१५ लाख धरौटी राखेको श्रमिक आपूर्तीकर्ता कम्पनि मात्रै वैधानिक

  • प्रकाशित मितिः चैत्र, 5, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / असंगठित रुपमा औद्योगिक प्रतिष्ठान तथा निर्माण कम्पनिमा श्रमिक आपूर्ती गर्दै आएका रोजगार आपूर्तिकर्ता कम्पनि दर्ता प्रक्रियामा आउन थालेका छन् ।

श्रम ऐन र कार्यन्वयनका लागि बनेको नियमावलीको परिधी भित्र रहेर रोजगार आपूर्तिकर्ताहरु श्रम तथा रोजगार कार्यालयमा दर्ता हुन थालेका हुन् ।

कम्पनि रजिष्टार कार्यालयमा रोजगार कम्पनि दर्ता गरेर श्रम तथा रोजगार कार्यालयबाट श्रमिक आपूर्ति गर्ने स्वीकृती लिनुपर्ने कानुनी प्रावधान छ ।

त्यो प्रावधानले प्रतिष्ठानमा कार्यरत मजदुरको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने लक्ष्य लिइएको छ । यस अगाडीसम्म व्यक्तिगत रुपमा वा दर्ता प्रक्रियामा नगएको समूहबाट औद्योगिक प्रतिष्ठानमा श्रमिक आपूर्ति हुँदै आएको थियो । दलाली प्रक्रियामार्फत श्रमिकको श्रम मुल्य कायम हुने गर्दथ्यो ।

प्रदेश १ श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सन्जेलका अनुसार हालसम्म पाँचवटा रोजगार आपूर्तिकर्ता कम्पनिले स्वीकृति लिइसकेका छन् । दुईवटा कम्पनिको स्वीकृति प्रक्रियामा रहेको छ भने एउटा कम्पनिले तोकिएको धरौटी बुझाउन नसकेपछि तामेलिमा राखिएको छ ।

प्रदेशस्तरमा श्रमिक आपूर्ति गर्ने कम्पनिहरुले स्वीकृति लिएका हुन् । यस्ता श्रमिक आपूर्तिकर्ता कम्पनिमार्फत रोजगार पाएका श्रमिकको तथ्यांक विवरण श्रम तथा रोजगार कार्यालयमा बुझाउनु पर्नेहुन्छ ।

कम्पनि रजिष्टारको कार्यालयमा कम्पनि दर्ता गरेका रोजगार आपूर्तिकर्ताले १५ लाख रुपिँयाको बैंक ग्यारेन्टीसहित १० हजार रुपिँया राजश्व वापतको शुल्क बुझाउनु पर्दछ । बैंक ग्यारेन्टी वापतको रकम कार्यस्थलमा रहेका मजदुरको सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक नपाएको खण्डमा रोजगार कम्पनिमार्फत भरण गर्ने व्यवस्था छ ।

रोजगारदाता कम्पनिको रुपमा रहेका औद्योगिक प्रतिष्ठानलाई श्रमिक आपूर्ति कम्पनिले श्रम ऐन र नियवमालीले तोकेको सेवा र सुविधाको शर्तको अधिनमा रहि सम्झौता गर्नुपर्ने हुन्छ ।

प्रमुख सन्जेलका अनुसार आपूर्ति कम्पनिमार्फत रोजगारदाता कम्पनिमा कार्यरत श्रमिकको रोजागर र सामाजिक सुरक्षाको ग्यारेन्टी नभएको अवस्थामा जिम्मेवारी आपूर्तिकर्ता कम्पनिले लिनुपर्ने हुन्छ ।

प्रदेशस्तरका कार्यालयबाट स्वीकृति लिएका कम्पनिले प्रदेश भित्रकै औद्योगिक प्रतिष्ठानमा मात्रै श्रमिकको आपूर्ति गर्न पाउनेछन् । राष्ट्रियस्तरमा श्रमिक आपूर्ति गर्ने कम्पनिले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमार्फत स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ ।

सुनसरी–मोरङ औद्योगिक प्रतिष्ठानमा श्रमिक आपूर्तिकर्ता कम्पनिमार्फत रोजगारी गरिरहेका श्रमिक सबैभन्दा बढी समस्या रहेका छन् । तर, वैधानिक बाटोमार्फत दर्ता रहेका कम्पनिले श्रम तथा रोजगार कार्यालयसँग स्वीकृति लिनुपर्ने प्रावधानले मजदुरको पारिश्रमिक र सामाजिक सुरक्षाको मुद्दालाई हलगर्ने आशा राखिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved