एक नम्बर प्रदेशका प्रमुखमा नियुक्त गोविन्द तुम्बाहाङ (सुब्बा) को हुन् ?

  • प्रकाशित मितिः माघ, 3, 2074
  • पहिलो किताब संवाददाता

धरान/ भाषा शास्त्री गोविन्द तुम्बाहाङ (सुब्बा) लाई नेपाल सरकारले प्रदेश नम्बर १ को प्रदेश प्रमुखमा नियुक्त गरेको छ । ०४१ सालदेखि निरन्तर प्राध्यापनमा रहेका प्राडा तुम्बाहाङ नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का प्राध्यापक हुन् ।

वि.सं. २०१४ साल माघ १४ गते साबिक छथर ताङ्खुवा– ३ बन्चरे हाल छथर जोरपाटी गाउँपालिका– ३ मा जन्मिएका तुम्बाहाङ कुलीन लिम्बू परिवारको प्रतिनिधित्व गर्छन् । राणा र शाहहरूसँग बाजे बराज्यूहरूको सामिप्यताका कारण तुम्बाहाङ पनि हिन्दू रीति रिवाजसँग नजिक रहे । यद्यपि, उनी लिम्बू भाषामा विद्यावारिधि गरेका भाषा वैज्ञानिक हुन् ।

वि.सं. ०४१ सालबाट इलाम महेन्द्र रत्न बहुमुखी क्याम्पसबाट तुम्बाहाङले प्राध्यापन पेशा सुरु गरेका थिए । झण्डै एक वर्षको प्राध्यापनपछि इलामबाट उनी धरान झरे । ०४२ सालदेखि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा उनी निरन्तर प्राध्यापन पेशामा नै रहिरहे ।
वि.सं. ०५८ सालदेखि ०६२ सालसम्म पूर्वान्चल विश्व विद्यालयमा सहडिनका रूपमा जिम्मेवारी सम्हालेका तुम्बाहाङ ०६४ देखि नेपाल नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) मा प्राध्यापन गरिरहेका छन् ।

राजनीतिमा भन्दा बढी समय प्राध्यापन पेशामा समर्पित तुम्बाहाङ ०४६ सालपछि मात्रै नेपाली कांग्रेसबाट राजनीतिमा आएका हुन् । यद्यपि तुम्बाहाङ तत्कालीन जनजाति उत्थान मञ्चसँग आबद्ध रहेर पञ्चायतिरुद्ध गतिविधि समेत गरेको उनलाई बुझ्नेहरू बताउँछन् ।
वि.सं. ०४९ सालको स्थानीय निर्वाचनमा तुम्बाहाङले धरानमा नेपाली कांग्रेसका तर्फबाट मेयरको टिकट पाए । तुम्बाहाङ त्यतिबेला धरानका पूर्व मेयर ध्यानबहादुर राईसँग झिनो मतान्तरले पराजित भए ।
चुनावमा पराजित भएपछि तुम्बाहाङले आफ्नो प्राध्यापन पेशाको लय पुनः समातेका थिए ।

तुम्बाहाङले छथरे लिम्बूको वर्णनात्मक व्याकरण विषयमा विद्यावारिधि (पीएचडी) गरेका हुन् । यसबाहेक उनले ‘अ लिङ्विस्टिक स्टडी अफ छथरे लिम्बू’, ‘अ ग्रामर अफ लिम्बू’, ‘अ ग्रामर अफ छथरे लिम्बू’, ‘मर्सोलोजी अफ आठपहरिया’, ‘सजिलो लिम्बू व्याकरण’ र ‘लिम्बू जातिको चिनारी’ नामक पुस्तक लेखिसकेका छन् ।

सरकारले उनलाई प्रदेश नं. १ को प्रमुखमा नियुक्त गरेपछि अहिले निकै व्यस्त भएका छन् । यस अघि मात्रै उनैका विद्यार्थीका अनुसन्धानपत्र चेकजाँच गरिरहेको तुम्बाहाङलाई अहिले सम्पर्क गर्नसमेत गारो भइरहेको छ ।
आफन्त र शुभचिन्तकको बधाइ थापिरहेका उनी निकै सरल र मिजासिला स्वभावका मानिन्छन् । सरकारको नियुक्तिका बारेमा प्रतिक्रिया दिँदै तुम्बाहाङले भने, ‘संविधानले दिएको अधिकार प्रयोग गरेर संविधानलाई कार्यान्वयन गर्ने पक्षमा लाग्नेछु । अवकाशपछि पनि भाषा विज्ञानमा भने निरन्तर लागिरहन्छु ।’ तुम्बाहाङकी श्रीमति र दुई छोरा एक छोरी छन ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved