क्यान्सरले श्रीमान्को निधन, छोराबाट तिरस्कार भएकी आमालाई जीवन विकासको घर उपहार

  • प्रकाशित मितिः माघ, 28, 2075
  • नवराज कट्टेल

विराटनगर / श्रीमान्को निधन र एक मात्रै छोराले समेत तिरस्कार गरिएकी आमालाई जीवन विकास समाजले घर उपचार दिएको छ । मोरङ कटहरी गाउँपालिका–२ आदर्शनगरमा दुर्गा रानालाई घर निर्माण गरेर जीवन विकासले हस्तान्तरण गरेको हो ।

क्यान्सर पीडित श्रीमान् गणेश रानाको उपचारमा सबै सम्पति सकिएपछि छोराले समेत छोडेर हिडेसँगै आमा दुर्गा बेसाहार बनेकी थिइन् ।

स्थानीय कटहरी आदर्शनगरका शंकर गिरीले बेसाहारा दुर्गालाई घर बनाउने जमिन उपलब्ध गराएका थिए । त्यस जमिनमा जीवन विकास समाजले घर निर्माण गरेर बस्ने प्रवन्ध मिलाइदिएको हो । निर्माण गरिएको घर सोमबार दुर्गालाई हस्तान्तरण गरिएको छ ।

जमिनदाताले दिएको जमिनमा बनेको घरमा दुर्गाले बस्न पाउने छिन् । जीवनभर बस्न दिने शर्तमा जमिन दाता गिरीले जमिन दिएका हुन् । धेरैवर्ष अगाडीदेखिको चिनजान भएका व्यापारी राना परिवारको अवस्था अकल्पनीय ढंगले धाराशायी बनेपछि गिरीले आफ्नै घर छेउमा जमिन दिएका छन् ।
श्रीमान्को उपचारमै सम्पत्ती सिद्धिएकोले आफू बेसाहारा बनेपनि छोराले छोडेपछिको अवस्था नाजुक बनेको दुर्गाको भनाई छ । आदर्शनगरमा अर्काको घरको पालीमा सरण लिएर बस्दै आएको बखत आफ्ना ७२ वर्षिय श्रीमान्को निधनको पीडा दुर्गाले यसैवर्ष खेप्नु परेको थियो ।

छोरा विजयले बाबुको निधन हुँदा समेत अन्तिम संस्कार गरेनन् । घर निर्माणपछि हस्तान्तरण गर्दै जीवन विकास समाजका कार्यकारी निर्देशक योगेन्द्र मण्डलले अवस्था अनुसारको रोजगारीका लागि पहल गरिदिने बताए ।

घर निर्माण र आवश्यक वस्तुको व्यवस्थापन मिलाएर मात्रै व्यक्तिको जीवन निर्वाह हुननसक्ने भएकोले दैनिक हातमुख जोर्ने जोहो जुटाउन समेत सहयोग गरिदिन स्थानीयसँग मण्डलको आग्रह छ । जीवन विकासले १ लाख रुपिँया खर्चेर घर निर्माण गरेको हो ।

युवा अवस्थामा पोखराबाट कामको खोजीमा विराटनगर आउनु भएको स्वर्गिय गणेश रानाले कोशी अञ्चल अस्पताल स्थित साझा स्वास्थ्य सेवामा जागिर खाएर ६ वर्षअघि निबृत्त भएका थिए । त्यसपछि उनको मलद्वारमा क्यान्सर भएको थियो ।

क्यान्सरको उपचारमा २० लाख रुपिँया खर्च भएको थियो । उपचार संभव नहुँदै गएपछि श्रीमान्को निधन हुँदा २ लाख ५० हजार रुपिँया ऋण समेत थपिएको छ ।
जागिरबाट निबृत्त हुँदाताका पाएको सातलाखले कटहरीमा ७ धुर जमिन किनिएको थियो । त्यो जमिन र विराटनगरमा दुर्गाले चलाउँदै आएको पसल समेत बिक्री गरेर उपचार गरेपछि सम्पति र जायजेथा सकिएको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved