साफ महिला च्याम्पियनसीप : संघीयताको सफल अभ्यास, सदुपयोगको अवसर

  • प्रकाशित मितिः चैत्र, 5, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / पहिलो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजनाको अवसर पाएको विराटनगरले फुटबलको इतिहासमा नयाँ नाम लेखाउन सकेको दावी गरिएको छ ।

फुटबल खेलको लामो इतिहास बोेकेको विराटनगरले पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरेसँगै स्थानीयमा थप खुशीका आशाहरु छाएका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम भएको सन्देश दिन सफल बनेसँगै स्थानीय तह र प्रदेश सरकारको ध्यान खेल संरचना निर्माणका लागि केन्द्रीत हुने आशा गरिएकोछ ।

विराटनगरले वि.सं. २०१८ सालदेखि महेन्द्र गोल्डकपदेखि ठूला प्रतियोगिता आयोजना गर्न थालेको थियो । परिवर्तित राजनीतिक र सामाजिक सन्दर्भसँगै २०६७ सालदेखि यसको नाम परिवर्तन गरेर २०६८, ०६९, ०७१, ०७२ र ०७४ सालमा विराट गोल्डकपमा रुपान्तरण भएको थियो ।

जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताले विराटनगरलाई फुटबलमय बनाउँदै चर्चाको उचाईमा पु¥याएको महानगरपालिका प्रमुख भीम पराजुलीको भनाई छ ।

सहिद रंगशालामा फागुन २८ बाट जारी प्रतियोगितामा सहभागी छ देश मध्ये भुटान र माल्दिभ्स बाहिरिंदा छ खेल सम्पन्न भइसकेका छन् । प्रतियोगिता सम्पन्न हुन अब तीन खेल बाँकी छन् । आयोजक राष्ट्र नेपाल, श्रीलंका, भारत र बंगलादेश सेमिफाइनलको यात्रामा छन् । चैत ८ गते हुने फाइनल खेलसँगै विराटनगरको खेलसँगको सम्बन्ध नयाँ उचाईमा पुग्ने प्रमुख पराजुलीको भनाई छ ।

फुटबल क्षेत्रका विज्ञहरुले पनि नेपाली फुटबलको इतिहासमा धेरै योगदान पु¥याएको बताएका छन्। छुट्टै एवं विशेष महत्व राख्ने मोफसलले पहिलो पटक पाएको अवसरलाई सदुयोग गर्ने अवसरले विराटनगरसँगै सिंगो प्रदेशकै योगदान महत्वपूर्ण रहेको बताइन्छ ।
एन्फाका पूर्व उपाध्यक्ष एवं पूर्व बरिष्ठ फुटबल प्रशिक्षक सन्तोश बाँनिया अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको जिम्मा मोसफललाई दिने निर्णयले नै संघीयताको अभ्यास सफलपूर्वक बन्दै गएको बताउँछन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता काठमाडौं केन्द्रीत रहँदा खेल क्षेत्रको विकास समेत खुम्चदैं गएको बताइन्छ । राज्यको पुर्नसंरचनासँगै खेल क्षेत्रको अवसर मोफसललाई प्रदान गर्ने निर्णयले ४० वर्षे लडाँईको जीत भएको बानियाको भनाई छ ।
संरचना र पूर्वाधारले पनि विराटनगर र प्रदेश १ लाई कमजोर सावित गर्न नसक्ने देखिन्छ । अस्थायी राजधानीको रुपमा रहेको विराटनगरदेखि पूर्वी पहाडी जिल्लाहरुमा हुने फुटबल प्रतियोगिताले विशेष र छुट्टै महत्व बोक्दै आएको छ ।

साफका लागि भौतिक पूर्वाधार लगायतका संरचना तयार गर्न विराटनगर महानगरपालिकाले एक करोड र प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेका थिए । प्रदेश सरकारले प्रदेश भरका १३७ स्थानमा खेलमैदान निर्माणको योजनालाई अगाडी सारेको अवस्थामा साफ खेलकुद गर्ने अवसर प्राप्त गरेसँगै तत्काल अन्तराष्ट्रिय क्रिकेट मैदानको काम सम्पन्न हुने जागरण पैदा भएको अर्का खेल अगुवा पारस चौधरीको भनाई छ ।

एन्फाका प्रशिक्षक एवं फुटबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी चौधरी भविष्यमा प्रदेश १ ले खेल क्षेत्रको नेतृत्व गर्दै धेरै अन्तराष्ट्रिय प्रतियोगिता भित्र्याउने आशा जगाएको बताउनुहुन्छ । नयाँ खेलाडी उत्पादन गर्ने र अभ्यास खेलका लागि स्थानीय र प्रदेश सरकारले बजेट बिनियोजन गर्ने आशा संचारित भएको विश्लेषण गर्नेहरुको समेत कमि छैन ।

नेपाली महिला टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका हिराकुमारी भुजेल, मनमाया लिम्बू, अनिता बस्नेत, कविता धिमाल, रेखा पौडेल, सरु लिम्बू र गोलरक्षक एन्जिला तुम्बापो लिम्बू प्रदेशले जन्माएका खेलाडी हुन् । यी बाहेक सबै उमेर समूहका महिला एवं पुरुष तथा सिनियर राष्ट्रिय टोलीमा पूर्वकै खेलाडीको बाहुल्यता अहिलेसम्म रहेको प्रशिक्षक चौधरी बताउँछन् ।

जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष किशोरलाल अमात्य थप व्यवस्थित ढंगबाल खेल संरचना निर्माण र व्यवस्थापन गर्दै अगाडी बढ्नु पर्ने सन्देश साफ महिला च्याम्पियनसीपले दिएको बताउँछन् ।

फ्लड लाइट सहितको मैदानको अवधारणालाई तत्काल पूरा गर्नसके रात्री कालिन फुटबलबाट खेल पर्यटक भित्र्याउन सकिने संभावना समेत उतिकै जीवीत रहेको खेलप्रेमी सुदिप लम्सालको भनाई छ । एन्फाका प्रवक्ता किरण राईले आयोजनालाई अवसरका रुपमा सदुपयोग गर्दै कमजोरीहरु सच्याउँदै अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved