कोठेबारीमा राजधानी माग्नेहरू र डा. केसीको अराजकताको पराकाष्ठा

  • प्रकाशित मितिः माघ, 3, 2074
  • लोकराज निरौला



एक जना ‘नत्र’ भन्ने थेगो भएको स्वाँठले बिहे गरेर ल्याएकी नयाँ श्रीमतीलाई जहिले पनि नुहाउने बेलामा तातो पानी तता ‘नत्र’ भन्ने गर्दो रहेछ । नौलो नयाँ मैतालु हुनजेल सम्म त उनले नुहाउने बेलामा तातो पानी तताइदिने पनि गरिछन् ।

पछि निकै पुरानो हुँदै गएपछि पनि उसले नुहाउने बेलामा तातो पानी तता ‘नत्र’ भन्न छोडेनछ । एकदिन श्रीमतीले पनि यसले के चाहिँ गरी हाल्ने रहेछ त भनेर उसले तातो पानी तता ‘नत्र’ भनेपछि उनले पनि ‘नत्र’ के गर्छौ त ? भनेपछि उसले भनेछ नत्र अब चिसै पानीले नुहाउनु पर्ला भनेछ ।

अहिले आफ्नै कोठेबारीमा राजधानी माग्नेहरूको आन्दोलन र चिकित्सा सुधारको आन्दोलन हुँदै सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीको निर्णय बदर गरी उनको राजीनामा माग्दै १४ औं पटक अनसन बस्न लागेको बेला अदालतको अवहेलना गरेको आरोपमा प्रहरीको गिरफ्तारीबाट अदालतमा हाजिर गराइएका त्रिभूवन शिक्षण अस्पतालका सहायक प्रा.डा.गोविन्द केसीको आन्दोलन लगभग त्यस्तै बन्न पुगेको छ ।

यहाँ दुइवटा प्रसंगलाई सिधा जोड्न खोजेको कुरा के हो भने, हिजो संविधान जारी गर्ने बेलामा प्रदेशको नामाकरण र राजधानी तोक्ने सवालमा लामो विवाद हुँदा यो कुरालाई पछि निर्वाचनाबट गठन हुने प्रदेशसभाको बहुमतको निर्णयबाट यसलाई टुंगो लगाउने व्यवस्था सहित संघीय गणतन्त्र नेपालको संविधान २०७२ जारी भयो । त्यसबेला यसको विरोध त भयो तर पछि संविधान जारी भएपछि संविधान जारी हुनु सकारात्मक र उपलब्धीपूर्ण कुरा हो भनेर मधेशकेन्द्रित राजनीतिक दलहरू बाहेक सबैले स्वीकार गरे । फेरि अहिले प्रदेशसभाको निर्वाचन सम्पन्न भएर निर्वाचन आयोगबाट समानुपातिक तर्फको मत परिणाम घोषणा हुना साथ प्रदेशसभाले पूर्णता पाउन लागेको बेलामा ७ प्रदेश मध्ये दुई प्रदेश बाहेक ५ वटा प्रदेशमा आप्mनै कोठेबारीमा राजधानी चाहियो भनेर अनिश्चितकालीन बन्द हड्तालसम्मका आन्दोलन भइरहेका छन् ।
यसरी प्रदेशको नामाकरण र राजधानी तोक्ने सवालमा आन्दोलन र विरोध मात्र भइरहने हो भने अब प्रदेशको नामाकरण र राजधानी सडकको निर्णयबाट हुने कि सदनको निर्णयबाट हुने ?

संवैधानिक व्यवस्थालाई मानेर आधिकारिक निर्णयलाई मान्ने कि प्रदेशसभाको बहुमतको निर्णयबाट हुने निर्णयलाई मानेर जानु पर्दछ ।
एउटा प्रदेशलाई सकेसम्म सबैलाई पायक पर्ने स्थानमा आधारभूत पूर्वाधारयुक्त जुन स्थानमा प्रदेशको राजधानी भएपनि खास केही फरक पर्दैन । यो अहिले आप्mनै कोठेबारीमा राजधानी चाहिन्छ भनेर भइरहेको आन्दोलन भूमिपति उद्योगपति, व्यापारी र चातुर्यता गर्न सक्ने खेलोफड्को गर्नेहरूको आन्दोलन हो । यो आम सर्वसाधारण नागरिकको आन्दोलन होइन । उही अराजक ढंगले आन्दोलनका लागि आन्दोलन गरिरहने हो भने भन्नु केही छैन नत्र यो आन्दोलनको कामै छैन । यतिसम्म हो यो आन्दोलनले अब पूर्णता पाउने प्रदेश सभालाई दबाव हुन सक्छ । संवैधानिक व्यवस्थालाई नमानेर सडकबाट नै प्रदेशको नामाकरण र राजधानी खोज्ने हो भने पछि प्रदेश सरकारले आप्mनो प्रदेशमा शान्तिपूर्ण जनमत संग्रह गरेर पनि केही वर्षमा टुंगो लगाउन सक्छ ।

अब रह्यो चिकित्सा शिक्षा सुधार त्रिवि शिक्षण अस्पताल सुधारको आन्दोलन हुँदै चिकित्सा शास्त्र अध्ययन संस्थामा डिन नियुक्ति सम्बन्धी चार वर्ष पुरानो मुद्दामा डा. शशी शर्मालाई डिनमा पुनर्वहाली गर्ने फैसला सर्वोच्च अदालतले गरेपछि त्यस विरुद्ध डा. गोविन्द केसीले सर्वोच्चका प्रधानन्यायधीश गोपाल पराजुलीको राजीनामा त्रिवि उपकूलपति तीर्थ खनियाँको बर्खास्तीको मागसहित चौथोपटक अनसन सुरु गरेर आन्दोलित हुन लागेका अदालतको अपहेलनामा प्रहरीको गिरफ्तारीबाट सर्वोच्च अदालतमा हाजिर गराइएका डा. केसीका कुरा उनले जुन चिकित्सा शिक्षा सुधार त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी धेरै पटक अनसन बसेर आन्दोलन गरे । उनी त्यस विषय र क्षेत्रसँग सम्बन्धित मान्छे भएकोले यस विषयमा त्यहाँ भएका बेथिति र अनियमितता बारेमा राम्रो ज्ञान थियो र हुन्छ । त्यसमा सबैले विस्वास गर्नु पर्दथ्यो । र उनले चिकित्सा क्षेत्रको सुधारका लागि राम्रै माग उठाएका हुनाले त्यसमा जनसमर्थन थियो ।

सरकारले पनि पटकपटक वार्ता गर्यो, सम्झौता भयो । उनले राखेका माग अनुसार विधेयक संसदमा पेश भएर कानुन बन्न नसकेको अवस्थामा पनि सरकारले अध्यादेशबाट कानन ल्याउने सहमती गरेर उनलाई अनसन तोडाएको थियो ।

अहिले अदालतको फैसला विरुद्ध माग राखेर आन्दोलनमा उत्रेका डा. केसीले अदालतबाट पुनर्वहाली भएका चिकित्सा शास्त्र अध्ययन संस्थाका डिन डा. शशी शर्माको फैसला वदर प्रधानन्यायधीशको राजीनामा समेतको माग राखेर अशिष्ट शब्दहरूको प्रयोग समेत गरेर प्रेस विज्ञप्ति प्रकाशित गरी आन्दोलन सुरु गर्न लाग्दा उनी अदालतको अवहेलना गरेको आरोपमा प्रहरीबाट गिरफ्तार भई सर्वोच्च अदालतसम्म बयान दिन पुगेका हुन् ।

अदालतले कसैको विचार भावनासँग ठ्याक्कै मिल्ने वा राजनीतिक परिवर्तित अवस्था चाहना अनुसारको निर्णय दिन सक्दैन र सकेको छैन । उसले निर्माण भइसकेको कानुन र नजिरलाई टेकेर फैसला गर्ने हुँदा कसैको नयाँ चाहना वा हुनुपर्ने व्यवस्था वा सुधार अनुसारको निर्णय पनि हुन सक्दैन । यति हुँदाहुँदै पनि सर्वोच्च अदालतको निर्णयलाई सम्मान गरेर स्वीकार्नु पर्ने भएता पनि लोकतन्त्रमा त्यहाँ भएका क्रियाकलापमा नागरिकले फरक विचार व्यक्त गर्न, आप्mनो मत व्यक्त गर्ने अधिकारबाट भने बन्चित गर्नु हुँदैन । अदातलाई त्यो विचार वा मत अवैधानिक भएता पनि पछि त्यही मत वा विचार व्यवस्थापिका संसदबाट कानुन बनेर आउन सक्छ , त्यो बेला विचार र मतलाई अदालतले मान्नु पर्दछ । तर केही समय सम्मका लागि मौजुदा कानुनी व्यवस्थालाई मानेर जानु पर्दछ ।

डा. केसीले उठाएका कतिकुरा सही होलान् तर के उनले भनेको जस्तो कसैको राजीनामा, कसैको नियुक्ति, कसैको वरखास्ती, उनले भने जस्तै गर्दै जाने हो भने कसैको नियुक्ति गर्ने, वरखास्तीको अधिकार लिएर बसेका राज्यका संवैधानिक अंगहरूको काम के ? यो त कुनै पनी राज्य सत्ताको आवश्यकता नठान्ने, कानुन हातमा लिन खोज्ने अराजकताको पराकाष्ठा हो । यो उनको प्राज्ञिक विलासिता र अहंकार पनि हो । डा. केसीले उठाएका मुद्दामा अहिले केही काठमाडौंका चिकित्सा स्वास्थ्यकर्मी, डलरे मावन अधिकारवादीहरू, गैरसरकारी संघसंस्थाका भत्ता पचाउनेरू र काठमाडौंमा बसेर विभिन्न अभियान्ताको नाममा बौद्धिक विलास गर्नेहरू लागेका छन् । देशको अन्य भाग र क्षेत्रमा उनको मुद्दाको केही प्रभाव छैन ।
डा. केसीले बुभ्mनु पर्ने कुरा कहाँ छ भने, कुनै पनि वस्तु शतप्रतिशत शुद्ध एवम् स्वास्थ्य र कुनै पनि विचार वा व्यवहार शतप्रतिशत सही हुँदैन ।

मानव चेतनाले बुझेर वा नबुझेर आज शुद्ध र सत्य मानेको कुरा भोलि अशुद्ध र असत्य सावित हुन जान्छ । हामीले सत्यकै मात्र वकालत गर्ने हो भने भुटानी शरणार्थीहरूले सही रुपमा आप्mनो राष्ट्र फर्किन पाउनु पर्दथ्यो तर उनीहरूलाई ठूला शक्ति राष्ट्रहरूले तेस्रो देशमा पुनर्वास गराएर अहिले उनीहरूलाई राज्यविहीन, पहिचान विहिन बनाइयो के यो सत्य हो ? शुद्ध मानवीय व्यवहार हो ? विश्वमानव समुदायमा पुरुषले मात्र धेरैवटी श्रीमती ल्याउन चाहन्छन भन्ने मान्यता छ कोही स्त्रीले म दुईवटा पति राख्छु भनी भने हामी त्यस्तालाई पागलपना ठानी दिन्छौं तर त्यसो होइन जसरी पुरुषहरूले एकभन्दा बढी श्रीमती राख्ने चाहना गर्दछन् त्यसरी नै महिलाहरूले पनि एक भन्दा बढी पति राख्ने इच्छा गर्दछन् तर हामीले यसलाई झुट र गलत ठानिदिएकाले आजसम्म झुट र गलतै छ । तर भोलि कुनै कालखण्डमा समाज र मानव समुदायले सही ठान्छ अनि त्यो सत्यमा परिणत हुन्छ । त्यसकारण डा. केसीले आप्mनो ब्रम्हाले देखेका वा ठानेको कुरा मात्र ठीक र सही ठान्नु आप्mनो मात्र ठीक ठान्नु हुँदैन । त्यसलाई गलत नै भएपनि एउटा विधि प्रक्रिया पूरा गरेर आएपछि त्यसलाई एउटा निश्चित कालखण्ड सम्म स्वीकार्नु पर्दछ । एउटा विधि प्रक्रियाबाट कुनै पनि पदमा वहाल व्यक्ति वा पदाधिकारीलाई त्यसको विधि प्रक्रियाभन्दा बाहिरबाट नियुक्ति, वहाली र बर्खास्ती गर्ने कुरा सही हुन सक्दैन ।

यसैमा अंहकार गरेर आन्दोलन गरिरहने हो भने त्यो स्वाँठले श्रीमतीलाई नुहाउने बेलामा तातो पानी तता ‘नत्र’ भन्ने थेगो जस्तै हुन्छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved