कोरोना भाइरसबाट चीनमा १७ को मृत्यु, ५७१ संक्रमित

  • प्रकाशित मितिः माघ, 9, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी  / चीनमा कोरोना भाइरसको संक्रमणका बिरामीको संख्या ५७१ पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएका छन् । बुधबार साँझसम्म चीनका अधिकारीहरूले उक्त संक्रमणबाट बिरामी हुनेहरूको संख्या ५७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियमन गरिएको छ ।

चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको संक्रमण फैलिएको छ । स्थानीय प्रशासनले जंगली जनावर र पशुबजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको बताएको छ । यसका साथै मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीहरूले जानकारी दिएका छन् ।

हुबेई प्रान्तमा नै यसबाट धेरैको ज्यान गएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै १७ जनाको ज्यान गएको जानकारी दिएका छन् । मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेको पनि जनाइएको छ । यो संक्रमणको संख्यामा करिब पाँच हजार नौ सयजनालाई उपचारार्थ भर्ना गरिएको थियो ।

यसबाट निको भएर करिब एक हजारजना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । तर, उनीहरूलाई पनि विशेष निगरानीमा राखिएको बताइएको छ । चीनको वुहानको जनसंख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त संक्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ ।

बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेईबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको संक्रमण भेटिएको हो ।

त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको अधिकारीहरूले जनाएका छन् । दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्यान्डमा पनि यस संक्रमणका एक–एकजना भेटिएका छन् ।
रासस



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved