खाद्य वस्तुमा एकसाथ मूल्यबृद्धि

  • प्रकाशित मितिः असार, 8, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ / चामल, तरकारी, घिउतेल, माछा मासुलगायत अन्य दैनिक उपभोग्य बस्तुको मूल्यमा बृद्धि हुन थालेको छ । मूल्य बढ्दा खाद्य समूहको मुद्रास्फीति ४ दशमलव ७ प्रतिशतले बढ्न पुगेको हो । दैनिक उपभोग्य वस्तुको यसरी मुल्य बढ्दा नागरिकहरु आत्तिन थालेका छन् । खाद्य र गैह्र खाद्य वस्तुको मूल्यमा एकसाथ मूल्यबृद्धि हुँदा नागरिकहरुले सास्ती पाउन थालेका हुन् ।

त्यसैगरी गैह्र खाद्य समूहमा घरायसी सेवा, लुगा तथा जुत्ता, यातायात र फर्निचर पनि महँगिएका छन् । चालु आर्थिक वर्ष २०७५/७६ को बैशाख महीनामा मुद्रास्फीति ५ दशमलव ३ प्रतिशत पुगेको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखाएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।

एनका अनुसार चैत महीनामा मुद्रास्फीति ४ दशमलव ४ प्रतिशत विन्दुमा थियो । आन्तरिक उत्पादन कम हुनु र बाह्य उत्पादनको आयात बढ्नुले मुल्यबृद्धिमा केही उतारचढाव आएको राष्ट्र बैंकको ठम्मयाँई छ ।

तरकारी, माछामासु र घिउ तेलमा ८ प्रतिशतसम्म मूल्यबृद्धि 
राष्ट्र बैंकको तथ्याङ्कलाई आधार मान्ने हो भने तरकारी, माछा मासु र घिउतेलको मूल्यमा बृद्धि भएको छ । अहिले तरकारीमा ६ दशमलव ३ प्रतिशत, माछामासुमा ४ दशमलव ७ प्रतिशत र घिउ तेलमा ८ दशमलव २ प्रतिशतका दरले बृद्धि मूल्य भएको छ । जसले गर्दा उपभोक्तालाई दैनिक गुजारा चलाउन मुश्किल भएको छ ।

उपभोक्ता भन्छन्, ‘बजार छोइनसक्नु भयो’
राष्ट्र बैंकका अनुसार खाद्य सेवाभन्दा गैरखाद्य समूहको मुद्रास्फीति बढिरहेको छ । आव २०७५/७६ को पहिलो १० महीनामा यस समूहको मूल्यवृद्धि ५ दशमलव ८ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले सामान्य मूल्यबृद्धि हुनु स्वभाविक भएको बताइरहँदा उपभोक्ता भने बजार छोइनसक्नु भएको गुनासो गर्छन् ।

मूल्यवृद्धि चालू आर्थिक बर्षमा ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राष्ट्र बैंकको छ । तर मूल्यबृद्धि अझै बढ्न सक्ने सङ्केत सरकारको लेखा समितिले गरेको छ । सरकारले हरेक उपभोग्य बस्तुमा भन्सार बढाएकोले उपभोक्ता मारमा परेको संसदको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहको भनाई छ ।

ब्यापारी र बजेट मूल्यबृद्धिको कारक 
बलियो सरकारले मूल्यबृद्धि घटाउने भन्दा पनि बढाउन थालेपछि उपभोक्तालाई दैनिक गुजारा चलाउन मुश्किल परेको जानकारहरु बताउँछन् । पूर्व गभर्नर समेत रहेका दीपेन्द्र बहादुर क्षेत्रीले मूल्यबृद्धिको कारकका रुपमा ब्यापारी र बजेट रहेको तर्क गर्छन । ‘सामान लुकाउने, कालोबजारी गर्ने काम व्यापारीहरुको पूरानै पेशा भएकोले सरकारले नियमन गर्न सक्नुपर्छ ।’ उनले भने, कमाउने नाममा व्यापारीले उपभोक्ताको ढाड सेकेका छन् ।’ उनले दुईतिहाईको सरकारसँग धेरै आशा गरेपनि दैनिक उपभोग्य बस्तुमा अस्वभाविक मूल्यबृद्धि हुँदा नागरिकहरु चिन्तित भएको गुनासो गरे ।

एकातिर आन्तरिक उत्पादन बढाउने योजना नहुनु र धेरै वस्तु आयात हुँदा मूल्यबृद्धि बढ्दो छ । मूल्यबृद्धि घटाएर नागरिकलाई राहत दिने दायित्व राज्यको हो । तर त्यसो भने हुन नसकेको गुनासो बढेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved