सरकारी अस्पतालका चिकित्सक सिफारिसमा किन्नुपर्ने बाध्यता

  • प्रकाशित मितिः फाल्गुन, 2, 2075
  • नवराज कट्टेल

विराटनगर / विराटनगरमा अवैध रुपमा आयात गरिएका औषधी किन्न सेवाग्राही बाध्य हुने गरेका छन् । चिकित्सकले बिक्री वितरणका लागि स्वीकृति नै नभएका औषधीको सिफारिस गर्ने गरेपछि विरामीले जर्बरजस्ती खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता रहेको हो ।

निजी अस्पतालहरुले विरामीलाई महंगो मुल्य लिएर अवैध औषधी प्रयोग गर्न बाध्य बनाउँदै आएका थिए । तर, विराटनगरमा भने कोशी अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराउने विरामीका लागि समेत यस्ता औषधी सिफारिस हुने गरेको पाइएको छ ।

सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउने सेवाग्राहीलाई चिकित्सकले अवैध औषधी सिफारिस गर्ने गरेपछि सेवाग्राहीले बाध्य भएर सेवन गर्दै आएका छन् । औषधी व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुणनियन्त्रक विभागले समेत स्वीकृति प्रदान नगरेका औषधी तथा पोषणयुक्त (खाद्य) औषधी सरकारी अस्पतालका चिकित्सकको रोजाईमा पर्ने गरेका छन् ।

बजारमा बिक्री वितरणमा रोक लगाइएका बिनादर्ताका औषधीको सिफारिस सरकारी अस्पतालकै चिकित्सकले गर्ने गरेका कारण डिलर, थोक तथा खुद्रा पसलबाट खुलेआम बिक्री हुने गरेका छन् । महंगो मुल्यका औषधी विरामीले खरिद गर्नुपर्ने बाध्यतासँग चिकित्सकको लापरवाही र कमिसन समेत जोडिने गरेको छ ।

विराटनगरमा बुधबार औषधी व्यवस्था विभागले औषधीको थोक तथा खुद्रा कारोबार गर्दै आएका व्यवसायीले सञ्चालन गरेका पसलहरुको अनुगमन गर्ने क्रममा सरकारी अस्पतालका चिकित्सकको सिफारिसमै विरामीले अवैध औषधी खरिद गर्नुपर्ने बाध्यता रहेको भेटिएको थियो । अनुगमनकै क्रममा सरकारी अस्पताल कोशी अञ्चलमा परीक्षण गराउनु भएकी कृष्णकुमारी साहलाई सिफारिस गरिएका पाँच प्रकारका औषधीमध्ये एउटा अवैध भेटिएको थियो ।

कोशी अस्पतालमा परीक्षण गराएर औषधी खरिद गर्न श्री सिद्धी विनायक फार्मेसीमा पुग्नु भएकी साहले ‘बडीप्लस’ नामक औषधी प्रयोग गर्नुपर्ने सिफारिस गरिएको थियो । जुन औषधी नेपालमा बिक्री तथा वितरण गर्ने स्वीकृति नै थिएन । औषधी व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त अनुगमन भईरहेकै बखत साहले अवैध औषधी खरिद गर्नुपर्ने बाध्यता देखिएपछि नियन्त्रणमा समस्या हुने देखिएको थियो ।

विभागका निरीक्षक सन्दिप खड्काले चिकित्सककै कारण अवैध औषधीको बिक्री वितरणमा रोक लगाउन समस्या भएको भन्दै सरकारीस्तरबाटै निर्देशन हुनुपर्ने बताएका छन् ।

संयुक्त अनुगमन टोलिले सुरेशचन्द्र अटलको लगानीमा सत्यनारायण साह र पवनकुमार अटलको नाममा दर्ता रहेको श्री सिद्धी विनायक फार्मेसी र हिमगिरी मेडिकोबाट अवैध औषधी नियन्त्रण गरेको थियो । औषधीको थोक बिक्रेता अटलको पसलबाट १७ प्रकारका अवैध औषधी तथा पोषणयुक्त खाद्य औषधी र पाउडर, क्रिम, साबुन समेत जफत गरिएका छन् ।

यसैगरी विराटनगर–९ मा रहेको बब्लु बिपुल फर्माबाट समेत अवैध औषधी जफत गरिएको अर्का निरीक्षक चर्तुभुज यादवले जानकारी दिएका छन् । श्रीपतिलाल दासले सञ्चालन गर्नु भएको थोकमा समेत आयातित र अवैध औषधी भेटिएका थिए । टोलिले गुरु मेडिकल हल, योग्य फार्मेसी र प्रदेश मेडिकल हललाई बन्द गरिदिएको छ । अञ्चल अस्पतालमा कार्यरत सन्ध्या यादवको नाममा दर्ता रहेको गुरु मेडिकलमा सञ्चालक नभेटिएपछि बन्द गर्नु परेको यादवले बताए । अञ्चल अस्पताल अगाडी नै रहेको यादव फार्मेसीबाट अवैध र बिनादर्ताका औषधी जफत गरिएको थियो ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved