मिलेमतोमा अढाई करोडको जग्गा २२ लाखमा पास

  • प्रकाशित मितिः असार, 22, 2076
  • नवराज कट्टेल

विराटनगर / मालपोत कार्यालय विराटनगरबाट अढाई करोड मुल्य बराबरको जग्गा २२ लाख रुपिँयामा पास गरिएको छ । पहुँचवालासँग कर्मचारी मिलेर नागरिकताको फोटोकपीका भरमा जग्गा पास गरिएको हो । नागरिकताको सक्कल नभएको व्यक्तिले फोटोकपी बुझाएकै भरमा मालपोतका अधिकृत रामबहादुर कार्कीले जमिनको रजिस्ट्रेशन गरेर अर्कैको नाममा पास गराएका हुन् ।

श्रीमान् र श्रीमतीबीच सम्बन्धबिच्छेद, माना–चामल र अशंबण्डा मुद्दा अदालतमा विचराधिन रहेकै अवस्थामा १ बिघा ५ कठ्ठा १५ धुर जमिन अर्कैको नाममा रजिस्ट्रेशन पास गराइएको छ ।
सक्कल नागरिकता नभएका व्यक्तिको नक्कल समेत प्रमाणित गरिएको छैन । फोटोकपीको भरमा अढाई करोड मुल्य बराबरको जमिन २२ लाख रुपिँयाको थैली राखेर बिक्री गराइएको हो ।
मोरङको साविक भाथिगछ गाविस (हाल कटहरी गाउँपालिका) सिट नम्बर १७८/०८६६५ अन्तर्गत २–क–१४४ कित्तानम्बरको जग्गा दुईदिनको अन्तरालमा तीनजनाको नाममा नामसारी गरिएको छ ।

प्रमिलादेवी सुवेदीको नाममा रहेको जग्गा २०७६ बैशाख ३० गते अजय रायको नाममा रजिस्ट्रेशन पास गरिएको देखिन्छ । सुवेदीको सक्कल नागरिकता बिनै फोटोकपी समेत प्रमाणित नगराईकन रायको नाममा रजिस्ट्रेशन गरिएको जमिन दुईदिनपछि रायको नामबाट पुनः नामसारी गरिएको छ ।सुवेदीसँग बैशाख ३० मा जमिन खरिद गर्ने खरिदकर्ता अजय रायको नामबाट जेठ २ गते कृष्णकुमारी निरौला र लक्ष्मी अवालको संयु्क्त नाममा जमिन पास गरिएको छ ।

जमिन पास गर्नका लागि आवश्यक पर्ने कागजात तथा डड्डाको विवरणमा सुरुको जमिनको कारोबारमा र दोस्रो पटकको किनबेचको कारोबारमा साक्षी बस्ने व्यक्ति भने राष्ट्रिय सहकारी बैंकका पूर्व अध्यक्ष रमेश पोरखेल छन् । दुईदिनको अन्तरालमा एकपछि अर्को खरिदकर्ताको नाममा रजिस्ट्रेशन गर्दाको थैली पनि २२ लाख रुपिँया नै छ । कर्मचारीसँगको मिलेमतोमा बद्नियतपूर्ण तरिकाले जग्गाको कारोबार भएको देखिन्छ ।

मालपोत अधिकृत रामबहादुर कार्कीले रजिस्ट्रेशन पास गराउँदाताका कार्यालयको जिम्मेवार अधिकृत रुपमा रुजु गरेका छन् । उनले जमिन किनबेचमा कर्मचारीले कुनै कमिसन नखाएको दावी गरेपनि भित्री व्यवहार बुझ्न नपाउँदा समस्या आएको बताए । अदालतमा तीनवटा मुद्दा विचाराधिन रहेको समयमा कर्मचारीसँगको मिलेमतोमा जमिन बिक्री गरिएको जग्गासँग सम्बन्धित व्यक्ति समेत रहेका पर्शुराम सुवेदीको भनाई छ ।

मालपोत अधिकृत कार्कीले भने व्यवहारिक पक्ष हेरेर जग्गाको रजिस्ट्रेशन पास गराइएको दावी गरेका छन् । उनले नागरिकताको फोटोकपीमा देखिने अनुहारसँग स्वयम् उपस्थित भएको व्यक्तिको अनुहार मिलेका कारण व्यवहारिक बन्नुपर्ने अवस्था आएको बताए । जग्गाको रजिस्ट्रेशन पास गर्नका लागि सक्कलै नागरिकतासहित व्यक्ति वा व्यक्तिको वारेस वा अधिकृतनामा र पूर्जामा व्यक्तिसँगै अन्य सम्बन्धित पक्षको नाम उल्लेख भएमा नाम उल्लेखितलाई बुझेर मात्रै प्रक्रिया बढाउनु पर्ने प्रावधान रहेको छ ।

मालपोत अधिकृत कार्कीले भने आफूले पूर्जामा उल्लेखित श्रीमान्को विषयमा बुझ्दा विदेश गएको भनेपछि प्रक्रिया बढाईदिइएको दावी गर्दछन् । रिङरोडले छोएको जमिनको सरकारी मुल्यांकन समेत घटाएर राजश्व समेत अपचलन गरिएको पीडित पक्षको दावी छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved