प्रदेश सरकारका एक वर्ष : के-के भए उपलब्धी ?

  • प्रकाशित मितिः फाल्गुन, 3, 2075
  • नवराज कट्टेल

विराटनगर / प्रदेश सरकार गठन भएको एकवर्ष पुगेको छ । सात प्रदेशमध्ये प्रदेश नम्बर १ को सरकारले वार्षिक समिक्षा सार्वजानिक गरेको छ । मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा वार्षिक प्रगतिको समिक्षा सार्वजानिक गर्दै उपलब्धीमुलक रहेको दावी गरेका छन् ।

सिंहदरबारमा केन्द्रित शासन व्यवस्थालाई गाउँसम्म लान संविधानले निर्दिष्ट गरेको अधिकार कार्यन्वयन गर्ने क्षेत्रमा प्रदेश १ सरकारको एक वर्ष अधिकार क्षेत्र ठम्याउन नसकेको अवस्थामा गुज्रेको छ ।

आफ्नै क्षेत्राधिकारलाई टुङ्ग्याउन नसकेको प्रदेश सरकारले संघीय सरकारसँग आफ्नो क्षेत्रमा रहेका योजना समेत हस्तान्तरण गराउन नसकेर योजनाविहीन कार्यक्रमहरु ल्याउँदा कतिपय अवस्थामा संविधानसँग बाझिने काम गर्न पुगेको छ ।

मुख्यमन्त्री राईले भने शून्य संरचनाबाट अगाडि बढेर एकवर्षमा गरेका कामहरु महत्वपूर्ण उपलब्धी रहेको भन्दै संघीय सरकारले योजना र अधिकार हस्तान्तरण नगरेका कारण पछि पर्नु परेको बताएका छन् ।

प्रदेश सरकारले पहिलो वर्षलाई संघीयता कार्यन्वयन वर्षको रुपमा कार्यन्वयन गरेका कारण कानुन निर्माणमै व्यस्त रहनु परेको विशेष पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईको भनाई थियो ।

तर, क्षेत्राधिकारमै नपरेको योजनामा प्रदेश सरकारले कार्यक्रम ल्याएका कारण तीन तहको सरकारका निकाय भने अहिले विवादमा समेत फसेको देखिन्छ । प्रदेश सरकारले सडक शुशासन कार्यक्रम कार्यन्वयन गर्दै छ जिल्लामा ६० किलोमिटर राजमार्ग विस्तार गर्ने कार्यक्रमका कारण अहिले स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको अधिकार क्षेत्र बारे बहस सुरु भएको देखिन्छ ।

कानुन निर्माणको प्रक्रियामा हामीले दुईवटा अधिवेशनबाट २४ वटा ऐन पारित गरिएको छ । निर्देशिका र कार्यविधिहरु दर्जनौं तयार गरिएको मुख्यमन्त्री राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई मुख्य जोड दिएको कुरा मुख्यमन्त्री राईको भनाई छ । कृषि क्षेत्रको विकासले नै अन्य क्षेत्रको विकासमा जोड पुर्याउँछ भन्ने मान्यताका आधारमा पहिलो प्राथमिकता कृषि क्षेत्रमा दिएको बताइन्छ ।

त्यसैगरी नीतिगत रूपमा कृषि क्षेत्रमा संलग्न हुन चाहनेहरूका लागि सुनिश्चित आधार तयार गरेको दावी गरिएको छ । व्यावसायिक खेतीका लागि तीनवटा शीत भण्डारण क्षमताको विकास र विस्तारका योजनालाई समेटिएको बताइएको छ ।

यान्त्रिकीकरणका सन्दर्भमा अनुदानको व्यवस्था गर्दै सहकारीलाई कृषिसँग जोड्न, किसानका उत्पादनलाई बजारसम्म जोड्न योजना बनेको बताइएको छ ।

प्रदेशमा मिल्क होलिडेको ठूलो समस्यालाई हल गर्नका लागि विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट स्तरोन्नती र सुदृढीकरणको काम अगाडी बढेको र दिर्घकालिन रुपमा मिल्क होलि डे को समस्या हुन नदिन सहकारी र डेरी व्यवसायीहरुको संलग्नतामा एउटा पाउडर प्लान्ट स्थापना गर्ने लक्ष्य राखिएको छ । यसले प्रदेशलाई आत्मनिर्भर अर्थतन्त्र भएको प्रदेश बनाउन विश्वास राखेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

समृद्धिको आधार पर्यटन भएको भन्दै एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान नारा सहित पर्यटन पूर्वाधारलाई जोड दिएको बताइएको छ । संसारका अधिकांश अग्ला हिमाल हाम्रै प्रदेशमा रहेकोले सबैले गर्व गर्नुपर्ने र माउन्टेन फ्लाईट सुरुवात गरिएको पत्रकार सम्मेलनमा भनिएको छ । तर, निजी क्षेत्रको पहलमा सुरु भएको माउन्टेन फ्लाईट खर्च धान्न नसकेर बन्द भएको कुरा मुख्यमन्त्री राईको जानकारीमा रहेको छैन । यसलाई व्यवस्थित बनाउने कुरा भने उल्लेख गरिएको छ ।

विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउनको निम्ति प्रदेश मन्त्रिपरिषदबाट निर्णय गराई संघीय सरकारमा सिफारिस गरिए पनि कार्यक्रम भने अगाडी बढ्न सकेको छैन ।

प्रदेशभित्र रहेका सबै विमानस्थलहरुमा विराटनगर विमानस्थलबाट उडान सेवा शुरु गर्न पहल थालिएको बताइएको छ । विराटनगर र भद्रपुर विमानस्थलमा रात्रिकालिन हवाई उडान समेत सञ्चालन हुन थालेकोले यो उपलब्धी पर्यटन पूर्वाधारका लागि सहयोगी बन्ने दावी छ ।

निजि क्षेत्रको समन्वय र सहकार्यमा सप्तकोशी नदीमा जलयातायात सञ्चालन हुन थालेकोले यसलाई तुम्लिंटार र दोलालघाटसम्म विस्तार गर्नका लागि अध्ययन सुरु भएको दावी गरिएको छ ।

चियाको राजधानी इलामको सूर्याेदय नगरपालिका, सबैभन्दा बढी पर्यटक भित्रिने सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका र धनकुटाको आकर्षक पर्यटकीय गन्तव्यस्थल भेडेटार नाम्जे क्षेत्र रहेको साँगुरी गाउँपालिकालाई पर्यटकिय नगर र गाउँपालिका घोषणा गरिएको छ ।

जनतालाई सुरक्षाको अनुभूति प्रदान गर्न तथा प्रहरीको मनोबल उच्च बनाउन जनतासँग प्रहरी कार्यक्रम अन्र्तगत फोन, इमेल, फ्याक्स, स्थान लगायतका आवश्यक सूचनासहितको स्टिकर बनाई प्रत्येक घर घरमा स्टिकर टास्ने काम हामीले गरेका छौं । करिब १० लाख घर धुरीमा यस्तो सूचनामुलक स्टिकर टासिएको छ । जसबाट प्रदेशबासीले सुरक्षाको अनुभूति गरेको खबरहरु छापा, टेलिभिजन, रेडियो, अनलाइन मिडियाहरुबाट पढ्न, हेर्न र सुन्न पाएकोमा मुख्यमन्त्री राईले खुशी महशुस गरेको बताएका छन् ।

सुरक्षित सीमा, सुरक्षित जीवन, खुल्ला सिमा र सुरक्षा चुनौतीलाई महसुस गर्दै बोर्डर आउट पोष्ट (वीओपी) हरुको योजनाबद्ध विकास गर्ने उदेश्यका साथ १३ वटा विओपी निर्माण कार्य अघि बढेको बताइएको छ ।

उत्तरी सिमा क्षेत्र चिनसँगको व्यापारीक नाकाको रुपमा विकास गर्ने लक्ष्य राखिएको किमाथांका र ओलाङचुङगोलामा समेत विओपी स्थापनाको प्रक्रिया अघि बढाईएको छ ।

शान्ति सुरक्षालाई ध्यानमा राखेर मुख्यमन्त्री अत्यावश्यक सेवाकेन्द्र स्थापना गरी एकिकृत शान्ति सुरक्षा, बिपद ब्यवस्थापन र स्वास्थ सेवा उपलब्ध गराउने उदेश्यले यस वर्ष तराई, भित्रीमधेश र पहाडका एक–एक गाउँपालिकामा एक प्रहरी भ्यान, एक एम्बुलेन्स र एक दमकल सहितको व्यवस्थापन गर्ने योजना रहेको बताइएको छ । प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयमा नागरिक सहायता कक्षस्थापनाका लागि काम भएको छ ।

कारागार सुधारका कामहरु भएका छन् । प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा ४९ नयाँ प्रहरी चौकी निर्माणको काम अगाडि बढेको बताइएको छ ।

शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता विषयमा हामीले ध्यान दिएका छौँ । विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन म स्वयम् यो प्रदेशका अल्पसंख्यक तीन जना बालबालिकाको अभिभावकत्व लिदै यस अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गरिएको छ । यो वर्ष खेलकुदका लागि १३७ वटै पालिकामा एकैसाथ खेलमैदानहरू निर्माण हुँदैछन् ।

यो वर्षे स्वास्थ्य प्रवद्र्धन बर्षको रुपमा २०७५ घोषणा गरी स्वास्थ्य सरसफाई र स्वास्थ्य जीवन कार्यक्रमका लागि प्रभावकारी सञ्चार सचेतना जगाउने काम गरेका छौं । यसका लागि सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सद्भावना दूतका रुपमा नियुक्त गरेका छौं । शिक्षा र स्वास्थ्यमा विशेष जोड दिइएको बताइएको छ ।

प्रदेशस्तरमा विद्यालयतहको सिकाइलाई प्रविधियुक्त बनाउन र साधनस्रोत व्यवस्थापन गर्न इक्वालिटी फाउण्डेशन नेपालसँगको साझेदारीमा कम्प्युटर प्रविधियुक्त सिकाइका माध्यमबाट किताब र झोला रहित शिक्षा सञ्चालनका लागि सम्झौता गरिएको छ । ९५९ वटा सामुदायिक विद्यालयहरुमा कम्प्युटर ल्याबहरु स्थापना हुने बताइएको छ ।

प्रदेश विश्वविद्यालय स्थापनाका लागि तयारी भइरहेको छ । मुख्यमन्त्री लिग फुटबल प्रतियोगिता र मुख्यमन्त्री अन्र्तराष्ट्रिय फुटबल प्रतियोगिता गर्न एन्फासँग सम्झौता भएको छ । प्रदेशमा रहेका १४ वटै जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने कार्य थालिएको र कोशी अञ्चल अस्पताललाई विशेषज्ञ चिकित्सक सहित शिक्षण अस्पलाल बनाउने दावी गरिएको छ ।

यसैगरी पाँचथरको कुम्मायक, तुम्बेवा, तेह्थुमको छथर र धनकुटाको चौबीसकोट गाउँपालिकाका खडेरी प्रभावित कृषकहरुलाई राहत प्याकेज उपलब्ध गराइएको छ ।

संघीयता कार्यान्वयनको आधारभूत महत्वपूर्ण संरचना भनेको प्रादेशिक संरचना हो । प्रदेशहरु जति बलिया हुन्छन्, संघीयता त्यति नै प्रभावकारी भएको मानिन्छ । त्यसका लागि प्रदेश सरकारले योजनाहरु बनाईरहेको बताइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved