समाज निर्माणमा सुन्दर श्रेष्ठको सहयोग

  • प्रकाशित मितिः पुष, 12, 2074
  • तेजन खड्का

उर्लाबारी/ न उनी चुनावका उमेदवार, न कालो धन लुकाउने चेष्टा । गाउँको स्तरोउन्नतिमा अरूको ध्यान नपुगेपछि मोरङ राजघाटका—७ हाल उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा समाजसेवामार्फत गाउँ विकास गरिरहेका छन् । कहिले सडक बत्ती जडान त कहिले विद्यालयमा विविध सहयोग । त्यतिमात्र होइन्, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग छ ।

चुनाव आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुका लागि उनको यो काम यतिबेला अनुकरणीय भएको छ । गाउँको विकास गर्ने हो भने इच्छा शक्ति र सहयोगी मन हुनुपर्छ । सुन्दरले आफ्नै लगानीमा गाउँ नै सुन्दर बनाउँदैछन् । सुन्दर अर्थात समृद्ध पनि । यो यात्रामा उनी निरन्तर लागिरहने प्रण गर्छन् । भन्छन्, ‘सकुन्जेल गाउँ विकासमा सहयोग गरिरहने हो, नसकेको दिन देखा जाएगा ।’

उनले विद्यालयमा सहयोग गरेका छन् भने गाउँमा सडकबत्ती जडान गरिदिएका छन् । आफ्नै लगानीमा बाटोघाटो निर्माण गरिदिएका छन । खेलकुद तथा कलासंस्कृतिका क्षेत्रमा पनि उनको सहयोग प्रशंसनीय छ । सकारात्मक सोच बोकेर सहयोगी हात फिँजाएर आएका मानिसलाई सुन्दरले अहिलेसम्म खाली हात फर्काएका छैनन् । उर्लाबारी–९ को प्रभात निमाविमा उनले मञ्च निर्माण गरिदिएका छन्, घेराबारामा सहयोग गरेका छन् ।

यतिमात्र होइन, सोही विद्यालयमा रंगरोगन गरिदिएर चिटिक्क पारेका छन् । यस्तै उर्लाबारी–९ कै राजघाट निमाविमा विद्यालयको घेराबारा पछि गेट निर्माण गरिदिएका छन् । गाउँको पोलपोलमा सडकबत्ती जडान गरिदिएर गाउँ नै झलमल्ल पारिदिएपछि स्थानीय अहिले खुसी छन् । त्यसअघि गाउँ अन्धकार थियो ।

सुन्दरको सहयोग यतिमै सिमित छैन, गाउँको कृतन मण्डली मठमन्दिर, खेलकुदमा पनि उनको सहयोग छ । सुन्दर भन्छन्, ‘धन भन्दा पनि मन भएर सहयोग गरेको हुँ ।’ उनले अब विद्यार्थीको लागि छात्रवृत्ति कार्यक्रम ल्याउने योजना रहेको सुनाए ।

हाल उनले आफ्नो गाउँमा एकल लगानीमा बाटो खोलिदिएपछि टोलटोलमा भित्री बाटो बनेको छ । स्थानीय काजी लिम्बू भन्छन्, ‘घर अगाडि नै बाटो बनेपछि बिरामी बोकेर लानुपर्ने अवस्था छैन्, गाडी आँगनमै आइपुग्छ ।’ बाटो खोलेपछि गाउँ विकासको सम्भावना झनै बढेको लिम्बूले बताए ।

सुन्दरको यात्रा
घरमा हातमुख जोर्न धौधौ परेपछि ०४९ सालमा किशोर अवस्थामै काठमाडौं हानिएका थिए । खोपीडाँडामा जन्मे हुर्केर काठमाडौंमा ठेक्कापट्टा र हाउजिङ व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चेका छन् ।

सुरुमा काठमाडौं पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रमिक लिएर ज्याला मजदुरी सुरु गरे । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति भएको हो । हाल उनी ठेक्कापट्टा र हाउजिङ व्यवसायमा संलग्न छन् । सुन्दर भन्छन्, ‘म अझै आफूलाई एउटा लेबर हुँ भन्न रुचाउँछु ।’

सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जम्ने हुर्केका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा कष्टकर थियो । तीन दाजुभाइमध्ये कान्छा उनी पढाइमा असफल भएपछि एसएलसी दिएर काठमाडौं हानिएका थिए ।

उनले सुरुमा आफ्नो कमाइले परालको छाना र सण्ठीको बेरा भएको घर छेऊमा काठको घर बनाए । त्यसपछि उनले भक्तपुर र खोपीडाँडाको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाए ।

ठेक्कापट्टा र हाउजिङ व्यवसायबाट आयआर्जन गरेका श्रेष्ठ समाजसेवामा क्रियाशील छन् । गाउँको विकासमा उनको चिन्ता रहने गर्छ । ‘हाम्रा सन्ततिले हामी भन्दा दुःख नपाउन’ उनी भन्छन् । श्रेष्ठले समाजमा गरेको आर्थिक सहयोग प्रति उनकी आमा भद्रकुमारी र पत्नी सुनिता पनि खुसी छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved