सुनको मूल्य तोलाको ७० हजारसम्म पुग्ने अनुमान

  • प्रकाशित मितिः असार, 11, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको असर स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार तोलामा ६५ हजार ५ सय मूल्य अहिलेसम्मकै रेकर्ड हो । महासंघका अध्यक्ष मोहन विश्वकर्माले अमेरिका र इरानबीच भएको द्वन्द्वका कारणले सुनको मूल्य अकासिएको बताए ।

गत सातादेखि सुनको मूल्य लगातार बढ्दै गएको छ,” उनले भने, “मूल्यवृद्धि भइ कारोबार कम हुँदा व्यवसायीलाई असर परेको छ ।” सुनको मूल्य बढ्दा व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर परेको उनको भनाइ छ । लगनको समय भएपनि मूल्य बढेकाले बजारमा सुनको माग एकदम न्यून छ । उनले भने, “अहिले नयाँ गहना भन्दा पनि पुराना गहना बेच्नेको भीडभाड धेरै छ ।

महासंघका अनुसार लगनको समयमा दैनिक ३० देखि ४० किलो सुनको कारोबार हुने गरेकोमा अहिले बजारमा सुनको कारोबार नै ठप्प जस्तो भएको छ । सधैँजसो भीडभाड हुने न्यूरोड लगायतका क्षेत्रका सुन पसलमा यतिबेला सुनसानजस्तै छन् । अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंश १४०४ डलर रहेको सुनको मूल्य मंगलबार १४३५ डलर पुगेको छ । अमेरिका र इरानबीचको युद्धका कारण लगानीकर्ता सुनमा आकर्षित भएपछि मूल्यमा प्रभाव परेको हो ।

सुनको मूल्य बढेर प्रतिऔंश १५०० डलरसम्म पुग्ने विज्ञहरूले अनुमान गरेका छन् । सो अनुमान सावित भएमा स्थानीय बजारमा सुनको मूल्य तोलामै ७० हजारसम्म पुग्ने विज्ञहरूको अनुमान छ । यसअघि २०७० भदौ १२ गते सुनको मूल्य तोलामै ६३ हजार ३ सय पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पनि ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved