‘पूर्वलाई फूलको शहर बनाउने अभियान हो दोस्रो पूष्प मेला’

  • प्रकाशित मितिः पुष, 17, 2074
  • पहिलो किताब संवाददाता

पूर्वाञ्चललाई फूलको राजधानीको रूपमा चिनाउन गत बर्ष झैं यस बर्षपनि सुनसरीको धरानमा पुष्प प्रदर्शनी मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले केन्द्रीय रूपमै फूलको व्यापार तथा फूलका बारेमा जानकारी गराउन आगामी पौष २७ गतेदेखि दोस्रो पुष्प प्रदर्शनी मेला आयोजना गर्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव प्रेमप्रसाद पराजुुलीसँग पहिलो किताब संवाददाताले गरेको कुराकानी–

धरानमा पुष्प मेला लगाउनुको उद्देश्य के हो ?
‘घर आगन होस या सडक, नदी, किनारा रोपी स्वदेशी फुल विरुवा बनाऔं पुर्वाञ्चल हराभारा’ भन्ने मूल नाराका साथ यो मेला शुरु हुँदैछ । फूल व्यवसायीको व्यवसायिक प्रोत्साहनका लागि साथै पूर्वाञ्चललाई फूलको राजधानी बनाउने उद्देश्यका साथ यो मेला आयोजना हुदैछ ।

पुष्प व्यवसायीले बिना तालिम नर्सरी खोलेर मनग्यै आम्दानी गरिरहेका छन् । व्यवसायीहरू तालिम बिना त आम्दानी गरेर आफ्नो गुजारा चलाइरहेका छन्, त्यसैले केन्द्र स्तरकै फूल व्यवसायीको व्यवसायिक प्रोत्साहनका लागि पनि यो मेला लगाउदैछौँ । व्यवसायी मात्र नभएर पूर्वलाई फूलको शहर बनाउन केन्द्रीय स्तरबाटै हामीले पहल गर्न गराउन यो मेला लगाउन जरुरी छ । जसले गर्दा मेलाले पूर्वाञ्चललाई समेत फूलको राजधानीको रुपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा छ ।

तयारी कहाँ पुग्यो ?
पूर्वलाई फूलको शहर बनाउने हाम्रो अभियानमा सबैको सकारात्मक सहयोगको आशा राख्छौँ । मेलाको तयारी लगभग मध्य चरणमा पुगेको छ । हामीले मेलाका लागि गर्ने सबै तयारी गर्न गराउन अहिले अघि बढिरहेका छौं । र, यस्ता मेलाका लागि सरकारले समयसमयमा पूष्प सम्बन्धी तालिमको व्यवस्था गरिदिने हो भने नेपालको पूष्प व्यवसाय पहुँच अन्तराष्ट्रिय स्तरसम्म पुग्थ्यो ।

यो वर्षको पुष्प मेलाको विशेषता के हुनेछ ?
पूर्वलाई यसै त फूलको शहर भनिन्छ । यहाँ सबै जातजाति फूलका सौखिन हुनुहुन्छ । उहाँहरूले घरमै पनि नर्सरी बनाउनु भएको पनि देखिन्छ । तसर्थ यस मेलामा फूलप्रति प्रेम गर्नेहरू त त्यसै पनि लगाव राख्छन तर फूलप्रति चासो नगर्नेहरू पनि यस मेलामा आकर्षित हुने खालका फूलका प्रर्दशनी गर्दैछौँ । अघिल्लो वर्ष त फूलको कास्टिङ मात्रै गरेका थियौँ । यसवर्ष हामीले ‘फूल मुभि’ झै फूलको प्रचारप्रसार गर्दैैछौँ । त्यसैले पनि यस मेलाले पूर्वमा फूलको महत्व र फूल सजाउने संस्कृतिको विकासका लागि मद्दत गर्ने छ ।

यसवर्ष मेलामा पौष महिना फूल फूल्ने मध्य समय भएका कारण प्रदर्शनीमा भवेना, मेरीगोल्ड, गजेनिया, साल्मिया, लिरियम लगायतका १ सय भन्दा बढी प्रजातिका फूलहरु स्टलमा राखिनेछ । प्रदर्शनीमा पूर्वी नेपालका विभिन्न स्थानहरू क्रमशः इलाम, भोजपुर, धनकुटा, तेह्रथुम, मोरङ, झापा र सप्तरीका फूल व्यवसायीहरुको ३० वटा स्टलहरू रहनेछ । जसले अवलोकन गर्न आउने फूल प्रेमीहरूलाई आहलादित बनाउने छ ।

मेलाको व्यवस्थापन कसरी हुँदैछ ?
कृषि मन्त्रालय तथा धरान उप–महानगरपालिकाको सहयोगमा ८ लाख ५५ हजारको लागतमा मेला सञ्चालन हुन लागेको छ । यस मेलाका लागि खगेन्द्र पोखरेल, वंशी मोक्तान, कल्पना लिम्बू, धरान नर्सरीलगायतको सहयोगमा मेलाका लागि रकम संकलन गरेका हौं । साथै हाम्रा शुभचिन्तकको विशेष सक्रियतामा मेलाका लागि रकम संकलन गरेका छौँ ।

फूल कारोबारको अपेक्षा कस्तो छ ?
पुष्प प्रदर्शनीमा २ लाख भन्दा बढीले प्रदर्शनी अवलोकन गर्ने र १ करोड भन्दा माथि कारोबार हुने अनुमान छ । प्रदर्शनीमा उत्कृष्ट स्टललाई पुरस्कृत गरिने छ । गत वर्षको मेलामा १ लाख भन्दा बढीले प्रदर्शनीको अवलोकन गरेका थिए । ४० लाखको आर्थिक कारोबार थियो । प्रदर्शनीमा उत्कृष्ट स्टलको रूपमा मोरङको दिपक नर्सरी, दोस्रोमा झापाको महादेव नर्सरी र तेस्रो हुने सुनसरीको धरान नर्सरीलाई पुरस्कृत गरिएको थियो ।

रोचक कुरो, हामीले यस मेलामा १० रुपैंयादेखि ३ लाख रुपैंयासम्मको फूलहरू प्रर्दशनीमा राख्नेछौँ । मेलामा जो कोहीले फूल खरिद गर्न सक्नु हुनेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved