फिल्ममा मुलुककै ठूलो समस्या उठाएको छु : दीपेन्द्र लामा

  • प्रकाशित मितिः आश्विन, 30, 2076
  • पहिलो किताब संवाददाता

चलचित्र छ माया छपक्कै यतिबेला मुलुकका १२० भन्दा बढी सिनेमा हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रको बुधबार बेलुका काठमाडौंको जय नेपाल हलमा प्रेस प्रदर्शन पनि गरियो । यो चलचित्रलाई पत्रकार दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसअघि घामपानी र गोपीसहित दुई चलचित्र निर्देशन गरेका लामाको छ माया छपक्कै तेस्रो निर्देशनको चलचित्र हो । यसै प्रसंगमा निर्देशन लामासँग राजधानीका डब्बु क्षत्रीद्वारा गरिएको कुराकानी :

चलचित्र घामपानी र गोपीभन्दा छ माया छपक्क कति फरक चलचित्र हो ?

घामपानी र गोपी दुवै सामाजिक चलचित्र थिए । यो फिल्ममा पनि सोसियल स्टोरी छ । सोसियलसँगै राजनीतिक विषय पनि हामीले यसमा उठाएका छौं । मूलतः नेपाली गाउँ ठाउँको एउटा जल्दोबल्दो विषय हामीले उठाएका छौं । जुन विषयलाई हामीले ट्रेलरमा नदेखाएर सोझै फिल्ममार्फत प्रस्तुत गरेका छौं । ट्रेलरमा हेर्दा दुई परिवारबीच राजनीतिक द्वन्द्व देखिए पनि चलचित्रमा फरक विषयवस्तु रहेको छ । त्यो विषयवस्तुलाई अहिले दर्शकले मन
पराउनुभएको छ ।

विगतको भन्दा सामाजिक विषयवस्तुको अन्तर के हो त ?

विगतजस्तै यसपटक फरक काम गरेको छु । घामपानीमा अन्तरजातीय समस्यालाई उठाएको थिएँ र सहिष्णुताको कुरालाई बढी महŒव दिएको थिएँ । फिल्ममा अन्तरजातीयसँग सोसियल हार्मोनीलाई पनि ध्यान दिइएको थियो । गोपी विशुद्ध हिन्दू संस्कृतिमा केन्द्रित थियो । छ माया छपक्कैमा मैले उमेर नमिलेका व्यक्तिहरूको प्रेम सम्बन्ध र विवाहलाई महŒव दिएको छु । मुलुुकमा विभिन्न व्यस्तताले तन्नेरी उमेरमा प्रेम र विवाह गर्न नभ्याएका धेरै छन् । त्यसैले उमेर अन्तर भएकाको प्रेम सम्बन्धलाई यसमा उतारेको छु । जसमा नायक ४२ वर्षको छ भने नायिका २४ वर्षकी छिन् । राजनीतिक आस्था फरक भएका युवायुवतीको प्रेम र द्वन्द्वको आरोह–अवरोह पनि छ माया छपक्कैमा देखाइएको छ ।

दुई तिहाइको सरकार भएर पनि गाउँदेखि केन्द्रसम्म कम्युनिस्ट राजनीति सुस्ताएको बेला तपाईंले कम्युनिस्टको सक्रिय राजनीतिमाथि फिल्म बनाउनुको कारण ?

चुनाव भए पनि गाउँमा राजनीतिक चहलपहल सधंै हुने गर्छ र अहिले पनि छ । स्थानीय सरकारले राजनीतिक आधारमा आफ्ना कार्यकर्तालाई कहाँ कस्तो काम दिने, बजेट परिचालन कहाँ गर्ने भन्ने कार्यको चहलपहल गाउँमा अहिले खुबै छ । फिल्मको कथाले नै गाउँको राजनीति मागेकाले हामीले प्रस्तुत गरेका हौं । चुनाव जितेपछि गाउँ नफर्कने, नेता बनेर चुनाव जितेपछि जनताभन्दा आफ्नाको काम बढी गर्ने, अरूबेला सहर बस्ने र चुनावको बेला आएपछि मात्र गाउँ जाने जस्तो प्रवृतिको पनि हामीले यो चलचित्रमार्फत चिरफार गर्न खोजेका छौं । नेताहरूले गाउँमा बसेर काम गर्नेलाई चुनावमा टिकट नदिने तर सहरमा बसेर चाकडी गर्नेहरूलाई नेताहरूको टिकट दिनेजस्ता कार्यको पनि यो चलचित्रमा विरोध गरिएको छ । फिल्मको अर्को महŒवपूर्ण समस्या हो पानी । मुलुकको सबैभन्दा जल्दोबल्दो खानेपानीको समस्यालाई पनि मैले यो फिल्ममा महŒवका साथ उठाएको छु ।

यस्तो विषय फिल्ममा उठाउनुको कारण ?

गाउँमा बसेर राजनीति गर्ने स्थानीय नेतालाई नै पार्टीले विश्वास गरेर टिकट दिनुपर्छ भन्ने हाम्रो सन्देश हो । को आफ्नो क्षेत्रको विकासमा काम गर्न पाउनु, गाउँको समस्या देखाएर चुनाव जित्ने तर समाधान नगर्ने जस्ता विकृतिको अन्त्य होस् भन्ने हाम्रो उद्देश्य हो ।

फिल्मले आश्चर्यजनक व्यापार गरेको चर्चा छ नि ?

हो, फिल्मले राम्रो व्यापार गरेको छ । कति कमायो भन्ने कुरा चाहिँ निर्माताले बताउनुहुन्छ । तर, यो वर्षकै राम्रो व्यापार गरेको छ ।
फिल्म राम्रो भएर चलेको हो कि दीपकराज, दीपाश्री, केदार घिमिरे, जितु नेपालको क्रेजले चलेको हो ?

दुवै कुराले चलेको हो । फिल्मलाई हाम्रो राम्रो बनाएका छौं । उहाँहरूको क्रेज पनि राम्रो भएकाले फिल्म चल्यो ।

तपाई गम्भीर विषयमा फिल्म बनाउने मान्छे । यसपटक कमेडी रोज्नुको कारण ? फिल्म चलाउन नै हो ?

विगतको कमेडीभन्दा छ माया छपक्कैको कमेडी फरक छ । यसमा बौद्धिक कमेडी छ । कमेडीसँगै यसमा सामाजिक खुराक पनि छ । कमेडीको कुरा गर्दा छक्का पञ्जाभन्दा यसको फरक फ्लेबर छ ।राजधानी दैनिक



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved