पूर्वमै हुन्छ मुटु रोगीको सफल उपचार

  • प्रकाशित मितिः आश्विन, 12, 2075
  • पहिलो किताब संवाददाता

सुनसरी / निजी लगानीमा खुलेका विराटनगरका अस्पतालमा मुटु रोगीको सफल शल्याक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका विरामीको चाप बढ्न थालेको छ । ठूलो लगानीसहित अस्पतालले मुटुको जटिल समस्या देखिएका विरामीको उपचारमा आवश्यक प्रविधि भित्र्याएसँगै रोगीलाई सरकारले आर्थिक सहयोग प्रदान गर्न थालेपछि सेवा लिन आउने मुटु रोगीको संख्या बढेको हो ।

मुटुमा जटिल समस्या देखिएका विरामीका लागि गरिनुपर्ने कोरोनरी तथा रेनल एन्जियोग्राफी, एन्जियोप्लाष्टि र पेसमेकर प्रत्यारोपण (मुटुको चाल बढाउन राखिने ब्याट्री) जस्ता जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ ।

कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा.निकेश राज श्रेष्ठका अनुसार मुटुको भल्वमा पर्ने प्वालको परीक्षण गर्ने प्रविधिलाई एन्जियोग्राफी, मुटुको नशामा जम्ने रगत खोल्ने पद्धतीलाई एन्जियोप्लाष्टि र मुटुको चाल बढाउन मुटुमा ब्याट्री राखिने पद्धतीलाई पेशमेकर भनिन्छ ।

‘तिमी बाचा गर; मेरो मुटु तिम्रो मुटु’ भन्ने नारासहित विश्व मुटु दिवस मनाईरहँदा आम नागरिकमा मुटु जोगाउने विषयमा सचेतना जरुरी रहेको डा.श्रेष्ठको भनाई छ ।

पूर्वमा सातवर्ष अगाडी धरानस्थित विश्वेश्वरप्रसाद कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगीको उपचारका लागि ‘क्याथल्याब’ सञ्चालनमा ल्याइएको थियो । सरकारी अस्पतालको यो सेवासँगै विराटनगरको न्यूरो–कार्डियो अस्पताल र नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा मुटु रोगीको उपचारको लागि आवश्यक विशेषज्ञसहित प्रविधियुक्त ‘क्याथल्याव’ सञ्चालन आएका छन् ।

न्यूरो–कार्डियो अस्पतालले चारवर्ष र नोबेल मेडिकल कलेजले एकवर्ष अगाडीदेखि मुटु रोगीको सफल शल्याक्रिया र उपचारसहितको सेवा प्रदान गर्न थालेका हुन् । न्यूरो–कार्डियोमा तीनजना विशेषज्ञ चिकित्सकसहितको टोलिले मुटुसँग सम्बन्धित सबै खाले विरामीको सफल शल्याक्रिया गर्दै आएका छन् भने नोबेल अस्पतालको क्याथल्याबमा समेत उपचार सुरु भईसकेको छ ।

कार्डियोलोजिष्ट डा.श्रेष्ठका अनुसार मुटु रोगलाई जटिल समस्या मानिएका कारण यसको उपचार खर्चिलो छ । खर्चिलो भएकाले आम नागरिकको पहुँचमा नहुँदा हृदयघातले मर्नेको संख्या वर्षेनी बढ्दै गएको छ । पछिल्लो समय मुटु रोगको उपचारमा सरकारी सहयोग कोशेढुंगा सावित हुँदै गएकोले विरामी समेत अस्पतालसम्म आउन थालेका हुन् ।

धरानस्थित वि.पी.प्रतिष्ठानमा यो सेवा आउनु अगाडीसम्म आर्थिक पहुँच र क्षमता भएका पूर्वका विरामी भारतको गुहाटी, कलकता र पटनासम्म जाने गरेको डा.श्रेष्ठ बताउनुहुन्छ । तर, धरानस्थित वि.पी.प्रतिष्ठान र काठमाण्डौंस्थित ग्राण्डि, विराटनगरको न्यूरो–कार्डियो र नोबेल अस्पतालमा भित्रिएको सेवासँगै भारत जाने नेपाली विरामीको संख्या घट्दै गएको थियो ।

पछिल्लो समय न्यूरो अस्पतालमा अत्याधुनिक प्रविधिसहितको ‘क्याथल्याब’ सञ्चालनमा आएपछि भने भारतकै विरामी समेत नेपालमा आएर मुटुको शल्याक्रिया गराउन थालेको डा.श्रेष्ठको भनाई छ । डा.श्रेष्ठका अनुसार पछिल्ले चारवर्षको अवधीमा एक हजार दुई सय ४१ जना मुटु रोगीले न्यूरो–कार्डियो अस्पतालबाट सफल शल्याक्रिया तथा उपचार सेवा लिएका छन् ।

जसमध्ये कोरोनरी एन्जियोग्राफि एक हजार १० जनाले गराएका छन् । एन्जियोग्राफी गर्नेमध्येका ३ सय ८५ विरामीको एन्जियोप्लाष्टि गरिएको छ ।

यसैगरी मुटुको चाल बढाउन ८५ जना विरामीमा अस्थायी र ५८ जना विरामीमा स्थायी प्रकृतिको ब्याट्री यसै अवधीमा राखिएको छ । त्यस बाहेक ६ जनाको रेनल एन्जियोग्राफी र ३ जनाको रेनल एन्जियोप्लाष्टि गरिएको डा.श्रेष्ठ बताउनुहुन्छ ।

मुटुमा समस्या उत्पन्न भएपश्चात रोगीमा देखिने लक्षण बारेको ज्ञान थाहा नहुँदा मुटुलाई बचाउन सकिदैन । कतिपय अवस्थामा भने विषय विशेषज्ञ भन्दा बाहेकाका चिकित्सकले समेत मुटुको समस्या यकिन गर्न नसक्दा अस्पतालमै विरामीले रोग पालेर बस्नुपर्ने अवस्था समेत रहेको डा.श्रेष्ठको भनाई छ ।

कुनैपनि अस्पतालमा भर्ना भएका मुटुमा समस्या भएका विरामीको लक्षण हेरेर तत्काल विशेषज्ञ चिकित्सकसम्म उपचारमा पठाउने संस्कार चिकित्सकमै नभएको उहाँको आरोप छ ।

खानपीन तथा शारिरीक कसरत अभावले निम्त्याउने हृदयघातका विरामीको दाँया भागतर्फको छाती क्रमशः दुख्दै दाँया हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नका लागि डा.श्रेष्ठको आग्रह छ । त्यस बाहेक पनि मुटुको नलीमा हुने समस्या, भल्वमा पर्ने प्वाल र नली पुरिने, मुटुकै मांसपेशीमा देखिने समस्या र उच्चरत्तचाप र मधुमेहका विरामी हृदयघातको उच्च जोखिममा हुने गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved