रेष्टु–राँ बन्दै यौनधन्दाका अखडा

  • प्रकाशित मितिः फाल्गुन, 20, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / विराटनगरमा खुलेका रेष्टु–राँ अवैध यौनधन्दा चलाउने अखडा बन्दै गएका छन् ।

मोरङ प्रहरीले विराटनगर–११ रोडशेषबाट टिफिन रेष्टु–राँ सञ्चालन गर्दै आएकी प्रिया श्रेष्ठलाई नियन्त्रणमा लिएपछि विराटनगरभित्र खुलेका रेष्टु–राँ यौनधन्दाको अखडा रहेको खुलेको हो ।

श्रेष्ठलाई मानव बेचबिखन तथा ओसार–पसार आरोपमा नियन्त्रणमा लिएको हो । रेष्टु–राँमा कार्यरत तीनजना महिलाले श्रेष्ठविरुद्ध जर्बरजस्ती यौनधन्दामा संलग्न गराएको उजुरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रहरी नियन्त्रणमा परेकी श्रेष्ठ विरुद्ध मानव बेचबिखन तथा ओसार–पसार ऐन २०६४ बमोजिम अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले जानकारी दिए ।

रोजगारीको खोजिमा आएका यूवतीहरुलाई रेष्टु–राँमा राखेर अवैध यौनधन्दा चलाउने गरेको आरोप श्रेष्ठ विरुद्ध छ । यूवतीले आफूहरु पीडित भएको बताउँदै डर, त्रास र धम्की सहेर यौन कार्य गराउनु परेको दावीसहितको उजुरी दिएका छन् ।

प्रहरीको अनुसन्धानकै क्रममा रहेको यो प्रकरण विराटनगरका लागि प्रतिनिधि घटना मात्रै मानिन्छ । भारतसँग सीमा जोडिएको विराटनगर महानगरपालिकाको रानीदेखि रोडशेषसम्म घरगन्ती खुलेका रेष्टु–राँ पछिल्लो समय यौनधन्दाको अखडाकै रुपमा विकास भएका छन् ।

विराटनगरको रोडशेष चौकस्थित ज्योति रेष्टु–राँमा समेत यस अगाडी ग्राहक बनेर पुगेका एक यूवकले आफू लुटिएको भन्दै प्रहरीसम्म गुनासो गरेका थिए । शिक्षक सेवा आयोगको परीक्षा लेख्न आएका यूवा ज्योति रेष्टु–राँमा यूवतिबाट लुटिएको भन्दै प्रहरीसम्म हारगुहार मागेका थिए ।

महानगरको दक्षिणवर्ती भारतसँग सीमा जोडिएको रोडशेषदेखि सीमा नाका रानीसम्म घरगन्तीमा रेष्टु–राँ छन् । खुलेका सबै रेष्टु–राँ अवैध यौनधन्दा चलाउने अखडाको रुपमा चिनिन्छन् ।

भारतको बिहारमा मदिरा बिक्रीमा रोक लगाएपछि विराटनगरको सीमा क्षेत्र रानीदेखि रोडशेष चौकसम्मको तीन किलोमिटर दुरीमा ११३ रेष्टु–राँ खुलिसकेका छन् । भन्सारनाका रानी हुँदै रोडशेषतर्फ बढ्ने व्यापारिक मार्ग आसपासका एकाध बाहेक सबैघरमा गितगजल र रेष्टु–राँ खुलेका छन् । खुलेका गितगजलदेखि रेष्टु–राँ साँझ परेपछि भारतीय नागरिकको घुँइचो लाग्ने गरेका छन् ।

रेष्टु–राँ सञ्चालन गर्दै आएका व्यवसायीले रोजगारिको नाममा यूवतीलाई राखेर अवैध यौनधन्दामा संलग्न गराउने र ग्राहकसँग अकुत रकम असुल्ने गरेका छन् । जानेर रेष्टु–राँमा पुग्नेहरुले रकम बुझाउँछन् र गुनासो समेत गर्दैनन् तर अन्जानमा छिर्नेहरु पीडित बनेर गुनासो गर्दै प्रहरीसम्म पुग्छन् ।

रेष्टु–राँ सञ्चालनमा संलग्न समेत अधिकांश महिलाहरु नै छन् । महिलाले सञ्चालन गरेको होटलमा यूवतीले समेत भर परेर काम गर्ने गरेका छन् । तर, अधिकांशको स्वभाव र शैली परिवर्तन गराउँदै यौनकार्यमा लगाउने गरिएको छ । व्यवसायीले यसरी राख्ने यूवतीलाई बानि पारिसकेपछि ग्राहकसँग आएको रकमको कमिसनदेखि तलवसम्म दिने आश्वासन दिएर मनाउने गरेको मोरङ प्रहरीको भनाई छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved