जनप्रतिनिधिको गाडी मोहभित्रको राजनीति

  • प्रकाशित मितिः माघ, 15, 2074
  • पहिलो किताब संवाददाता

चुनाव जित्नु अघिसम्म जनपक्षीय नाराहरू अघि सारेर जनमतबाटै मेयर– उपमेयर बनेका जनप्रतिनिधिलाई जनताले जिताएर पठाए तर उनीहरुले एकपछि अर्को अलोकप्रिय निर्णय गर्न थाले । उनीहरूको यस्तै निर्णयले जनताको तहमा आलोचित हुन थाले । अत्यावशेकबाहेक कुनै पनि निर्णयले जनताले पचाउन सक्दैनन् ।

अहिले यस्तै नगरभित्रको राजनीतिमा जनप्रतिनिधिको गाडी मोह तातो विषय बनेको छ । हुन त केही समय अघि नै मुलुकको जेठो महानगरका मेयर सा’ब आफ्नो गाडी मोहका कारण जनस्तरबाटै आलोचित बनेका थिए । बिस्तारै जनप्रतिनिधिको गाडी मोह नवनगरहरूमा पनि देखिन थालेको छ, जो अत्यन्तै अलोकप्रिय र भत्र्सनायुक्त छ ।

भर्खरै आफूलाई गाडी नदिएको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातिन् । नगरपालिकामा रहेको एउटा गाडी मेयरले चढ्दै आएको र उपमेयरले आफूलाई पनि गाडी सुविधा दिन माग गरेपनि आइतबारको बैठकमा प्रस्ताव नआएपछि माइन्युट च्यातेर फालेकी हुन् । कुरो बुझ्दा धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी लिएर सुविधा दिइएको रहेछ । र उपमेयर यादव आफूले पनि सुविधा पाउनुपर्ने माग गर्दै आएकी रहिछन् ।
गाडी खरिद गर्दा एकमुष्ट रकम महँगो देखिने र भाडामा प्रयोग गर्दा स्वीकार्य हुने काइदाले पनि यस्तो जुक्ति अपनाइरहेका छन् जनप्रतिनिधि ।

धरानमा विकासका कामलाई प्राथमिकता दिएर जनताको मन जितिरहेका मेयर तारा सुब्बा केही दिन अघि मात्रै गाडीकै विषयमा आलोचित बने । नगरसभाबाट गाडी खरिद गरेको दाबी गरेका मेयरले गाडी किन्ने निर्णय गरेको समाचार संचारमाध्यममा आएपछि सामाजिक संजाल प्रयोगकर्ताले उनको आलोचना गरे । प्रतिपक्षी राजनीतिक दलले नगरकार्यपालिकाबाट निर्णय गरेर गाडी खरिद गर्नुपर्ने भन्दै आलोचना गरे । यद्यपि मेयर सुब्बाले गाडी खरिदको निर्णय भएको स्पष्ट पारे ।

यस्तै पूर्वका धेरै स्थानीय निकायले गाडी, सवारी साधनबिना नै कार्यसम्पादन गर्दै आएका थिए । साविक उपमहानगर र नगरपालिकामा मात्रै एक वा दुईवटाको संख्यामा गाडी थिए । गाउँपालिका मर्ज भएपछि बनेका नगरमा सवारी साधन छैनन् । मेयर, उपमेयर बनेपछि गाडी चढ्नु पर्छ भन्ने मनोविज्ञानले जनप्रतिनिधिलाई सताइरहेको छ । तर स्थानीय निकायको निर्वाचनपछि जनप्रतिनिधिमा गाडीमा सवार हुनै पर्ने सुविधाभोगी मनोविज्ञानले नगरसभा र कार्यपालिकाको बैठकमा मेयर र उपमेयरलाई गाडी खरिद गर्ने निर्णय हुन थाल्यो ।

नगरसभाले निर्णय गरेपछि जतिसुकै मूल्यमा गाडी खरिद गर्दा पनि वैधानिक हुने र मेयर उपमेयरले गाडी चढ्नै पर्ने व्यवस्था भएको रुपमा लिइयो । धार्मिक पर्यटकीय क्षेत्र वराहक्षेत्र र आसपासका महेन्द्रनगर, भरौल, प्रकाशपुर, मधुवन मर्ज भएर बनेको वराह नगरपालिकाका मेयरले गाडी किने । तर, अधिकांश वडाध्यक्षलाई यसको पत्तै भएन । यद्यपि नगरसभाबाट पारित गरी ८२ लाख ९० हजारमा ०१७ मोडलको स्कारिपियो गाडी काठमाडौंबाटै चढेर आएको मेयरले सुनाए ।

नेपाल सरकारले समेत स्थानीय निकायलाई बजेट विनियोजन गर्दा विभिन्न शीर्षकमा खर्च गर्नुपर्ने र त्यसको निर्धारित अंक छुट्याएको छ । जसरी पनि उक्त शीर्षकमा रकम खर्च गर्नुपर्ने बाध्यकारी अवस्था थोपरिदिएको छ । यदि उक्त अंक पूरा नभए आगामी वर्ष रकम घटेर आउने भएपछि स्थानीय निकायले बजेट जसरी पनि खर्चन बाध्य छन् ।

जनप्रतिनिधिले गाडी चढ्ने विषय, यसको खरिद मूल्य र प्रक्रिया सरकारबाटै निर्धारण नभएसम्म नवनगरहरूमा अनियमितता भई नै रहन्छ । प्रमुख–उपप्रमुखज्यूहरू सुविधाभोगी भइदिनाले अनावश्य रूपमा उहाँहरूको माग हुन्छ । एउटा नगर, उपमहानगर र महानगरमा कति संख्यामा कुन, प्रयोजनका लागि सवारी आवश्यक हो भन्ने नीति निर्माण नभएसम्म सा’बहरूले जनताबाट विभिन्न नाममा असुलिएको सरकारी नाउँको पैसोको दोहन गरिरहनुहुन्छ । नागरिकले पनि आफ्नो प्रतिनिधिलाई खै गर्नसक्नुपर्छ । हाम्रैबीचबाट, हामीले नै प्रमुख बनाएका उहाँहरू चिल्ला गाडीमा हाम्रा समस्या नबुझी हुइँकिनु हुन्छ र हामी ट्वाँ परेर हेरिरहन्छौं भने ...... हेर्नेलाई लाज भनेजस्तै लाज त हामी आफैंलाई नै हुन्छ ।

जनप्रतिनिधि सा’बहरू पनि ‘जनताको प्रतिनिधि हुँ’ भन्ने कुरो बुझेर काम गर्दा बेस हुन्थ्यो । कोही जनप्रतिनिधि त यस्ता पनि छन् पाँच वर्ष आफू रमाइलो गर्ने जनतालाई रमिते बनाउने त्यसपछि ‘देखा जाएगा’ । त्यसो होइन । नगरलाई उन्नत, समृद्ध, नमुना निर्माणका लागि नगरका नागरिक सुसुचित हुनुपर्छ भने नगरपालिका पारदर्शी बन्नु पर्छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved