निजी अस्पतालसँग कमिसन लिएर सरकारी अस्पताल जाने बाटो अवरोध गरेको आरोप

  • प्रकाशित मितिः फाल्गुन, 18, 2075
  • नवराज कट्टेल

विराटनगर / विराटनगरको कोशी अञ्चल अस्पताल पेरिफेरीको सडक भत्काएको एक महिना बितिसक्यो । जिल्ला प्रशासन कार्यालयदेखि शहीद मैदान अगाडी हुँदै अञ्चल अस्पताल र रंगेली रोड जोड्ने सडक एक महिना बितसक्दा समेत अस्तव्यस्त छ । जिल्ला प्रशासन चौकदेखि अस्पताल चौकसम्मको बाटो भत्काएर लथालिङ्ग बनेपनि बनाउने हतारो महानगरपालिकालाई छैन ।

यो सडक खण्डसँगै भत्काउन थालिएको बाटा रोड बनिसकेको छ । तीनपैनीदेखि ट्राफिकचौक सडकखण्ड भत्काउने र पुर्ने काम हुँदैछ । पाँचौं महिला साफ चेम्पियनशीप प्रतियोगिता आयोजना गर्ने तयारीसहित मैदानको काम भईरहेको बखत प्रशासन चौक र अस्पताल चौक जोड्ने सडक पनि भत्काउन थालिएको थियो । त्यो प्रतियोगिता तयारीसँगै सडक भत्काउने हतारोमा देखिएको महानगरले तत्काल ठेकेदार परिचालन गरेर सडक भत्काएपनि निर्माण गर्नुपर्ने आवश्यकता भने ठानेको छैन ।

आपतकालिन अवस्था आएमा सुरक्षा दिने प्रहरी महानगर भित्रै तत्काल पुग्न सक्दैन । एम्बुलेन्समा बोकेको विरामी अस्पतालसम्म पु¥याउन नसक्ने अवस्था बनाएर महानगरका प्रमुख भीम पराजुली चीन भ्रमण गरेर फर्केका छन् । कसैले चासो नराख्ने भएपछि प्रमुख पराजुलीले महानगरमा ‘भाले विकास’ थालेको आरोप नगरवासीले लगाउने गरेका छन् । नगरवासी मात्रै नभई अतिआवश्यकीय स्वास्थ्य सेवा लिनु पर्ने सेवाग्राहीलाई अस्पतालसम्म पुग्नबाट पराजुलिले रोक्दै आएका छन् ।

जताततै खोस्रने र चारो खाएपछि पुर्न बिर्सने ‘भाले’ जस्तै बनेका महानगरका प्रमुख पराजुलीको विकास निर्माणप्रति चौतर्फी आशंका समेत उब्जने गरेको छ । व्यवसायीहरु रहेको क्षेत्र बाटा रोड भत्कने बितिकै निर्माण हुनु र अञ्चल अस्पताल भत्काएर निर्माणमा चासो नदिनुको सम्बन्ध कमिसनसँग जोडिएको आरोप उनलाई लाग्न थालेको हो ।

अञ्चल अस्पतालमा पुग्ने विरामीलाई निजी अस्पतालमा जान बाध्य बनाउने उद्देश्य राखेर बाटो निर्माणमा ढिलाई गरिएको आशंकासहित शनिबारदेखि नेकपा नगर समितिले खबरदारी सुरु गरेको छ । महानगरपालिका क्षेत्र भित्रको विकास निर्माणमा हेलचेक्राँई देखेर पनि मौन रहेको नेकपाको नगरकमिटिले शनिबार बिहानै विकास निर्माणमा भईरहेको कामको समिक्षा गर्दै अनुगमन सुरु गरेको हो ।

विकास निर्माणका क्रममा सर्वसाधारणको सुरक्षा र बाटोमा हिड्न पाउने अधिकार समेत हनन् गरिएपछि पहल र खबरदारीसहित नेतृत्व दिने गरि अनुगमन थालिएको हो ।

कोशी अञ्चल अस्पताल अगाडी सडक भत्काएको एक महिनासम्म पनि निर्माण नगरिएपछि नेकपाले संवेदनशील क्षेत्रको बाटो तत्काल बनाउन ७२ घण्टे अल्टीमेटम दिएको छ । आशिष निर्माण सेवाले गरिरहेको काम रोकिएपछि निर्माण जिम्मेवारी लिएको ठेकेदार कम्पनिलाई ७२ घण्टे अल्टीमेटम दिइएको नेकपाका नेता सागर थापाले जानकारी दिए ।

‘महानगरका प्रमुख कानमा तेल हालेर सुतेका छन्, कति विरामी अस्पतालसम्म आउन नपाएर ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका होलान्’ नेता थापाले भने–अब जहाँ काम थालिन्छ, त्यहिँ पूरा गर्नुपर्ने मान्यतासहित हामीले खबरदारी सुरु गरेका छौं ।
विकास निर्माणमा पहलसहितको खबरदारी सुरु गरिएसँगै निर्माण कम्पनिले अटेर गरेमा निर्माणका सामाग्री नियन्त्रणमा लिने तयारी समेत नेकपाले गरेको छ ।

आफ्ना र आफन्तले भनेका आधारमा प्रमुख पराजुली बहकिने गरेका कारण विकास निर्माणको काम व्यवस्थित नबनेको आरोप लाग्दै आएको छ । कोशी अञ्चल अस्पतालमा जाने विरामीलाई निजी अस्पतालमा जान बाध्य बनाउने योजनासहित पराजुलीले अस्पताल अगाडीको बाटो बनाउन रोकेको खुलेपछि खबरदारीमा निस्कनु परेको नेकपाका नेताहरु बताउँछन् ।

महानगर क्षेत्र भित्रको सडकहरु विस्तार गर्ने क्रममा रोडशेष दक्षिण क्षेत्रका मतदाता आफ्ना नभएको भन्दै बढी हेलचेक्राँई गरिने र आफ्नै घर आसपास र मतदाता रहेको भनिएका क्षेत्रमा हतारोमा काम गरिने गरिएको आरोप समेत पराजुलीलाई लाग्ने गरेको छ ।
यस अगाडी विराटनगरको पुष्पलालचौकमा वामपन्थीहरुको बाहुल्यता रहेको भन्दै मुख्य चौक अस्तव्यस्त हुँदासम्म पराजुलीले सडक कालोपत्रे नगरेपछि त्यहाँ उनी विरुद्ध नाराबाजी भएको थियो । नाराबाजी हुनासाथ उनले त्यो बाटो निर्माण सुरु गरिसकेका छन् ।
आफ्नै घर आसपासको खोला (वस्ता)लाई कालोपत्रे गर्न भ्याईसकेका पराजुलीले रोडशेष भन्दा उत्तरको क्षेत्रलाई नयाँ विराटनगर घोषणा गरेर विकासमा चासो देखाउने तर दक्षिणवर्ती क्षेत्रबाट पन्छिने गरेको आरोप मधेशवादी दलहरुले लगाउँदै आएका छन् । नेकपाले महानगरमा भईरहेको विकासको खबरदारी गरेसँगै मधेशवादी दलहरुमध्ये संघीय समाजवादीले समेत पराजुली विरुद्ध खबरदारी गर्ने तयारी थालेको दावी गरिन्छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved