आगोको भट्टीजस्तो पृथ्वी कसरी सेलायो?

  • प्रकाशित मितिः आश्विन, 28, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / हामी बस्ने पृथ्वी कुनै कालखण्डमा आगोको भट्टीजस्तो तातो थियो। इँटा बनाउने भट्टीको कल्पना गर्नुस् न, त्योभन्दा कता हो कता तातो!

त्यस्तो आगोको रापभित्र कुनै पनि जीवजन्तु बाँच्ने कुरै आएन।

जीवजन्तु र वनस्पतिहरूले त्यति बेला मात्र सास फेर्न थाले, जब पृथ्वीको राप सेलाउँदै गयो, आगोको भट्टी चिस्सिँदै गयो।

पृथ्वी सेलाउने यो प्रक्रिया लगभग ४७ करोड वर्षअघि सुरू भएको मानिन्छ।

आगोको गोलाजस्तो तातो पृथ्वी एकाएक कसरी सेलाउन थाल्यो? के अचानक हाम्रो ब्रह्माण्डमा प्राकृतिक ‘एअरकुलर’ उत्पन्न भयो, जसले छाडेको चिसो हावाले पृथ्वीको ताप सेलाउँदै गयो र हाम्रा जीवपुस्ताले यहाँ सास फेर्ने वातावरण पाए?

त्यसो हो भने त, सूर्यको राप पनि सेलाउनुपर्ने नि, होइन!

स्वीडेनका अनुसन्धाताले हाम्रो सौर्यमण्डल र पृथ्वीसँग जोडिएको यो गुत्थी एक महिनाअघि सुल्झाएका छन्। उनीहरूका अनुसार, ४७ करोड वर्षअघि मंगल र बृहस्पति ग्रहको बीचमा उल्कापिण्डहरूको यस्तो घमासान भयो, जसले पृथ्वीको रूपरेखा नै फेरिदियो।

मंगल भनेको पृथ्वीबाट सबभन्दा नजिकको ग्रह हो। यसको मतलब, उल्कापिण्डहरूको घमासान–स्थल पृथ्वीनिकट थियो। यसमा करिब एक सय ५० किलोमिटर लम्बाईको उल्कापिण्ड टुक्राटुक्रा हुँदा सौर्यमण्डलभरि धूलोका बाक्ला कण छरिए। नजिकको ग्रह भएकाले बढी प्रभाव पृथ्वीमाथि नै पर्‍यो। यहाँको वायुमण्डल उल्कापिण्डबाट निस्केको धूलोको घना बादलले ढाक्यो।

बादलको पत्र यति बाक्लो थियो, त्यसले सूर्यको प्रकाश पृथ्वीसम्म पुग्ने बाटो छेकिदियो। यो अवस्था एकाध वर्ष मात्र रहेको भए कुरा अर्कै हुन्थ्यो। तर, यस्तो बादल लाखौं वर्ष पृथ्वीलाई ढाकेर बस्यो।

Image result for asteriod dust may cooled earth cloud earth iceage
उल्कापिण्ड टुक्रेको प्रतीकात्मक तस्बिर

लामो समय घामको प्रकाशविहीन भएपछि पृथ्वीको ताप सेलाउँदै गयो। तापक्रम सेलाउने अवधि कम्तिमा २० लाख वर्ष रहेको वैज्ञानिकहरूको अनुमान छ। यही अवधिलाई हामी ‘आइस एज’, अर्थात् ‘हिमयुग’ भन्छौं, जसमा थुप्रै जीवजन्तु उत्पत्ति भए।

‘उल्कापिण्डका कणले वायुमण्डल ढाकेर पृथ्वीको तापक्रम घटेको पहिलोपटक प्रमाणित भएको छ,’ स्वीडेनका वैज्ञानिक बर्जर स्मिजले बेलायतबाट प्रकाशित हुने पत्रिका ‘द गार्डियन’ सँगको कुराकानीमा भनेका छन्।

उनको अनुसन्धान टोलीले दक्षिणी स्वीडेन र रुसको सेन्ट पिटर्सबर्गनिर यस्ता चट्टान उत्खनन् गरेको थियो, जुन ४६ करोड ६० लाख वर्षअघि हिमयुगको बेलादेखि जमेर बसेका थिए। अनुसन्धानको निष्कर्ष ‘साइन्स एड्भान्सेस’ नामक जर्नलमा प्रकाशित छ।

‘हामीलाई थाहा छ, ६ करोड ७० लाख वर्षअघि १० किलोमिटर लामो उल्कापिण्ड पृथ्वीमा बजारिँदा डायनासोर लगायत त्यति बेलाका धेरै जीवजन्तु र वनस्पतिको अस्तित्व सखाप भयो,’ आफ्नो अध्ययनबारे बर्जर भन्छन्, ‘यो घटना हुनुभन्दा करोडौं वर्षअघि त्योभन्दा ठूलो उल्कापिण्ड फुटेर ब्रह्माण्डमा अझ ठूलो उथलपुथल आएको थियो।’

उनका अनुसार करिब ४७ करोड वर्षअघि मंगल र वृहस्पति ग्रहको बीचमा दुई ठूला उल्कापिण्ड ठोक्किए। एउटाको आकार डायनासोर मास्ने पिण्डभन्दा तीन हजार गुना ठूलो थियो। यति ठूलो पिण्ड टुक्रा–टुक्रा भएपछि वायुमण्डलमा छरिएका धूलोका कणको बाक्लो बादलले पृथ्वीमा घामको ताप स्वाट्टै घटाइदियो। लामो समय तापक्रम घटेपछि पृथ्वीको वातावरण जीव र वनस्पतिका लागि अनुकूल भयो।

यति मात्र होइन, ठाउँ–ठाउँमा पानी जमे। समुद्री सतह घट्यो। समुद्रमा बरफका पहाड बने। चिसो पानीमा अक्सिजन बढी सञ्चित हुन्छ, जसले नयाँ प्रजातिका जीव हुर्कनलाई थप अनुकूल वातावरण दियो।

जीवको उत्पत्ति क्रममा सबभन्दा पहिला पानीमा ‘कोरल रिफ’हरू देखापरे। त्यसपछि हातखुट्टाझैं आकृति भएको र अक्टोपसजस्तै देखिने स–साना जीवहरू जन्मिए।

हिमयुगको सुरुआत र जीवजन्तुको उत्पत्ति प्रक्रियाबारे वैज्ञानिकहरूबीच मतान्तर रहेका बेला बर्जर स्मिजको टोलीले समुद्री तटमा पाइएको धूलोका कण अध्ययन गरेको थियो। ती कण त्यति बेला टुक्रिएको उल्कापिण्डकै अवशेष भएको अध्ययनको निष्कर्ष छ।

‘यी धूलोका कणमा हिलियम–३ को मात्रा अधिक छ,’ बर्जरले भने, ‘यो उल्कापिण्ड फुट्दा ब्रह्माण्डबाटै खसेको हो। यसले हामीलाई हिमयुग सुरू हुनुको कारण बुझ्न मद्दत गर्छ।’

उनको निष्कर्षलाई अन्य वैज्ञानिकहरूले पनि समर्थन गरेका छन्।

‘यो सबै प्रश्नको जवाफ होइन, तर यसले धेरै गुत्थी सुल्झाउन मद्दत गर्छ,’ केन्टकी विश्वविद्यालयकी रेबेका फ्रिम्यानले भनिन्।

बर्जर स्मिजको अनुसन्धानले धेरैको ध्यान तान्नुको अर्को पनि कारण छ।

पछिल्लो समय पृथ्वीको तापक्रम बढ्दै गएको छ। वैज्ञानिकहरू यसलाई अत्यधिक प्राकृतिक स्रोत दोहन र औद्योगिक प्रदूषणका कारण उत्पन्न जलवायु परिवर्तनको प्रभाव बताउँछन्। उच्च तापक्रमबाट बच्न केही वैज्ञानिकले त्यस्तै धूलोका कण पृथ्वीको वायुमण्डलमा फैलाउन प्रस्ताव गरेका छन्। यसले ४७ करोड वर्ष अगाडिजस्तै घामको ताप कम हुने उनीहरूको भनाइ छ।

उच्च तापक्रमको समस्या सुल्झाउने यो अवधारणा विवादमुक्त छैन। यसो गर्दा पृथ्वीमाथि थुप्रै नकारात्मक असर पर्नसक्ने आलोचकहरूको टिप्पणी छ।

आधा अर्ब वर्षअघि पृथ्वीको वायुमण्डलमा प्राकृतिक रूपले लागेको धूलोको जालो कृत्रिम रूपमा लगाउँदा के उच्च तापक्रमको समस्या हल होला?

वैज्ञानिकहरू अब यसको जवाफ खोज्नमा तल्लीन छन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved