स्टुडियोमै झ्यालको पर्दा ओढेर धेरै सुतिएको छ—गिरीराज भट्टराई

  • प्रकाशित मितिः माघ, 6, 2074
  • पहिलो किताब संवाददाता

गिरीराज भट्टराई बिगत डेढ दशकदेखि सञ्चारक्षेत्रमा क्रियाशील सञ्चारकर्मीको नाम हो । दमकस्थित सप्तरंगी एफएम प्रमुख तथा कुशल कार्यक्रम संचालक रहेका भट्टराई नेपाल प्रेस युनियनका झापा सचिव पनि हुन् । भट्टराईले रेडियोमात्र होइन, रेडियो बाहिर पनि ठूला सभा समारोह कार्यक्रमहरूमा पनि कार्यक्रम सन्चालन गरेर अनुभव संगालिसेका छन् । उनी रेडियो तालिमका प्रशिक्षक पनि हुन् । मोफसलमा रहेर सञ्चार क्षेत्रमा रहेर निकै संघर्षबाट स्थापित भएका गिरीराज बारे हामीले जान्ने प्रयास गरेका छौं ।

तेह्रथुम जिल्लाको तत्कालीन श्रीजुङ गाउँ पञ्चायत हाल मेन्छेयाम गाउँपालिकामा २०३८ सालमा भट्टराईको सामान्य परिवारमा हुर्किएका उनको पहाडमा हुँदा बर्षदिन सम्म खान पुग्ने धान नै फल्दैन थियो । हुन त म धेरै समय पहाड नबसेका उनी ७ बर्षको छँदा बसाईं सरी झापाको बालुबाडीमा आए । पहाडमा रहँदा वर्ष दिनसम्म खानै नपुग्ने भएपछि परिवारसँगै उनी तराई झरेका हुन् । पुख्र्यौली पेशा कृषि नै थियो । सामान्य मध्यम वर्गीय परिवारमा जन्मिएका उनले जीवनका धेरै उतारचढावलाई राम्रैसँग देखे ।

यहाँ हेरौं आफ्नो कथा यसरी कहन्छन्, गिरिराज भट्टराई–

मेरो बाल्यकालको केही समय पहाडमा बित्यो । हुन त मेरो बुबा म २ बर्षको छँदै सबै परिवारलाई लिएर झापा झर्नु भएको हो । तर म भने तराई आएर पनि पुनः हजुरबुबा सँग पहाड नै गएँ । मेरो पढाइको सुरुआत पहाडमै भएको हो । मेरो हजुरबुबा त्यहीँको श्रीजुङ स्कुलमा पढाउनु हुन्थ्यो । अहिले त त्यस स्कुलमा पनि १२ कक्षासम्म पढाइ हुँदो रहेछ । त्यतिखेर कक्षा ७ सम्म मात्रै थियो । त्यही स्कुलमा मैले अक्षर चिन्ने मौका पाएँ । म सानो हुँदा नै हजुरबुबासँग बस्तु चराउन जंगल जान्थेँ । हजुरबुबाले मलाई जंगलमै पढ्न सिकाउनु हुन्थ्यो । पछि २०४५ सालमा हजुरबुबा लगायत सबै तराई झरे पछि मेरो बाल्यकाल झापाको बालुबाडीमै बित्यो । सामान्य बालकहरूको जस्तै मेरो पनि गाउँमा बाल्यकाल बितेको हो । साथीहरूसँग बस्तु चराउन जानु पर्ने । ९ बर्षको उमेरदेखि बुबालाई खेत जोत्ने लगायतका काममा सघाउने । यस्तै हो । तर घरमा जति काम भए पनि हाम्रा बुबा आमाले आप्mना सन्तानलाई स्कुन जान भने रोक्नु भएन । बरु आपैंm काममा खटिनु भयो तर मेरा दुई जना दिदीहरू र मेरो भाइसहित हामी चार जना सन्तानलाई स्कुल पठाउनु भयो । घर बाट आधा घण्टाको हिँडाइबाट स्कुल पुगिन्थ्यो । स्कुल जाने बाटो थिएन । खेतको आलीबाट हिँड्नु पर्ने । बर्खाको समयमा भने धेरै समस्या हुन्थ्यो । बर्खामा खेतको आलीमा हिँड्दा कृषकहरूले भर्खरै लगाएको हिलो आली सबै भत्किन्थ्यो । त्यही भएर कतिपय ठाउँमा मुनीबाट काँडा ओछ्याएर आली लगाउँथे । त्यतिखेर खुट्टामा चप्पल लगाउन पनि पाइँदैन थियो । खाली खुट्टाले हिलो आली टेक्दा भित्र रहेको काँडाले घोच्थ्यो ।

पछि ६ कक्षामा पुगे पछि हाम्रो पढाइ बिहान हुन थाल्यो । बिहान ६ बजे नै स्कुल पुग्नु पर्ने । साढे १० बजे स्कुल छुट्टी भएपछि आएर खाना खाई बस्तु चराउन जानु पर्ने । पहाडबाट तराई झरेपछि भने बर्षदिन भरी खानै भने समस्या भोग्नु परेन । बुबाले अर्काको खेत कमाई गरेर पनि कहिल्यै हामीलाई भोको र नाङ्गो राख्नु भएन । यस्तै समान्य रूपमा बितेको हो मेरो बाल्यकाल ।



सञ्चार माध्यममा पाइला
पहिल्यै देखि गीत संगीतमा मेरो रुचि थियो । रेडियो असाध्यै धेरै सुन्थेँ । तत्कालीन समयमा रेडियो नेपाल मात्रै थियो । पछि कहिले काहीँ काठमाडौं जाँदा एफएम सुन्न पाइन्थ्यो । पछि झापामै बिर्तामोडमा कञ्चनजंघा एफएमको सुरुआत भयो । त्यसबाट स्रोता क्लब गठन भए हामीले पनि बालुबाडीमा एउटा स्रोता क्लब गठन गर्यौं । म त्यसको सचिव भएँ त्यहीबाट सञ्चारमाध्यममा मेरो प्रवेश भयो । गाउँठाउँमा भएका घटनाहरू समाचारको रूपमा कञ्चनजंघा एफएममा पठाउँथेँ । गाउँमा विभिन्न सांगीतिक कार्यक्रम सञ्चालन गर्थें । पछि झापाको दमकमा सप्तरङ्गी एफएम खुल्ने भयो काम गर्न चाहनेका लागि तालिम खुलेको छ भन्ने सूचना पत्रिकामा देखियो । गाउँका साथीले कार्यक्रम संचालन गरेको देखेका थिए । राम्रै हुँदो हो सायद । तिमीले पनि रेडियोमा कार्यक्रम संचालन गर्न सक्छौ जाउ भन्न थाले । म त्यतिखेर गाउँमै जिल्ला विकास समितिको सामाजिक परिचालक र एउटा एन्जीओमा काम गर्थें । कमाई रामै्र थियो । तर पनि तालिम लिन आएँ । ३ सय जना जति थियौं तालिम लिने त्यतिखेर रेडियोको क्रेज एकदमै धेरै थियो । तालिम पछि रेडियोमा पूर्णकालीन कर्मचारी राख्ने भन्दै ११ जनाको नाम निस्कियो त्यसमा मेरो पनि नाम रहेछ । त्यहीँबाट सञ्चारमाध्यममा पूर्ण रूपमा प्रवेश गरियो ।

हाल सम्म मैले कञ्चनजंघा एफएममा स्रोता क्लबको सचिवको रूपमा काम गरेँ । तर सञ्चारमाध्यममा कर्मचारीका रूपमा भने म सप्तरङ्गी एफएममा मात्रै हो काम गरेको ।

रेडियोमा बोल्दा गुलाबको फूल पाएँ
पहिलो पटक रेडियोमा बोलेको भनेको कर्मचारीको रुपमा नभएर अन्तर्वार्ता दिनका लागि हो । कञ्चनजंघा एफएममा स्रोता क्लबको गतिविधि र गाउँको अवस्थाको बिषयमा कुराकानी गर्न पाइन्थ्यो । त्यस क्रममा मैले दुई पटक रेडियोमा बोल्ने अवसर पाएको थिएँ । पछि सप्तरङ्गी एफएममा आएपछि कार्यक्रम सञ्चालकको रूपमा बोलेको हुँ । पहिलो पटक बोल्दा एकदमै खुसी, अनौठो क्षण बनेको थियो । रेडियोमा पहिलो कार्यक्रम सञ्चालन गरेँ । रिसेप्सनमा मलाई भेट्न स्रोताहरु आउनु भएको रहेछ गुलाबको फुल बोकेर, मलाई एकदमै सरप्राइज जस्तो भयो, खुसी लाग्यो । विज्ञापनमा आफ्नो आवाज सुन्दा अचम्म लाग्यो । मेरो आवाज यस्तो पो रैछ भने जस्तो भयो ।

खासमा मेरो यो नै बन्छु भन्ने केही त्यस्तो सपना त थिएन । तर पनि रेडियो धेरै सुन्ने र रेडियोसँगै गीत गाउने गर्थें । खेतमा जोत्न जाँदा पनि आलीको डिलमा रेडियो ठूलो आवाजमा राखेर जोतिरहन्थें, गीत गुन्गुनाउँथेँ । त्यतिबेला चाहिँ गायक बन्छु भन्ने लाग्थ्यो । तर अहिलेको बच्चाको जस्तो पछि यस्तो बन्ने त्यसको लागि अहिले यो पढ्ने भन्ने च्वाइस नै हुँदैन थियो । कुनै ठूलो सपना थिएन । जीवनले डोर्याउँदै यहाँ ल्याइपुर्याएको हो ।

म यो क्षेत्रमा आफैं आएको हुँ । बिषेश गरी पत्रिकामा विज्ञापन देखेपछि साथिले धेरै कर गरे । म भित्रको आत्मविश्वासलाई बढाउन साथीहरूको प्रेरणा हो । अब यसलाई संघर्ष भन्ने वा मिहिनेत भन्ने । रेडियोमा काम गर्दा सुरुआतका दिनमा तलब पनि धेरै हुँदैन थियो । महिना भरिको कमाइ खाना खाएको होटल र कोठा भाडा तिर्न पनि गारो हुन्थ्यो । सुरुमा रेकर्डिङ स्टुडियो एउटा मात्रै हुँदा दिनभर कार्यक्रम सकेर राती १० बजेपछि रेडियो बन्द भए पछि बिज्ञापन रेकर्ड गर्नु पथ्र्यो । राति १–२ बज्थ्यो काम सक्दा । अनि स्टुडियोमै झ्यालको पर्दा ओडेर धेरै सुतिएको छ । मोबायल फोनको सुबिधा थिएन । कार्यक्रमको बिषय खोज्न गाउँ गाउँ पुग्नु पथ्र्यो । अब यसलाई संघर्ष भन्दा पनि मिहिनेत भनौं क्यारे । रेडियोमा बिदा हुँदैन हप्तामा सातै दिन दैनिक १७ घण्टा सम्म काम गर्नु पर्छ । ११ बर्ष देखि यो क्रम निरन्तर जारी छ ।



सञ्चार क्षेत्रको जिम्मेवारी
मेरो राम्रो काम यो भनेर आफैं भन्नु चाहिँ अलि गाह्रो हुन्छ । त्यो समाजले मुल्यांकन गर्ने कुरा हो । आफ्नो जिम्मेवारी रामै्र संग निभाएको छु भन्ने लाग्छ । तर पनि मैले उत्पादन र प्रसारण गरेका कतिपय रेडियो कार्यक्रमले कतिपय व्यक्तिको जीवन परिवर्तन भएको देख्दा भने खुसी लाग्छ । समाजले पछि पारेको समुदायको आवाजलाई रेडियो मार्पmत ल्याएको छु । रेडियोमा ६ बर्ष सम्म निरन्तर “आउ मिलाउँ हातहरु” नामक कार्यक्रम सञ्चालन गरें । जसमा एचआईभी एड्स संग सम्बन्धि जानकारी साथै संक्रमीत हरु संग कुराकानी, तेस्रो लिङ्गीहरु संग कुराकानी, उहाँहरुको समस्या, लागुऔषध दुव्र्यसनमा लागेकाहरुको समस्या तथा छुटकारा पाउने उपाय लगायतका बिषयहरु उठाएको छु ।

मैले गरेको काम प्रति मलाई अहिलेसम्म नराम्रो अथवा पछुतो मान्नु परेको छैन । कतिपय समयमा झनै अभैm भने जति गर्न सकिएन भन्ने चाहिँ लागि रहन्छ ।

आफूले आफैंलाई हेर्दा
मेरो आफ्नै नजरमा त म एक सामान्य व्यक्ति हुँ । अरुको दुखमा रुने, सकारात्मक सोच भएको, कसैलाई नराम्रो गरौं भन्ने सोच नभएको, सकेको सहयोग गरौं भन्ने भावना भएको सामान्य व्यक्ति हुँ । रमाईलो गरिरहने, हाँसिरहने, एक्लै बस्न नसक्ने यस्तै यस्तै ।

म चाहेर अरुलाई नराम्रो गर्न चाहन्न । साँच्चै मनै बाट भन्नु पर्दा मैले कतिपय समयमा गरेका कामले कसैलाइ अफठयारो एको छ भने त्यो मैले चाहेर भएको हैन । म कसैलाई बिझाउन वा नराम्रो गर्न चाहँदीन मन सकारात्मक छ । तर कहिले परिवेस त्यस्तै बन्छ कि मैले गरेको कामले कसैलाई अफ्ठ्यारो पर्न सक्छ । मलाई सकारात्मक रुपमै चिनिदिनु होला । म अत्यन्तै सकारात्मक सोच भएको मान्छे । मनमा कुनै शंका नभएको, कुनै काममा लागें भने पुर्ण समर्पित भएर लाग्छु । आफ्ना लागि उपलब्धि सानै हुन्छ भने पनि काममा कुनै कन्जुस्याईं गर्दिन । यहिनै हो जस्तो लाग्छ ।

म अत्यन्तै चाँडै विश्वास गर्छु मेरो ठुलो कमजोरी यहिनै हो जस्तो लाग्छ । अनि कहिले काँही आफ्नो कुरा कसैलाई भन्दा उसलाई समस्या पो हुन्छ की भन्ने लागेर खुलेर भन्न सक्दीन । बरु आँपैm आफ्नो समस्या समाधान गर्न पट्टि लाग्छु त्यसले गर्दा कतिपय समयमा आँपैmं सस्यामा पर्ने गरिएको छ ।

कसैको बोली व्यवहार, उसका गतिबिधि नै हुन्, मैले कसैको बारेमा धारणा बनाउने तत्व । कुनै एउटा घटनाबाट मात्रै कसै प्रतिको धारणा बनाउनु गलत हुन्छ । उसका समग्र गतिबिधिलाई अध्ययन गर्नु पर्छ । अनि मात्रै कसै प्रतिको धारणा बनाउन सकिन्छ ।

मेरो आफ्नो स्वभाव निर्माणको कुरो गर्दा सकारात्मक सोच हावि छ जस्तो लाग्छ । मैले आफैंलाई हेर्दा मलाई रिस उठेको अहिले सम्म थाहा छैन । म रिसाउँदिन । म अत्यन्तै भावुक मान्छे हुँ । कसैको दुःखको क्षण देखियो भने भावुक भैहाल्छु । अरुको समस्यामा भावुक हुन्छु । चलचित्र हेरेर त धेरै पटक रोएको छु । मेरो बाल्यकार बितेको ठाउँ जन्म ठाउँ सम्झँदा भावुक बन्छु । बाल्यकालका साथीहरू सम्झँदा भावुक बन्छु ।

खै केलाई दुख भन्ने ?
म खासै उत्तेजित हुँदीन । चर्को कुरा गर्न र उत्तेजनामा आउन मलाई मन पर्दैन र अहिले सम्म कसै संग चर्को गरी बोलेको पनि छैन ।

म संयमितनै छु जस्तो लाग्छ । कुनै कुराको तत्कालै प्रतिक्रिया दिन मन लाग्दैन । म हर क्षण खुशीनै हुन्छु । खुशी त जतिखेर पनि हुन सकिन्छ नी । खै केलाई दुःख भन्ने । मलाई जीवनको दुःख नै यही हो भन्ने अहिलेसम्म कुनै विषय लागेको छैन ।
सुख त अनुभूती गर्ने हो । सुखको परिभाषा कसरी गर्ने ? दिन भरि अफिसमा हुँदा कर्मचारी टिमसँग काम गर्दा पनि सुख नै हुन्छ । साँझ परिवारसँग सँगै बसेर खाना खाँदा पनि सुखकै अनुभुति हुन्छ । त्यसलाई त महसुस गर्ने हो । आफ्नो काममा इन्जोय गर्यो, जीवनमा इन्जोय गर्यो भने हरेक क्षण सुखानुभूती हुन्छ । जीवनकै दुःखको क्षण त अहिले सम्म महसुस गरेको छैन । काम नगरी कसैलाई पुग्दैन । गरेको कामलाई कसरी दुख भन्नु ? घर परिवारसँग संगै बसेर रमाउन पाउँदा खुसी हुन्छु ।



प्लान बनाएर जीवन जिइनँ
जीवनमा अहिलेसम्म आइपरेको त्यस्तो अप्ठ्यारो मोड नै त कुनै छैन । कुनै प्लान बनाएर जीवन जिएको हैन । आफ्नो कर्म गर्दै जाँदा अगाडि जे आउँछ त्यहीलाई सामना गर्दै आईयो । त्यसैले त्यस्तो अप्ठ्यारो मोडनै छैन । न कुनै प्राप्त गर्ने आकांक्षा थियो न कुनै महत्वकांक्षा छ । कुनै ठुलै महत्वाकांक्षा राखेर हिँड्ने हो भने त्यो प्राप्त नहुँदा अप्ठ्यारो मोड आयो भन्ने लाग्ला तर जहाँ पुगिन्छ जे प्राप्त हुन्छ त्यसैमा रमाउँदा खासै अप्ठ्यारो मोड आयो भन्ने नै नहुँदो रहेछ ।

‘संचारक्षेत्रमा आउँदा मोटरसाइकल पनि बेचेँ’
मैले बालुबाडीमा हुँदा राम्रै कमाई थियो । २ ठाउँ जागिर खान्थें आज भन्दा १२ बर्ष अघि मोटर साईकल चढेर हिँड्नु ठुलै उपलब्धि हुन्थ्यो म त्यतिखेर आफ्नै मोटरसाईकल चढेर हिँड्थें तर यहाँ दमक आउँदा मैले ती सबै छाडेर भएको मोटरसाईकल पनि बेचेर आएको हुँ । कमाईको हिसाबमा त्यतिखेर रेडियोमा कमाई थिएन ।

तर पनि मैले त्यतिखेर सहिनै निर्णय गरेंछु भन्ने लाग्छ । मैले अहिले सम्म कुनै पनि ठुलो गलत निर्णय गरेको छैन जसले आज सम्म पिर मानेर बस्नु परोस् । जीवनको कुनै कामप्रति पनि अहिलेसम्म पछुतो मान्नु परेको छैन । त्यस्तो धेरै रोएको त हैन तर आँशु भने चाँडै झर्ने गर्छ । चलचित्र हेर्दा धेरै रुने गर्छु । टिभी हेर्दै गर्दा पनि अलि इमोसनल दृष्य आयो भने आँशु झरिहाल्छ । अन्तिम पटक रोएको ठ्याक्कै कारण त छैन तर सायद चलचित्र हेर्दा रोएँ कि ?

मनपर्छ– मनपर्दैन
सबै संग घुलमिल हुन सक्ने । गम्भीर भन्दा पनि रमाइलो खालको मानिस मलाई मन पर्छ ।

पुरै मन नपर्ने मान्छे भन्ने त्यस्तो कोही मान्छेनै हुँदैन सबैको आफ्नो आफ्नो बानी हो । कसैको केहि कमजोरी भए पनि कुनै पक्ष राम्रो हुन्छ । सबैको कुनै न कुनै कमजोरी हुन्छ । त्यो मेरो पनि होला, सर्बगुण सम्पन्न भन्ने कोही हुँदैन । त्यसैले यस्तो मान्छे मन पर्दैन भन्ने छैन ।

म कसैलाई पनि घृणा गर्दिन सबैको आ–आफ्नो बानी हुन्छ । मेरो जस्तो बानी भएन भन्दैमा घृणानै गर्नु पर्छ भन्ने हैन । मेरो बानी व्यहोरा पनि सबैलाई मन पर्छ भन्ने छैन । त्यसैले मान्छेलाई घृणा गर्ने भन्दा पनि कसैका कुनै व्यवहार भने नराम्रा हुन्छन् तर मान्छे नै घृणित चाहीँ हुँदैन ।

खासै फुर्सद त हुँदैन । आफ्नो नियमित डिउटी देखिबाहेक पनि हरेक दिन कुनै न कुनै कार्यक्रम भैरहेकै हुन्छ सहभागी हुनु पर्ने तर पनि कहिले काहिँ फुर्सद निकालेर साथिभाई संग गफगााफ वा घुमफिर परिवार संग घुमफिर गर्ने गर्छु ।
पत्रकारीता बाहेक मेरो रुचीको क्षेत्र गायन हो । ४ वटा जति लोक गित आफ्नै आवाजमा रेकर्ड पनि गराएको छु । एक्लै भएँ भने कहिले काहिँ गाएर पनि बस्छु ।
प्राय सबै पुष्तक मन पर्छन । तर अहिले सम्म धेरै मन परेको भनेको लक्ष्मिप्रसाद देवकोटाको मुना–मदन र कृष्ण धराबासीको मानिश हराएको सुचना कथा संग्रह हो ।

मैले पढेको पुस्तक
अहिले चाहिँ म महात्मा गान्धीको जिवनी र श्रीमद् भागवत गीता पढिरहेको छु ।कृष्ण धराबासीको राधा उपन्यास दोहोर्याएर पढें ।
चलचित्रको कुरा गर्दा पारिवारिक चलचित्र र दक्षिण भारतीय एक्सन चलचित्र धेरै हेर्छु । नेपालीमा दर्पण छायाँ र हिन्दिमा बागवान मेरा मनपर्ने चलचित्र हुन् । दर्पण छायाँ दोहोर्याएर हेरें ।



आदर्श
मेरो आदशर्श त्यस्तो खासै कोही छैन । मेरा अग्रज सबै आदरणीय हुनुहुन्छ । तर बिशेष मेरो गुरु नवराज लम्साल त्यसैगरी यज्ञनिधी दाहाल पनि असाध्यै मन पर्छ ।
मलाई आफैं प्रति कुनै गुनासो छैन । समाजसँग त झन गुनासो हुने कुरै भएन । समाज नभए त हाम्रो अस्तित्व पनि त रहने थिएन । जीवनलाई के भन्ने र परिभाषा आ–आप्mनै हुन्छ । मलाई त अत्यन्तै सुन्दर सृष्टि लाग्छ । रमाइलो लाग्छ ।

बाँकी योजना
त्यस्तो योजना र सपना केही छैन । सधैं समाज र परिवारको लागि केही योगदान दिएर बाँच्न सकौं । मेरो कुनै पनि कार्य र बोलीले कसैको मन नदुखोस । यत्ति हो ।
मैले पत्रकारितामा लागेर धेरै पाएँ । अर्थिक रूपमा मेरो परिवार बाँच्ने, समाजमा मेरो अस्तित्व रहने नै यही पत्रकारिता पेशाबाट हो । म अहिले जहाँ जुन अवस्थामा छु सबै यही पेशाबाट हो । यदि यो पेशामा थिइन भने आज तपाईंसँग यहाँ अन्तरवार्ता दिईरहेको हुँदैन थिएँ । आज भन्दा ११ बर्ष अघि झापाका गाउँबाट रित्तो गोजी लिएर आएको म आज दमकमा परिवार सहित बस्ने अवस्थामा पुगेको छु यो सबै यही पेशा बाट त पाएको हो नी ।

नयाँ आउने पुस्तालाई पूर्ण जिम्मेवारीका साथ यस क्षेत्रमा आउनुहोस् । चुनौतीहरूको सामना गर्न सक्नु भन्ने आँट लिएर आउनु होस । सबै भन्दा धेरै त आफ्नो जिम्मेवारी प्रति समर्पित भएर आउनु होस भविस्य उज्वल छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved