उपाधी लक्ष्यसहित बन्द प्रशिक्षणमा नेपाली महिला टिम

  • प्रकाशित मितिः फाल्गुन, 23, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / खेलाडीको अन्तिम नामावली प्रकाशन नभएपनि घरेलु मैदान विराटनगरको शहीद रंगशालामा आगामी फागुन २८ गतेदेखि सुरु हुने पाँचौं साफ महिला चेम्पियनसीपका लागि नेपाली महिला टिमको बन्द प्रशिक्षण विराटनगरमा जारी छ ।

तीन महिनादेखि लगातार बन्द प्रशिक्षणमा रहेको नेपाली महिला फुटबल टोलिको खेल उत्कृष्ट बनाउन विराटनगरमा दिनरात नभनी बन्द प्रशिक्षण चलिरहेको हो ।

‘हावापानीसँग अन्तर्घुलन गराउने उद्देश्यले इटहरीबाट विराटनगरमा सरेका छौं’ प्रमुख प्रशिक्षक हरि खड्काले भने–काठमाण्डौं, झापा हुँदै भारतमा समेत साफ महिला फुटबल लक्षित प्रशिक्षणमा व्यस्त थियौं, अहिले मिनेट–मिनेटको समय सदुपयोग गरिरहेकाछौं । भारतमा हिरो कप फुटबल प्रतियोगितामा विजयीसँगै सुनसरीको इटहरीमा भईरहेको बन्द प्रशिक्षण विराटनगर सारिएको प्रमुख प्रशिक्षक खड्काले बताए ।

घरेलु मैदान विराटनगरको शहीद रंगशालामा पाँचौं साफ महिला चेम्पियनसीपको उपाधी कब्जा गर्ने लक्ष्यसहित पहिलो खेल फागुन २८ गते भुटान विरुद्ध नेपाली टिमले खेल्नेछ । त्यसका लागि ४/४/२ को फर्मेशनमा खेलाडीलाई मैदान उतार्ने तयारी गरिएको प्रशिक्षक खड्काले जानकारी दिए ।

समूह ‘ए’ मा रहेको नेपाली टिमले दोस्रोे खेल बंगलादेशसँग खेल्नुपर्नेछ । ‘पहिलो खेलपछिको अवस्था हेरेर फर्मेशन परिवर्तन गर्नुपर्ने निष्कर्षमा पुग्छौं’ प्रशिक्षक खड्काले भने–लिगचरण पार गर्ने कुरा हाम्रो लागि चुनौती हुन्छ ।

अनु लामाको कप्तानीमा बन्द प्रशिक्षण भईरहेको नेपाली महिला टिममा २३ जना खेलाडी रहेका छन् । जसमध्ये तीनजना खेलाडी छानिएर २० जनाको अन्तिम नामावली तयार हुनेछ । टिमको कप्तानी लामाले गर्नु भएको छ भने मैदानको कप्तानी निरु थापाले गर्दै आउनु भएको उनले बताए ।

प्रशिक्षक खड्काका अनुसार एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उसानाथलाई गोलकिपरको भूमिकामा राखिएको छ । यसैगरी प्रतिरक्षा (डिफेन्स) पंक्तिमा आठ जना खेलाडी बन्द प्रशिक्षणमा छन् । जसमा गिता राना, पुनमजर्घा मगर, अम्रिता जोशी, मनमाया लिम्बू, हिराकुमार भुजेल, पूजा राना, कविता रिमाल, सुनिता चौधरी छन् ।

मध्यपंक्तिका लागि सातजना खेलाडी छन् । दिपा राई, रेनुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत, मन्जरी योन्जन, सर्मिला थापा मगर र बिमला चौधरी मध्यपंक्तिमा रहने छन् । अग्रपंक्तिमा (फरवार्ड) को रुपमा अनु लामा, रेखा पौडेल, सावित्रा भण्डारी, अनिता केसी र निरु थापा रहनेछन् ।

एन्फाले जारि गरेको खेलतालिका अनुसार समूह ‘ए’ मा रहेको नेपालले भुटान र बंगलादेशसँग, भुटानले बंगलादेश र नेपालसँग, बंगलादेशले भुटान र नेपालसँग लिग चरण खेल्नेछन् ।

यसैगरी समूह ‘बि’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । भारतले पहिलो खेल माल्दिभ्ससँग र दोस्रो खेल श्रीलंकासँग खेल्नेछ । माल्दिभ्सले श्रीलंका र भारतसँग, श्रीलंकाले भारत र माल्दिभ्ससँग लिग चरणको खेल खेल्नेछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले विराटनगरमा भव्य रुपमा साफ महिला चेम्पियनसीप आयोजना हुने बताएका छन् । बिहीबार विराटनगका पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष शेर्पाले साफ महिला चेम्पियनसीपको तयारी तिव्र रुपमा भईरहेको बताएका हुन् ।

खेलाडी उत्साहित छन् : प्रमुख प्रशिक्षक खड्का
पहिलो पटक नेपाली महिला टिमले घरेलु मैदानमा साफ महिला चेम्पियनसीप खेल्न पाएकोले उत्साहित देखिन्छ । यो उत्साहलाई विजयीमा परिणत गर्ने मौका हामी सबैलाई छ ।

तयारी पनि राम्रो छ । खेलाडी उत्साहित हुनु भनेकै खेलमा परिणाम निकाल्ने आधार बन्नुपनि हो । लिगचरण पार गराउँदै फाइनलमा प्रवेश गरेको नेपाली टिमले उपाधी कब्जा गर्नेमा हामी विश्वस्त छौं ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved