कामदार विमानस्थलबाट फर्काइएकामा विभागको आपत्ति

  • प्रकाशित मितिः मंसिर, 7, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / वैदेशिक रोजगार विभागले वैधानिक रूपमा श्रम इजाजतपत्र लिएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकामा आपत्ति जनाएको छ । वैदेशिक रोजगारीका लागि हिँडेका युवालाई कागजात राम्रोसित नहेरिकन विमानस्थलबाट फर्काइने घटना बढ्न थालेको र यस्ता कामदार रुँदै कराउँदै यहाँ आउने गरेकाले विभागले सम्बन्धित वायुसेवा कम्पनी र विमानस्थलका कर्मचारीले गरेको व्यवहारप्रति यस्तो आपत्ति जनाएको हो ।

श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई पनि बिनाकारण त्यसै फिर्ता गर्ने क्रम बढेको विषयमा विभागले यस्तो आपत्ति जनाएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय विमानस्थलको यात्रुसेवा विभागबाटै विमान कम्पनीले कामदार फिर्ता पठाउने गरेको विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले गैरजिम्मेवार ढंगले कामदारलाई विमानस्थलबाट यसरी फिर्ता गर्नु गलत भएको बताए । उनले यसमा सम्बन्धित वायुसेवा कम्पनी र विमानस्थल प्रशासनको भूमिका रहेको बताए । अध्यागमनसँग त आफूहरूले निरन्तर समन्वय गरेको भए पनि विमानस्थलमा विमान कम्पनीले नै बिनाकारण नेपाली कामदार फिर्ता पठाइरहेकाले सम्बन्धित सरोकारवालाहरू यस्तो कार्यमा सजक हुनु आवश्यक भएको बताउँदै भुसालले भने, ‘यो गम्भीर विषय भएकाले विभागले पहल थालेको छ ।’

उनले श्रम स्वीकृति लिएर गएकालाई रोक्नुपर्ने कुनै कारण नहुने भन्दै कुनै शंका रहे अध्यागमनले थप सोधपूछ र अनुसन्धान गर्न सक्ने बताए । तर, अध्यागमनमा नै पुग्न रोकेर यात्रुलाई फिर्ता पठाइँदा वैधानिक रूपमा जान लागेका कामदार पनि पीडित हुन परिरहेको उनको भनाइ छ । अहिले श्रम स्वीकृति लिएर गएका सोझा सिधा व्यक्तिलाई विभिन्न वहानामा विमानस्थलमा बोर्डिङ पास नदिई र त्यसको कारण समेत नखुलाई फिर्ता पठाउने गरिएको गुनासो विभागमा प्राप्त हुने क्रम बढेको जानकारी गराउँदै भुसालले भने,

‘कामदारलाई फर्काउनुपर्ने कुनै जायज कारण भएमा लिखित रूपमा दिनुपर्छ । संविधानले प्रत्याभूत गरेको सूचनाको हक सबै नेपालीलाई छ ।’

उनले यसरी फिर्ता गर्दा कामदारको टिकटबापतको रकम नोक्सान हुने गरेको र कतिपयले समयमै कम्पनीमा पुग्न नसकेर जागिर गुमाउनुपरेको बताए । यस विषयमा विभागले संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेर ध्यानाकर्षण गराइसकेको जनाएको छ ।

 

 

श्रम स्वीकृति लिएर गएका सोझासाझा व्यक्तिलाई विभिन्न वहानामा विमानस्थलमा बोर्डिº पास नदिई र त्यसको कारणसमेत नखुलाई फिर्ता पठाउने गरिएको गुनासो विभागमा प्राप्त हुने क्रम बढेको छ

 

 

प्रस्थान अनुमति नपाएर फर्कने कामदारबारे विमानस्थलस्थित श्रम कक्ष (वैदेशिक रोजगार विभाग) लाई समेत जानकारी नहुने विभागको दाबी छ । वैदेशिक रोजगार विभाग तथा अन्तर्गतका कार्यालयमा कुनै समन्वयसमेत नहुँदा कामदारले अनावश्यक दुःख पाउनुपरेको विभागको पत्रमा उल्लेख छ । विदेशी वायुसेवा कम्पनीको फिर्ता नहुने प्रकृतिको टिकट भएको अवस्थामा मुलुकको धनराशि बिनाप्रयोजन बिदेसिने पत्रमा औंल्याइएको छ । पर्यटन मन्त्रालयलाई फिर्ता गर्नुको कारण लिखित रूपमा दिनुपर्ने व्यवस्था मिलाइदिन पनि आग्रह गरिएको विभागले जनाएको छ ।

यस विषयमा विमानस्थल प्रशासन भने यात्रुलाई प्रस्थान अनुमति दिन आफ्नो प्रत्यक्ष भूमिका नहुने बताउँदै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले कुनै कागजात नपुगेर सम्बन्धित वायुसेवा कम्पनीले बोर्डिङ पास नदिएको हुन सक्ने बताए । उनले अब यस गुनासोप्रति विमानस्थल प्रशासनले वायुसेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग थप जानकारी लिएर अघि बढ्ने आश्वासन दिए । अध्यागमनले सरकारले तोकेअनुसार कागजात माग गर्छ, त्यस्ता कागजातको जाँच विमान कम्पनीले पनि गरेका हुन्छ भन्दै उनले कुनै कागज नपुगेको भए बोर्डिङ पास नदिई फर्काउने गरिएको हुन सक्ने बताए । उनले यदि हवाई यात्रुलाई विमानस्थलभित्र केही समस्या भए ‘टर्मिनटल ड्युटी अफिस’मा यात्रुले तत्काल सहयोग माग्न सक्ने पनि जानकारी गराए । राजधानीदैनिक



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved