गाईघाटदेखि रौतासम्म केबलकार

  • प्रकाशित मितिः असार, 8, 2076
  • पहिलो किताब संवाददाता

उदयपुुर / उदयपुरको रौतामाई गाउँपालिकामा अवस्थित पवित्र धार्मिक स्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्नका लागि सदरमुकाम गाईघाटस्थित बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालन हुने भएको छ ।

त्यसका लागि सर्भे गरी त्यसको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर निर्माण सम्पन्न भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा चार वर्षभित्र सदरमुकाम गाईघाटदेखि धार्मिकस्थल रौतासम्म ९ किलोमिटर लामो दूरीमा रहेको धार्मिकस्थल रौतापोखरीसम्म केबलकार सञ्चालनका लागि डीपीआर तयार भएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।

विस्तृत अध्यायन प्रतिवेदन डीपीआरका अनुसार केबलकार सञ्चालनका लागि करिब ४ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान निकालेका छन् । जसमा ३ अर्ब बाह्य लगानीकर्ता र १ अर्ब त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा स्थानीय जनताले समेत लगानी गर्न पाउने गरी केबलकार सञ्चालनको बृहत् योजना सुरु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए ।

गत पुस महिनाबाट पटकपटक सर्भे भई प्राविधिकबाट तीनपटकभन्दा बढी सर्भे गरी डीपीआर निर्माण गरिएको त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् । जिल्लाकै सबैभन्दा महŒवपूर्ण ऐतिहासिक तथा धार्मिकस्थलका रूपमा रहेको रौता पोखरीमा केबलकार सञ्चालन भएपछि पर्यटन विकासमा बृहत् रूपमा टेवा पुग्ने सम्बन्धित क्षेत्रका जनप्रतिनिधिले बताएका छन् ।

रौता पोखरी क्षेत्रमा जिल्लाभित्र र बाहिरबाट दैनिक २ सयभन्दा बढी पर्यटक तथा भक्तजन दर्शन गर्न र भ्रमण गर्न जाने गरेका छन् भने केबलकार सञ्चालन भएपछि दैनिक हजारौंको सख्यामा भक्तजन तथा पर्यटकको आगमन हुने र वार्षिक १० लाखभन्दा बढी भक्तजन तथा पर्यटक रौता क्षेत्रमा आगमन हुन सक्ने अनुमान गरेका छन् । केबलकार निर्माणपछि पर्यटन विकासमा टेवा पुग्ने समेत जनप्रतिनिधिको धारणा रहेको छ ।

उदयपुरको रौता पोखरी क्षेत्र समुद्री सतहबाट २ हजार मिटरको उचाइमा रहेको छ भने यहाँबाट उत्तरतिरको मनोरम हिमशृंखला, सरमाथा, लोत्से, आमादोल्मा र पूर्वी उत्तरी क्षेत्रको अरुण बरुण देख्न सकिन्छ । दक्षिणतिर प्रदेश १ सहित प्रदेश २ को तराईका फाँट सप्तरी, सिराहा, जनकपुर, सप्तकोसी, इटहरी, दुहबी र विराटनगरसम्म अवलोकन गर्न सकिने रौतामाई गाउँपालिकी उपाध्यक्ष कुमारी ठकुरी बताउँछन् ।

सदरमुकाम गाईघाटबाट ४ घण्टाको मोटर बाटो प्रयोग गरी रौता पोखरी पुग्न सकिन्छ । गाईघाटबाट साउने, खाँबु, डहर हुँदै रौता पोखरी पुगिन्छ । ४५ किलोमिटरको दूरीमा रहेको रौता पोखरीसम्म पुग्न राम्रो मोटर बाटो पनि छैनन् । गेसाइँकुण्ड केबलकार प्रालिले सर्भे तथा अध्यायन गरिराखेको छ । सो कम्पनीले तयार पारेको प्रतिवेदनअनुसार गाईघाटदेखि बेलदोभानसम्म करिब नौ किलोमिटर मोटर बाटो प्रयोग गरी बेलदोभानबाट रौतामासम्म दुई स्टेसन राखेर करिब नौ किलोमिटर लामो केबलकार निर्माणको अध्यायन गरिएको छ । उनीहरूले बेलदोभानमा बरुवा खोलामा उच्च बाँध निर्माण गरी बहुउपयोगी योजना निर्माण गर्न लागेको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । नगर प्रमुख चौधरीका अनुसार बरुवा बाँधले खानेपानी, सिँचाइ, जलविद्युत् आदि बहुउपयोगी बनाउने योजना रहेको जनाएको छ । त्यसमा ७५ प्रतिशत कम्पनीको लगानी रहने र २५ प्रतिशत त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिका सहित स्थानीय सर्वसाधारणको लगानी रहने योजना रहेको उनले जनाएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved