प्रदेशमा नमुना संसदीय अभ्यासको आवश्यकता

  • प्रकाशित मितिः माघ, 22, 2074
  • पहिलो किताब संवाददाता

मुलुकमै पहिलो पटक गत बिहीबारदेखि प्रदेश संसदको अभ्यास सुरु भयो । नेपालमा केन्द्रीय संसदको  अभ्यास हुन थालेको लामो समयपछि प्रदेश संसदको अभ्यास मुलुकमा पहिलो पटक भएको  हो  । सोमबार एक नम्बर प्रदेशलगायतका अन्य प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्यो ।
सातवटा प्रदेशमध्ये  प्रदेश नम्बर ३ ले सबैभन्दा पहिले संसद बैठक बोलाएर प्रदेश संसद अभ्यासको सुरुआत गर्यो ।

प्रादेशिक संरचना पछिको पहिलो प्रदेशसभा बैठकमा प्रतिनिधिसभाकै झल्को  महसुस गरियो । भौतिक संरचनाका दृष्टिले केही अनौठो लागेपनि विगतमा प्रतिनिधिसभामा सदस्य रहेका र सहजीकरणका लागि संघीय संसदको  केन्द्रीय टोली खटिएपछि प्रदेशको  पहिलो बैठकमा संसदीय अभ्यासमा खासै  अन्योल देखिएन ।

प्रजातन्त्रिक व्यवस्था भएका मुलुकमा संसदीय शासन प्रणालीलाई विश्वमै उत्कृष्ट राजनीतिक प्रणाली मानिन्छ । नेपालमा २०१६ साल असार १६ गतेदेखि संसदीय शासन प्रणाली सुरु भएको थियो । २००७ सालको आन्दोलनले जहाँनिया राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना गरेपछि नेपालमा आम निर्वाचन सुरु भयो । २०१५ चैतमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सकियो । २०१६ असार १६ गते मध्यरात १२ बजे संसद्को पहिलो बैठक बोलाइयो ।

२०१७ पुस १ गते तत्कालीन राजाले संसदीय व्यवस्था नै खारेज गरिदिए । २०४६ सालको राजनीतिक परिवर्तन नेपालले बेलायतको ‘वेस्ट मिनिस्टर प्रणाली’ जस्तो संसदीय प्रणाली अङ्गीकार गर्यो ।

मुलुकले संसदीय व्यवस्था आत्मसात गरेको ५८ वर्षपछि प्रदेश संसदको अभ्यास गरिरहेको छ । संसदीय प्रणालीको महत्वपूर्ण पक्ष र सुन्दरता वैकल्पिक सरकारको रूपमा प्रतिपक्षको सशक्त उपस्थिति हो । सरकारका काम कारबाहीलाई गलत बाटोतर्फ जान नदिएर खबरदारी गर्दै संविधान कार्यान्वयन, आर्थिक समृद्धिको सपना, प्रदेशको समग्र विकास र उन्नतिलाई सर्वोपरी ठानेर आवश्यक विषयमा रचनात्मक सहयोग गर्नुपर्छ ।

प्रभावशाली प्रतिपक्षको भूमिकाका कारण जसरी मुलुकले सही गति लिन सक्छ । त्यसैगरी प्रेदश सरकारले पनि उचित दिशा समात्छ । विगतमा संविधानसभा र व्यवस्थापिका संसदमा देखिएका गैरलोकतान्त्रिक कृयाकलाप, उच्छृङखलता प्रदेशले प्रदर्शन गर्न हुन्न ।

संसदीय प्रणालीमा विरोध र समर्थन गर्ने, विचार प्रकट गर्ने अधिकार हुन्छ । तर विरोधको पनि एउटा सीमा हुन्छ । सीमा नाघेर विरोधका लागि विरोध गरिरहँदा समृद्ध प्रदेश निर्माणको जिम्मेवारी र उत्तरदायित्वबाट विमुख हुन सकिन्छ । समृद्ध प्रदेश निर्माणको ध्येयबाहेकका विषयले संसदमा खेल्ने मौका पाउँदा दल, लोकतन्त्र, गणतन्त्र, जनता र मुलुक कसैको पनि हित हुँदैन ।

तसर्थ अब प्रदेश सरकारले बेलैमा आफ्नो पूर्ण संरचना निर्माण गरी जनतालाई न्याय, सुशासन, विकास र समृद्धिको मार्गतर्फ डोर्याउनुपर्छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved