फरक–फरक ‘राईट अफ वे’ कायम गरेर विस्तार हुँदै व्यापारिक मार्ग

  • प्रकाशित मितिः चैत्र, 8, 2075
  • नवराज कट्टेल

विराटनगर / त्रिदेशीय लाइफलाइन मानिएकोे व्यापारिक मार्ग विस्तार आयोजना रानी–बिराटनगर–इटहरी–धरान सडकमा फरक–फरक ‘राइट अफ वे’ कायम हुँदा निर्माणमा समस्या देखिएको छ ।

सरकारले सडक मापदण्ड कायम गरेपनि व्यक्तिगत स्वामित्वमा रहेको जमिनको लगत कट्टा नगरिँदा ४९ किलोमिटर दुरीभित्र चार प्रकारको ‘राइट अफ वे’ कायम गरेर निर्माण गर्नुपर्ने बाध्यता देखिएको हो ।

एउटै सडकमा फरक–फरक मापदण्डमा काम गर्नुपर्ने बाध्यताले स्थानीयको अधिकार केन्द्रीत अवरोधको सामना निर्माण आयोजनालाई छ । सडक मापदण्ड कायम गरेपनि लगत कट्टा नगरिँदा व्यक्तिले जमिनको तिरो बुझाउँदै आएका छन् । जमिनको कर बुझाउँदै आएको व्यक्तिगत सम्पति राज्यले अधिग्रहण गरेर मुआब्जा दिनुपर्ने कानुनी प्रावधानमा टेकेर स्थानीयले निर्माण आयोजनालाई अवरोध गर्दै आएका हुन् ।

फरक–फरक सरकार र सम्बन्धित निर्वाचन क्षेत्रबाट मत प्राप्तिको अभिष्टका कारण सडक मापदण्डमा परिवर्तन गरिएको छ । त्यसको परिमाण सरकारले निर्धारण गरेको सडक मापदण्ड अनुसार निर्माणमा समस्या देखिदैं आएको छ ।

भारत–नेपाल–चीनलाई विराटनगर रानीदेखि संखुवासभाको किमाथाङ्कासम्म जोड्ने छोटो दुरीको आधार सडकको रुपमा निर्माण भईरहेको व्यापारिक मार्गमा देखिएको अल्झनले कार्यप्रगति समेत अपेक्षा अनुसार हाँसिल हुन सकेको छैन ।

व्यापारिक मार्ग अन्तर्गत विराटनगरको सीमानाका रानीदेखि ढाटसम्मको ३० मिटर मापदण्ड कायम गरिएको छ । औद्योगिक क्षेत्रको अवधारणा अन्तर्गत सडकको केन्द्रबिन्दुदेखि १५÷१५ मिटर सडकको मापदण्ड कायम गरिएको हो ।

यसैगरी विराटनगर ढाटदेखि सुनसरीको दुहबी बजारसम्म ५० मिटर सडक मापदण्ड छ । केन्द्रबिन्दुदेखि २५÷२५ मिटर सडक क्षेत्र मानेर विस्तारको काम भईरहेको छ । दुहबी बजार क्षेत्र भित्रको ६४० मिटरमा भने सडक मापदण्ड खुच्याउँदै १६.३० मिटर कायम गरिएको छ । दुहवी बजार क्षेत्रमा कायम भएको मापदण्डले अन्य क्षेत्रमा सडक विस्तारको लागि नजिर बन्ने गरेको छ ।

दुवही बजारदेखि धरानसम्म ५० मिटर मापदण्ड रहेपनि इटहरी बजार क्षेत्रका स्थानीयले दुहवी बजार क्षेत्रसँग तुलना गरेर निर्माणमा अवरोध गर्दै आएका छन् । छलेन सडक आयोजनाका प्रमुख नरेन्द्र कोइरालाका अनुसार फरक–फरक मापदण्डमा सडक निर्माण गर्नुपर्ने बाध्यताले स्थानीयको चित्त बुझाउनै समस्या हुने गरेको छ । इटहरी बजार क्षेत्रका स्थानीयले ८२ फुट कायम हुनुपर्ने मापदण्डलाई ६५ फुटमा झार्नुपर्ने माग अगाडी सार्दै आएका छन् ।

तत्कालिन राजमार्ग निर्माण व्यवस्था ऐन २०२१ अनुसार राजमार्ग घोषणा भई हाल सडक ऐन २०३१ अनुसार सडक केन्द्रबाट दायाँ–बाँया २५÷२५ मिटर र ६ मिटर ‘सेट ब्याक’ समेत गरि कुल ३१ मिटर कायम हुनुपर्ने थियो ।

तर २०५४ सालमा सरकारले विराटनगर र दुहबी बजार क्षेत्रको मापदण्ड खुम्च्याउने निर्णय गरेको थियो । सडक मापदण्ड भनेर तोकिएको सीमा क्षेत्रभित्र संरचना निर्माण गरेको व्यक्तिले भोगचलन गर्दै आएको जमिनलाई नम्बरी कायम गरिएपछि त्यसको अवसर अहिले देखिएको छ । सरकारले पछिल्लो पटक मापदण्ड संशोधन गरेपछि पनि तत्कालिन स्थानीय निकायले भने सडक सीमाक्षेत्र भित्रैपनि व्यक्तिगत संरचना निर्माण गर्ने अनुमति दिइएको देखिन्छ ।

२०५४ सालमा सडक मापदण्ड संशोधनभएपछि कायम भएको मापदण्ड विपरित २०५५ सालपछि बनेका व्यक्तिगत संरचनाले सडकको ‘राईट अफ वे’ मिचेकै देखिएको छ ।

दश अर्ब ९८ करोड लागतमा निर्माण अनुमान गरिएको ४९ किलोमिटर रानी–धरान व्यापारिक मार्गको हाल ३२ दशमलव ६४५ किलोमिटर रानी–तरहरा सडक खण्डको काम भईरहेको छ । जसका लागि ७ अर्ब रुपिँयाको ठेक्का प्रक्रियामार्फत काम भईरहेको छ । आर्थिक वर्ष २०६९÷०७० देखि सुरु भएको योजना ७ वर्षमा सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर उपेन्द्र दासका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को पहिलो चौमासिकसम्म ४० प्रतिशत भौतिक प्रगति देखिएको छ । दोस्रो चौमासिकसम्ममा यसको प्रगति ४५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । आर्थिक खर्चका दृष्टिकोणले ६० प्रतिशत भईसकेको बताइन्छ । रानी–तरहरा सडक विस्तारको काम १५ वटा ठेक्कामार्फत भईरहेको छ । जसमध्ये १३ वटा सडक, एउटा नाला र अर्को दुहबीस्थित बुढी खोलाको पुल निर्माण गर्नुपर्ने सम्झौता भएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved