प्रदेश राजधानीका लागि धरानका ९ कार्यालय छानिए

  • प्रकाशित मितिः पुष, १४, २०७४
  • पहिलो किताब संवाददाता

इटहरी/ एक नम्बर प्रदेशको राजधानीका लागि धरानका ८ वटा कार्यालय छनोट भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट धरानलाई सम्भावित राजधानीका लागि प्रदेश प्रमुख, प्रदेश सभा, मुख्यमन्त्री र अन्य सातवटा मन्त्रालयको कार्यालय तथा आवास भवनहरू सिफारिस गर्न निर्देशित समितिले निर्णय गरी कार्यालय सिफारिस गरेको छ । स्थलगत निरीक्षणका आधारमा आठ वटा विद्यमान कार्यालय सिफारिससमेतको प्रतिवेदन तयार गरेको छ ।

एक नम्बर प्रदेशको राजधानी कहाँ बनाउने भनेर पूर्वका मुख्य शहरहरूबीच खिचातानी र जनस्तरबाट आन्दोलन भइरहेका बेला धरानलाई सम्भावित राजधानी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट जिम्मा पाएकोे समितिले धरानलाई राजधानी बनाउन उपयुक्त हुने निर्णय गरेको हो ।

पहिलो किताव डटकमले फेला पारेको गोप्य बैठक र त्यसको निर्णय पुस्तिकाका कागजातमा प्रदेश राजधानीका लागि आवश्यक भौतिक संरचना र मर्मत संहारमा लाग्ने अनुमानित खर्च समेत खुलाएर मन्त्रिपरिषदमा सिफारिस गरिएको छ ।

राजधानीका लागि आवश्यक प्रदेश सभा भवन, मुख्य मन्त्रीको कार्यालय, प्रदेश प्रमुखको कार्यालयसहित सात मन्त्रालयका लागि आवश्यक भवन र निवाससमेत खुलाएर सिफारिस गरिएको छ ।
एक नम्बर प्रदेशको राजधानी बनाउन पूर्वका धनकुटा, इटहरी, विराटनगर, गोठगाँउ र चतरा–रामपुर क्षेत्र चर्चामा थिए । राजनितिक दलका स्थानीय नेताले लबिङ र आन्दोलन नै थालेका थिए । अहिले पनि राजधानीका लागि सबै ठाउँबाट पहल जारी छ । धरानमा भने रिले अनसन नै चलिरहेको छ ।

वर्तमान मन्त्रि परिषदले नै अस्थायी राजधानी तोक्ने भएकाले वर्तमान सरकारमा प्रभावशाली भूमिकामा रहेका अर्थ मन्त्रि ज्ञानेन्द्रबहादुर कार्की, विजयकुमार गच्छदार र मिन विश्वकर्मासमेतले सुनसरीका पक्षमा रहेकाले प्रधानमन्त्री देउवाले क्षेत्रीय प्रशासकको नेतृत्वको समितिलाई सुनसरी कै स्थान छनौट गर्न जिम्मा दिएको बैठकको माइन्युट उपलव्ध गराउने स्रोतले बताएको छ ।
सुनसरीका इटहरी, चतरालगायतका क्षेत्रमा तत्काल राजधानी बन्न्ने कुनै संरचना नरहेकाले धरानमा रहेका संरचनासहित बजेटसमेत खुलाएर सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ ।

कहाँ कुन कार्यालय बस्दैछ ? मर्मत सम्भारका लागि कति छुट्टियो ?

१. आन्तरिक राजश्व कार्यालय, धरानमा – प्रदेश प्रमुख सचिवालय र निवास– छुट्टिएको रकम– ३ करोड– चार भवनमा ३६ कोठा हुनेछन् ।
२. भीभीआईपी गेस्ट हाउस, बीपी प्रतिष्ठान– प्रदेश मुख्यमन्त्रीको कार्यालय र निवास– छुट्टिएको रकम– ३ करोड १२ वटा कोठा हुने ।
३. धरान सभागृह– प्रदेश सभा र सचिवालय– ५ करोड– ८ वटा कोठा
४. कृषि विकास बैंकको भवन– प्रदेश सभामुख र उपसभामुखको निवास– ३ करोड– २२ कोठा– ३ वटा भवन
५. इलाका प्रशासन कार्यालय धरान– प्रदेश मन्त्रालय, कार्यालय र निवास– ३ करोड– १० वटा कोठा– २ वटा भवन
६. नेपाल टेलिकम, धरान– प्रदेश मन्त्रालयका २ कार्यालय– २ करोड– ७ वटा कोठा भएको
७. पुरानो अस्पताल छाताचोक– प्रदेश मन्त्रालयका ४ कार्यालय र निवास – २ करोड
८. पुल योजना पूर्व क्षेत्र सेक्टर नं. १, धरान– प्रदेश मन्त्रालयका ४ कार्यालय र निवास– ३ करोड– ९ कोठाका दुई भवन
९. बीपी प्रतिष्ठान धरानको स्वामित्वमा रहेको निर्भाना कन्ट्री क्लब– प्रदेशका अन्य मन्त्रालय र निवास– ६ करोड– ३ भवनमा ३० कोठा भएको

 

 


पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved