धरान बन्दैछ प्रदेश नं. १ को राजधानी: यस्ता छन् विकल्पसहितका आधार (सचित्र हेर्नुहोस)

  • प्रकाशित मितिः पुष, ३, २०७४
  • पहिलो किताब संवाददाता

धरान । प्रदेश १ को राजधानी बनाउने विषयमा मौन बसेको धरान तातेको छ । राजधानी बनाउने विषयमा पूर्वको विराटनगर, इटहरी र धनकुटाले दावी र विरोध गरिरहँदा धरान भने मौन रहेको थियो ।

अब भने आधारसहित धरानले राजधानीको लागि दाबी गरेको छ । राजधानीको लागि विरोध र आन्दोलन समेत सुरु भैसकेको अवस्थामा धरान उपमहानगरले भने प्रदेश नम्बर १ को लागि धरान नै उपयुक्त स्थान भएको भन्दै उपयुक्त स्थानको विकल्पसहितको आधार प्रस्तुतसमेत गरेको छ ।

सुनसरीको धरानमा सोमबार बिहान पत्रकार सम्मेलन गरेर उपमहानगरले प्रदेश नम्बर १ राजधानी धरान नै उपयुक्त भएको दाबी गरेको छ । उपमहानगरकी उपमेयर मन्जु भण्डारीले धरानमा राजधानी बनाउन भौतिक पूर्वाधार पर्याप्त रहेको बताए । वातावरणीय, भौगोलिक अवस्था र पूर्वाधारको आधारमा सबैभन्दा उत्कृष्ट धरान भएको दाबी गरिएको छ ।

प्रदेशको राजधानी बनाउन कहाँ भनेर विवाद गर्ने होइन, सबैभन्दा उपयुक्त र सबैलाई पायक पर्ने स्थान भनेको धरान नै भएकाले सबैको ध्यान राजधानी बनाउन धरानतिर केन्द्रित हुनु पर्ने उपमेयर भण्डारीले आग्रह गरेकी छन् ।

प्रदेश सभा र प्रदेश सरकारको लागि कार्यालयहरु राख्न सकिने पूर्वाधारको अवस्थाको विषयमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । प्रदेश सभाको सचिवालय, सभाहल, सभामुख र उपसभामुखको कार्यालय, मन्त्री निवास, मन्त्रालय राख्न सकिने विकल्पसहितका आधार धरान उपमहानगरले प्रस्तुत गरेको छ ।

जसअन्तर्गत धरान ८ को सभागृहलाई प्रदेश सचिवालयको सचिवालय र सभाहललाई उपयुक्त स्थान रहने जनाएको छ । त्यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरभित्र रहेको निर्वाणा कन्ट्री क्लबको भवन सभामुख र उपसभामुखको कार्यालयसहित मन्त्रीको कार्यालय राख्न उपयुक्त हुने भनेको छ ।

मन्त्रीहरूको कार्यालय राख्नको लागि भने नेपाल टेलिकम, मालपोत तथा नापी कार्यालयको भवन, क्षेत्रीय हावापानी कार्यालय, पब्लिक भवन, पुरानो बजारमा रहेको अस्पताल अध्यापनको लागि तयार पारिएको भवन लगायत अरू पनि विकल्प सहितको स्थान तोकिएको छ ।

पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका उपमेयर मन्जु भण्डारीले भनिन्, “धरानमा सबै पूर्वाधार छन्, अन्त धरानको जस्तो विकल्प छैन, त्यसैले हामी स्ट्रोङली लविङ गर्ने छौं , तर सबैको साथ र सहयोगको जरुरी छ ।”

प्रदेश १ को मन्त्री स्तरीय पहिलो बैठक बस्न पनि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनस्र्थापना केन्द्र उपयुक्त हुने बताइएको छ । धरानका राजनीतिक दलहरूको संयुक्त बैठकले धरानलाई राजधानी बनाउन आआफ्नो तह र तप्काबाट लागिपर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

संयुक्त बैठकद्वारा सो कुराको निर्णयसमेत गरेर अघि बढेको नेकपा माओवादी केन्द्रका चोत्लुङले बताए । सबै दलीय निर्णयअनुसार केन्द्रीय सरकारलाई राजधानी बनाउनको लागि पहल गर्न वाणिज्य मन्त्री मीन विकलाई दिइएको छ ।

धरानका सर्वदलीय अध्ययन टोलीले निकालेको निष्कर्ष

प्रदेशका सबै नागरिकलाई कसरी सरल र सहज ढंगबाट राज्यको सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुरा नै राजधानी निर्धारणको मुख्य पाटो हो ।

यस सम्बन्धमा १ नं. प्रदेशका सबै नागरिकलाई पायक पर्ने स्थान कहाँ हुन सक्छ भन्ने विषयमा तुलनात्मक अध्ययन गरिएको छ । मुख्यतः यातायातलाई आधार मानी निष्कर्ष निकालिएको छ ।

यहाँ २६ वटा पहुँच मार्गको अनुमानित दूरी राखी इटहरी, धरान र धनकुटालाई केन्द्र मानी तुलानात्मक अध्ययन गरिएको छ । १ नं. प्रदेशको १४ वटै जिल्लाको सहज पहुँचलाई मध्यनजर गर्दा धनकुटा पुग्ने २६ वटा पहुँच मार्ग मध्ये १३ वटा पहुँचमार्ग धरान हुँदै जानु पर्ने देखिन्छ ।

इटहरी पुग्न समेत १३ वटै पहुँच मार्ग धरान हुँदै जानु पर्ने हुन्छ । यस्तै इटहरी हुँदै धरान धनकुटा जान ९ वटा पहुँचमार्ग पर्दछ भने धनकुटा हुँदै धरान इटहरी आउन ९ वटा पहुँचमार्ग पर्दछ । धनकुटामा पहाडी जिल्लाबाट आउने ११ वटा पहुँचमार्ग छन् भने इटहरीमा तराई अन्य पहाडी जिल्लाबाट आउने १४ पहुँचमार्ग छन् ।

यस्तै धरानमा सिधै जोडिने पहाडी हिमाली जिल्लाको पहुँचमार्ग ११ वटा छन् ।

तसर्थ यातायत सुविधाको हिसाबले १ नं प्रदेशको केन्द्र धरान नै देखिन्छ । धनकुटाको दक्षिण साँगुरीगढी चौबिसे गाउँपालिकालाई अहिले नै धरान पायक परिरहेको छ ।

तमोर कोरीडोर र रविराँके सडक पिच भएपछि इलामको पूर्वी भेग, ताप्लेजुङ र पाँचथरका नागरिकलाई पनि धरान नै पायक पर्ने देखिन्छ । यस्तै भोजपुरको दक्षिण पश्चिम क्षेत्र, खोटाङको पूरै दक्षिण क्षेत्रलाई अहले नै धरान पायक परिरहेको छ ।

निर्माणधिन तमोर कोरीडोर, सुनकोसी कोरीडोर, लेगुवा–चतरा कोरीडोर, सगरमाथा लोकमार्ग, कटारी–गाईघाट–चतरा–धरान–केराबारी–मधुमल्ला वैकल्पिक लोकमार्ग निर्माण पूरा भएपछि धरान नै १ नं. प्रदेशको सबै नागरिकका लागि सबै भन्दा पायक पर्ने देखिन्छ ।

मुख्यमन्त्रीको कार्यालय धरानमा राखी अन्य कार्यालयहरू सुनसरीको इटहरी, तरहरा, वराहक्षेत्र, मोरङको सुन्दरदुलारी, ईन्द्रपुर, केराबारी, उदयपुरको रामपुर, बेलटार र पर्यटनसम्बन्धी कार्यालय धनकुटाको साँगुरीगढी, भेडेटारलगायतमा स्थानमा राख्दा सबैलाई समेट्न सकिने देखिन्छ । यी क्षेत्रहरू धरानको २० किमीभित्र पर्ने हुँदा वैज्ञानिक हुने समेत देखिन्छ ।

प्रस्तावित एवं संभावित कार्यालयहरु

फोटो १ – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पुनःस्थापना केन्द्र र सभाहल (प्रस्तावित सभाहल र सचिवालय भवन )

फोटो २ – आन्तरिक राजस्व कार्यालय धरान (मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय (प्रस्तावित)

फोटो ३ – धरान ८ को सभागृह (प्रस्तावित प्रदेश सभा सचिवालयको भवन )


पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved