अस्तित्व जोगाउने मौका

  • प्रकाशित मितिः कार्तिक, 14, 2074
  • पहिलो किताब संवाददाता

२०७४ कार्तिक १४: जन्मभूमिमा चुनावको चटारो छ र त्यही चटारोको सेरोफेरोमा यो लेख केन्द्रित छ । अघिल्लो सप्ताहान्त नेपालका एक प्रतिष्ठित व्यक्तित्वको सत्कार गर्न पाइयो । केही समय उहाँको संगत गर्न पाइयो । ज्ञान किताबबाट पाइने हैन । उहाँको संगतका केही समय अत्यन्तै ऊर्जापूर्ण रह्यो । केही नयाँ सिक्ने मौका पाइयो । उक्त सिकाइको निचोड के रह्यो भने असल हुन आफैँ नै असल हुनुपर्छ । अर्कालाई खराब देखाएर आफू असल होइँदैन । निच प्रवृत्ति हुनेले मात्रै अर्कालाई निच देखाउने बल गर्छ ।

महानता उमेर, शैक्षिक योग्यता, ओहदा वा ऐश्वर्यसँग निरपेक्ष रहेर विवेकमा अन्तर्निहित हुन्छ । विवेक हरेक मनुष्यमा ईश्वरले हालिदिएका छन् । राष्ट्र सेवामा कपाल पकाएका एक प्रौढ व्यक्तित्वले जे सिकाउनुभयो, त्यो अनुभव बाँड्ने गरी यो लेख लेख्दैछु ।

मुलुक छोडेर हिंडेकाहरू दिनरात किन नेपालकै सपना देख्छन् ? आश्चर्य लाग्दो हो । पाठकहरूलाई त अझै के पनि लाग्दो हो भने विदेशी सुखसयलमा बसेर जन्मभूमिलाई सत्तो सराप गर्नेमात्र छन् विदेशमा । सूचना र संचारको युगमा नकारात्मकता बढी प्रयोगमा आएका कारण जताततै नकारात्मक सन्देशमात्र प्रवाहित भएको देखिन्छ सामाजिक संजालमा समेत । यथार्थ त्यो होइन । यथार्थ त्यसभन्दा बेग्लै छ । अधिकांश शिक्षित र अर्धशिक्षित नेपाली २०६३ पछि नेपाल छोडेर हिँडे । त्यो आफैँमा एउटा शान्त विद्रोह थियो, योग्यता भएकाले समेत राणाकालीन चाकरी गरेझैँ कुनै एक जना विशिष्टको दैलो कुर्नुपर्ने पद्धतिको निर्माण त्यस पुस्ताका लागि सह्य थिएन ।

पाखुरा बलियो हुनेलेसमेत खेत खनिखोस्री गर्दा उल्लु हुनुपर्ने, दैलो ढुक्नेले रातारात आर्थिक तरक्की गर्नसक्ने परिवेशको निर्माणले एउटा ठूलो ऊर्जा नेपालबाट पलायन भयो । त्यो ठूलो ऊर्जावान् समूह अहिलेको स्थानीय निर्वाचन र आसन्न संघीय र प्रादेशिक चुनावसँगै अब जन्मभूमिमा केही हुन्छ र हामीले पनि योगदान गर्न सक्ने वातावरण बन्छ भनेर उत्साहित छ । यद्यपि, त्यो ऊर्जा एउटा सानो दीपशिखा जस्तो धिपधिप बलिरहेछ । त्यो दीपशिखालाई जोगाउनु पहिलो चुनौती छ भने त्यसलाई संसारभर जगाउनु अर्को चुनौती छ । त्यसको नेतृत्व नेपाली राजनीतिक र गैरआवाशीय नेपालीहरूको सामाजिक अगुवाले गर्नुपर्छ ।

नेपाली समाज नेपालमा मात्र होइन, बिदेशमा समेत विभक्त छ । आआफ्ना अहंका लडाइँ लडेर जात्रा गर्छन् यताहुँदी पनि । सारा विकृतिसँग आजित भएर थातथलो छोडेर हिंडेका समेत दुई छाक तातो भात पेटमा पर्नेबित्तिकै फेरि त्यही विकृति र मैमात्र जान्ने अहं बोकेर हिड्छन् यताका समाजमा समेत । त्यो कांग्रेस, फलाना एमाले, ढिस्काना माओवादी, ऊ चाहिँ राजावादी भनेर यति पर आएरसमेत कित्ताकाट गर्छन्, पानी बाराबार गर्छन् । उदेकलाग्दो गरी जातजातिमा विभाजित गर्छन् नेपाली अस्तित्वलाई । यसभन्दा विडम्बनाको विषय अर्को हुनै सक्तैन ।

अरूको कुरो थाहा भएन, लेख्नसमेत अनुचित होला तर आफ्नै उदाहरण दिँदासमेत म आफैंले आफूलाई अफल कोटीमा राख्न सक्तिन । किनभने, पछिल्लो ३० वर्ष राजनीतिक नेतृत्वले मेरो पेसागत क्षमतालाई उपेक्षा गर्‍यो, मेरो राजनीतिक आस्थालाई प्राथमिकता दियो । व्यक्तिगतरूपमा मलाई त्यसले फाइदा धेरै, घाटा थोरै भयो होला तर म दाबाका साथ भन्नसक्छु - देशलाई त्यसले नोक्सानबाहेक केही गरेन । यसको अर्थ मैले देशलाई यो दिनसक्छु भन्ने दर्प पनि होइन, जतिञ्जेल नेपालमा रहेँ आफ्नो बुता, बर्गत र क्षमताले देश सेवा गरेँ, मानो भरियो, हिडेँ । हाम्रो जन्मभूमिले यति धेरै इमान, कर्तव्यपरायणता र सहिष्णुता संस्कृति सँगै घोटेर चटाएको छ कि थातथलो छोडेर हिँडेको हरेक नेपाली संघर्ष गरेर आफ्नो खुट्टोमा उभिएकै छ, जहान परिवार खुसी राखेकै छ । उसले जानेका कुरा शब्दमा बुनेर व्यक्त गर्दा त्यो विदेशमा बसेर गरेको ठूलो कुरा हुनैसक्तैन ।

वरिष्ठ लेखक किशोर नेपाल खुब ‘फलो’ गर्छु म । अहिले किशोर नेपाललाई गाली गर्नेहरू गर्भमा पनि नहुँदै उनी पंचायतविरुद्ध आगो ओकल्थे । मैले थाहा पाउँदा शिव अधिकारीसँग मिलेर साप्ताहिक सुरुचिमा र अलिपछि बन्धु थापाको देशान्तर साप्ताहिकमा । अनुभवले सुनलाई समेत खार्छ, कोइलालाई पेट्रोल बनाउँछ, हीरा बनाउछ । किशोर नेपाल हीरा होइनन् होला, पेट्रोलसमेत नहोलान् तर बुझ्नुपर्ने कुरो के चाहिं हो भने उनले अमेरिका बसेर लेखेका पछिल्लो लेखले सामाजिक संजालमा कित्ता निर्माण गरेको छ । गहिरिएर पढ्ने हो भने उनको लेखको पेटबोली र उद्धृत गरिएको ‘पन्च लाइन’ विरोधाभासपूर्ण छन् र त्यसको प्रतिकारमा लेखिएका लेख अझै सतही छन् ।

उनको त्यस लेखको सन्देश हो __-___ जसले तिमीलाई जन्म दियो, समर्थ बनायो, त्यसको निन्दा नगर । तर, उनको लेखको प्रतिवादमा लेखिएका लेख पढ्दा लाग्छ - विदेशमा बसेर नेपाललाई गाली गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो । उसैमाथि उनलाई व्यक्तिगतरूपमा लगाइएका लाञ्छ्नाले विदेशमा बसेर ठूला भयौँ भन्नेको अभिमान, अहं र घमण्डले तिनले कमाएको उमेर, डिग्री, ओहदा वा ऐश्वर्यलाई धुलिसात् गरेको छ । नेपाली समाज इतिहासको कुनै कालखण्डमा यतिसारो असहिष्णु, अविवेकी र क्रूर थिएन ।

राजनीति समाजको ऐना हो भनिन्छ । नेपाली समाजमा अहिले जे देखिन्छ, त्यो राजनीतिको देन हो । बहुदलका सुरुका दिनमा राष्ट्रिय राजनीतिमा जसरी एक अर्कामाथि सांघातिक र मानसिक प्रहार गरियो, लाग्थ्यो- अखिल र नेविसंघका प्रौढरूप सडकमा जुधिरहेछन् । गिरिजाप्रसाद, कृष्णप्रसाद र गणेशमान जसरि मुर्मुरिरहन्थे - लाग्थ्यो - कुकुर बिराला हुन् यिनीहरू । दिनदहाडै मान्छे छप्काउँदै हिँड्ने प्रचण्ड, बाबुराम, खड्ग ओली अनि कुरूप प्रजातन्त्रका शीर्ष पुरुष गिरिजाप्रसादका मतियार बनेका शेरबहादुर, विजय गच्छदार केही उदाहरणीय नाम मात्रै हुन् जसले हाम्रो सुन्दर नेपालको सुन्दर भविष्यमा कालो मोसो दले । एक्काइसौं शताब्दीमा समेत आफूलाई विष्णुको अवतार मान्ने कुनै एक घमण्डी राजाका पछि लागेरसमेत समाजले करिब ३ दशक बाबुको पालामा र करीब आधा दशक छोराको पालामा समय खेर फालेकै हो ।

नेपाली राजनीतिमा अहिले जे देखिन्छ, त्यो समाजको देन हो । यो कुखुराको अन्डा पहिला कि चल्ला पहिलाको निरर्थक बहसमा नेपालले अब अल्झिने समय नै छैन । अहिले सतहमा देखिएका केही उपल्ला नेता निर्वाचनको मुखमा यो कित्ता त त्यो कित्तामा ढुन्मुनिनुको गहन अर्थ छ । पूर्वजन्म वा पुनर्जन्मको आस्था माथिको प्रहार नठानियोस्, म त्यो चक्रको अस्तित्वलाई मान्दिन । मान्छु के मात्रै भने ‘जैसी करनी, वैसी भरनी’ एकै जन्ममा हुने हो । हिजो आफूले गरेका कुकर्मका कारण आज प्रचण्ड, बाबुराम रन्थनिएर ओल्लो घाट र पल्लो तिर गरिरहेछन् ।

यो सत्य शेरबहादुर, विजय गच्छदार, खड्ग ओली सबैमा लागु हुन्छ । उल्लेखित पुरुषहरूको यो असीम छटपटाहट आफ्नो अस्तित्वको जगेर्नाका लागि मात्रै हो । प्रचण्ड/ बाबुरामलाई हेग देखाएर तर्साउँछन् उनका विरोधीहरू । शेरबहादुर र विजयलाई अख्तियार देखाएर, खड्ग ओलीलाई उनको स्वास्थ्य नै काफी छ अत्याउन । नेपाली समाजले यी सबैले देखाएका सपना र त्यसको कारुणिक बिपना भोग गरिसकेको छ । चुनावको चटारो देख्दा लाग्दैछ सायद, नेपाली समाजको यो विद्रूपताको अन्त्य नजिक आइसकेको छ । भारतीय हास्य कवि सुरेन्द्र शर्मा एक प्रसंगमा भन्छन - हामीले पार्टीलाई भोट दियौँ, सुयोग्य व्यक्ति हारे । सुयोग्य व्यक्तिले निर्वाचन जित्ने संस्कृतिको विकास गर्न सकेको भए सुयोग्य व्यक्तिमात्र राजनीतिमा आउँथे, पार्टीहरू सुयोग्य व्यक्तिलाई टिकट दिन बाध्य हुन्थे ।

इतिहासले नेपाली समाजलाई यो मौका अहिले दिएको छ, नेपाली समाजले कुनै एक व्यक्ति, पार्टी, दल, समूहको अस्तित्व जोगाइदिनका लागि विवेकमा बिर्को नलगाओस् , सुयोग्य व्यक्तिले निर्वाचन जितून्, नेपाली राजनीतिक र सामाजिक उत्थान गर्न सकून् । नेपालको भविष्य स्वर्णीम छ । एक जना ली क्वान उले माझीटापुलाई सिंगापुर बनाउन सक्छ भने एउटा कुनै नेपाली छोरो र /वा छोरीसँग पनि एउटा सभ्य, सौम्य, सम्पन्न नेपाल बनाउने बर्गत छ । त्यो बर्गतलाई मुर्तरूप दिन आर्थिक, प्राविधिक, सामाजिक, प्रशाशनिक क्षेत्रमा एक से एक नेतृत्वदायी व्यक्ति नेपालभित्रै छन्, ती देखिन्नन्, अघि आउँदैनन्, तिनलाई खोज्नुपर्छ । नेतृत्वको निर्माण पार्टीले होइन, समाजले गर्ने हो । समाजले त्यस्तालाई अघि लगाउने हो ।

अघि आइहालेकालाई चिन्ने हो, प्रोत्साहित गर्ने हो । त्यसो हुन सके न किशोर नेपालले अमेरिकामा भात खाएर नेपाललाई गाली गर्छन् भन्ने विषय भेट्थे, न अहिले भएका मध्ये आधाउधि यता भात खाएर बसिरहन्थे, उतै जान्थे, उतै स्वाभिमानको जीवन जिउँथे, श्रम गर्थे र आर्थिक उत्थानको महायज्ञमा सरिक हुन्थे ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved