‘झुण्डिएको ताला’ मा क्षमता खोज्दै विश्वविद्यालयका प्राध्यापक

  • प्रकाशित मितिः फाल्गुन, 19, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / ट्रयाकमा आउँन लागेकोे प्रदेश १ को एकमात्रै पूर्वाञ्चल विश्वविद्यालयलाई फेरि झमेला र विवाद भित्र गिजोल्न सुरु गरिएको छ । स्थापनाको २५ औं वर्षगाँठ मनाउँदासम्म शान्त रहन नसकेको विश्वविद्यालय भित्र जालझेल र चक्रब्यूहको खेल भने फेरि सुरु भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको रुपमा प्रा.डा.घनश्यामलाल दासले नेतृत्व लिएपछि त्यहाँ भित्रका प्राध्यापकहरुले रच्ने षड्यन्त्रमा मन्दि आएको थियो । उपकुलपति दाससँगै स्वच्छ छवी भएकी प्रमिला थापा रजिस्ट्रारमा नियुक्त भएकी थिइन् । दासको चारवर्षे कार्यकाल सकिन छ महिना बाँकी छ । त्यसपछि नयाँ उपकुलपति नियुक्ति हुनेछ । तर, छ महिना अगाडीदेखि दाससँगै रजिस्ट्रार थापा विरुद्धको योजनावद्ध षड्यन्त्र भने विश्वविद्यालय भित्रबाटै सुरु भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । अहिले बाहिरी प्राङ्गणबाट उपकुलपतिले कार्यसम्पादन गर्दै आएका छन् । पदाधिकारी नियुक्ति गरेको बखेडा झिकेर उपकुलपति दास, रजिस्टार थापा, सहरजिस्ट्रार राजेशकुमार झासहित प्रशासन र लेखा शाखामा गत पुस २९ गतेदेखि ताला लागेको छ ।

ताला लगाउनु पर्ने कारण विश्वविद्यालयले पुस अन्तिम साता समन्वय महाशाखा प्रमुख राजेश झालाई सहरजिस्ट्रार, डिनमा गोपाल शर्मा र कोमल दुलाललाई नियुक्त गरेको थियो । यसैलाई कारण बनाएर ताला लगाइएको भनिएपनि भित्री कुरा भने उपकुलपतिको विदाईसँगै नयाँ उपकुलपति नियुक्तिको लाइन मार्ने योजना रहेको दावी गरिन्छ ।

विश्वविद्यालयलाई विवादमा मुछ्ने भित्री योजनाकार पूर्व उपकुलपति शिरिश रिजाललाई अर्का योजना महाशाखाका सन्जेश कोइरालाले साथ दिइएका छन् । उनीहरुको योजनामा सार मिलाउनेको संख्या समेत उतिकै रहेको छ । सार मिलाउने समेत जुनसुकै संस्थामा रहेपनि विवाद भन्दा बाहिर रहननसक्ने मात्रै रहेका छन् ।

कार्यकारी परिषद्को निर्णयमा पदाधिकारी नियुक्ति गरिएको निर्णय बदर गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रेका बुज्रुक बुद्धिजीविले अदालतले राजेशकुमार झाको विषयमा दिएको आदेश समेत पालना गर्नुनपर्ने मान्यता राखिएको छैन ।

विश्वविद्यालयको नियमावलीको दफा २५ (क) को उपदफा २ अनुसार कार्यकारी परिषद्ले तत्काल बहाल रहेका सदस्य संख्याको ५१ प्रतिशतको उपस्थितिमा पदाधिकारी नियुक्त गर्न पाउने प्रावधान रहेको छ । तर, त्यसको विरोधमा त्यहाँ कार्यरत प्राध्यापकहरुले ताला लगाएर विश्वविद्यालयलाई अशान्त बनाउने योजना बनाउनुको भित्री रहस्य सबैले बुझिसकेका छन् ।

विश्वविद्यालयमा उपकुलपतिको कार्यकाल समाप्तीसँगै रजिस्ट्रार थापालाई समेत विवादमा पार्नसक्दा त्यसको फाइदा लिन सकिने योजना आन्दोलनको नेतृत्वकर्तासँग छ ।
थापाले यस अगाडी सह–डिन हुँदा देखाएको भूमिकाले पूर्वाञ्चल विश्वविद्यालयको गोठगाँउमा रहेको मेडिकल एण्ड एलाइड साइन्स कार्यालयको सेवाप्रवाहमा सुधार आएको थियो ।

नर्सिङ, फार्मेसी र पब्लिक हेल्थ विषयको प्रवेश परीक्षालाई पारदर्शी बनाउने र विश्वविद्यालयको आफ्नै शैक्षिक कार्यक्रम सुरु गराउने भूमिका सकारात्मक देखिएपछि रजिस्ट्रारमा नियुक्ति हुन सफल भएकी थिइन् । रजिस्ट्रार भईसकेपछि समेत थापाले गोठगाँउमा शैक्षिक भवन निर्माण र कृषि तथा वन विज्ञान शैक्षिक कार्यक्रमको कक्षा सुरु गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् ।
पछिल्लो समय पूर्वाञ्चल विश्वविद्यालयमा देखिएको विवादको समाधान खोज्न समेत थापाले खेलेको भूमिका महत्वपूर्ण रहेपछि उनकै विरुद्ध पूर्वउपकुलपति रिजाल र कोइरालाले कुत्सित योजना बनाउँदै आएको समेत खुलेको छ । रजिस्ट्रार थापाको संभावित आगामी भूमिकाले बेचैन बनेकै कारण पूर्वाञ्चल विश्वविद्यालयको एउटा समस्यामा अनेकांै विवाद झिकिएको दावी गरिन्छ ।

पदाधिकारी नियुक्ति प्रकरणमा विश्वविद्यालयका कर्मचारीले पनि बेरीतले कर्मचारी सरुवा गरेको भन्दै पदाधिकारीको कार्यकक्षमा ताला लगाएका थिए । पदाधिकारी र कर्मचारीबीच सहमति भएपछि दुई सातापछि ताला खुलेपनि प्राध्यापकहरुले फेरि तालामा आफ्नो क्षमता खोजिरहेका छन् ।

विश्वविद्यालयले बिजु थपलियाको संयोजकत्वमा बनाएको वार्ता टोली र कर्मचारीबीच वार्ता भएको थियो । थपलियाको टोलीसँग प्राध्यापकहरूले वार्ता गर्न अस्वीकार गरेपछि चिकित्साशास्त्रका डिन शैलेशमणि पोखरेल संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरिएको छ । तर, पनि प्राध्यापकहरुले अनेकौं बखेडा झिकेर विश्वविद्यालयलाई विवादमा पारेर मनोरञ्जन लिईरहेका छन् ।
प्राध्यापकहरुले उपकुलपतिसहित पदाधिकारी विश्वविद्यालयबाटै नियुक्त हुनुपर्ने तर्क गर्दै आएका छन् । तर, आफैं कार्यरत विश्वविद्यालय जस्तो क्षेत्रमा तालाबन्दी गरेर रमाईरहेका प्राध्यापकलाई उपकुलपतिको जिम्मेवारी दिन नैतिक संकट देखिने प्राज्ञिक क्षेत्रका अगुवाहरुको तर्कछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved