजी सुन र सुराक लिने क्रममा कारोबारमा संलग्न शनम शाक्यको हत्या प्रकरणका अभियुक्तको सुरक्षाप्रति प्रहरी चिन्तित बन्दै आएको छ । जिल्ला अलालत मोरङमा उनीहरु विरुद्ध जारी थुनछेक बहसका लागि जिल्ला प्रहरी कार्यालय मोरङको न्यायिक हिरासतमा रहेका उनीहरुलाई ल्याउन र लान मोरङ प्रहरीलाई सकसपूर्ण अवस्था हुने गरेको छ ।

सुनको सुराक लिने क्रममा विमानस्थलका कर्मचारी सानु बनले आफैं आत्माहत्या गरेको, अर्का प्रेमलाल चौधरीले प्रहरी हिरासतमै डोरी लगाएर आत्माहत्या गरेकोदेखि शनम शाक्यले यातना सहेर बस्दा हत्या बेहोर्नु पर्नेसम्मका घटनाले प्रहरीलाई अभियुक्तप्रति शंसकित बनाउँदै आएको हो ।

संगठित अपराधमा संलग्न भएका व्यक्तिले त्यो समूह छोड्नु वा निस्कनु भनेको कि त मर्नु हो कि आफैं मर्नु पर्ने बाध्यात्मक अवस्था अनुसन्धानका क्रममा खुलेपछि अभियुक्तको सुरक्षामा प्रहरी चिन्तित बन्दै आएको हो ।

जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार हरेकले आफूमाथिको र आफू भन्दा तलको मात्रै सदस्यलाई चिन्न पाउने यस्तो सञ्जालमा आवद्ध हुने विशेषता संगठित अपराधको मानिन्छ । विभिन्न तह र चरणको अनुसन्धानले संगठित अपराधको समूहमा रहेका धेरै तहसम्मका व्यक्तिहरु पक्राउ परेपछि एकले अर्कोसँग राख्नसक्ने दुराभावले आफैंबीच जोखिम समेत बढाउन सक्ने पाठकको बुझाई छ ।

‘यो त खुल्नै नसक्ने अवस्थामा विभिन्न तहका व्यक्तिको नियन्त्रणपछि सञ्जाल खुलेको छ’ पाठक भन्छन्–अझै धेरै व्यक्ति छन् । सुरक्षाका लागि जोखिम मानिएका अभियुक्तको सुरक्षाकै निम्ति जिल्ला अदालत मोरङमा ८० जना प्रहरी परिचालन गरिएको छ । साँघुरो इजलासमा धेरै संख्याका प्रतिवादी, आफन्तजन र पक्षमा बहस गर्ने कानुन व्यवसायीले खचाखच भरिँदा प्रहरीका लागि समेत चिन्ताकै विषय बन्दै आएको छ ।

जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा न्यायधिश नारायण शर्माले सुनुवाई गरिरहनु भएको बहसका क्रममा दैनिक प्रतिवादी लिएर जान र आउन मात्रै प्रहरीको ठूलो संख्या परिचालित छन् । इजलास बाट बाहिर निस्कन चाहने प्रतिवादीलाई डोहो¥याएर शौचालय पु¥याउनदेखि आफन्तसँग कुरा गर्न बाहिर निस्कनेको चिहो गर्नका लागि इजलास आसपासमै ५० जना प्रहरी परिचालन गरिएको छ ।

मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले प्रत्येक प्रतिवादीको साथमा १ जना प्रहरी खटाउँदै आएको जानकारी दिइएका छन् । इजलासमा दैनिक जाने ३० जना प्रतिवादीका लागि ३० जना प्रहरी अदालतको बाहिरी कक्षमा कुरेर बस्दै आएका छन् । त्यस बाहेक अन्य प्रहरी अदालत परिसरमै छन् ।

उपरीक्षक बिसीका अनुसार बाहिरी सुरक्षा घेरामा मात्रै ५० जना प्रहरी परिचालन गरिएको छ । पोशाक र सादामा परिचालन गरिएको प्रत्येक प्रहरीलाई अभियुक्त बारे जानकारी गराउनदेखि उनीहरुको हुलिया रेकर्ड समेत दिइएको छ ।

बिसीका अनुसार जनशक्ति अभाव, प्रतिवादी लान र ल्याउने सवारी साधनको अभाव, इजलासमा बसाउने ठाउँको अभावका कारण समस्यै समस्यामा काम गर्नुपर्ने अवस्था रहेको छ । अभियुक्तमाथि गरिनु पर्ने मानवीय व्यवहारलाई पनि ख्याल गर्नुपर्ने अवस्थाका कारण प्रहरीलाई सुन प्रकरण र शनम हत्याको अभियोगमा पक्राउ परेका अभियुक्तको चिन्ता मात्रै लिनुपर्ने बाध्यता रहँदै आएको छ ।


पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved