राजमार्गबाटै रातारात ७५ रुख गायव !

  • प्रकाशित मितिः माघ, 18, 2075
  • नवराज कट्टेल

विराटनगर  / मोरङको सुन्दर हरैंचा नगरपालिकाले संघीय सडक अन्तर्गत पूर्व–पश्चिम महेन्द्र राजमार्गका रुखहरु रातारात चोरी निकासी गरेको छ । राजमार्ग अन्तर्गत मोरङको सुन्दर हरैंचा नगरपालिका क्षेत्रमा सडक सीमा भित्रका रुखहरु रातारात काटेर बिक्री गरिएको हो ।

सुन्दर हरैंचा नगरपालिका क्षेत्रकोे खोर्सानेदेखि बुढीखोलासम्मका रुखहरु रातारात काटिएको छ भने काटिएका रुखहरु बिक्री गरिएको छ । मोरङको सुन्दर हरैंचा र सुनसरी इटहरीकोे सीमा क्षेत्र बुढीखोलादेखि बेलबारी नगरपालिकाको सीमा क्षेत्र खोर्सानेसम्मका ७५ थान रुख गायव भएका छन् ।

राजमार्ग दायाँ र बायाँका यति धेरै संख्यामा रुख काँटिदाँसम्म जिल्लास्थित प्रशासनिक तथा सुरक्षा निकाय, क्षेत्राधिकार रहेको सडक डिभिजन कार्यालय र डिभिजन वन कार्यालय भने बेखबर छन् ।

नगरपालिकाका प्रमुख शिव ढकालले सडक सीमा क्षेत्र भित्रका रुख कटान गरेर ट्रिपरमा राखेर रातारात बिक्री गरेका छन् । क्रसर तथा ट्रिपर व्यवसायी समेत रहेका ढकालले सडक सीमा क्षेत्रमा रहेका रुखहरु कटान गरेर बिक्री गरिसकेपछि अहिले त्यसको छानविन प्रक्रिया बढाइएको छ ।

यतिका संख्यामा र राजमार्ग क्षेत्रकै रुखहरु काटिदाँसम्म सबै कार्यालयहरु बेखबर हुनुमा बहुपक्षीय संलग्नतासहितको योजनामा रहेको आशंका गरिएको छ । काटिएका रुखको बारेमा स्थानीय सरकार सुन्दर हरैंचा नगरपालिकाका प्रमुख शिव ढकालले समेत जिम्मेवारी लिन आनाकानी गरिरहेको छन् ।

सडक अतिक्रमण हटाउने नाममा गैरकानुनी रुपमा रुख काटिएको र रातारात रुखहरु बिक्री गरिएको आरोपमा छानविनको प्रक्रिया थालिएको छ । सडक डिभिजन कार्यालय विराटनगरले रुखहरु चोरी निकासी भएको भन्दै प्रहरी र वन कार्यालयमा अनुसन्धानका लागि अनुरोध गरेको छ । रुख कटान गर्ने सुन्दर हरैंचा नगरपालिकासँग समेत स्पष्टिकरण माग गरिएको छ ।

सडकको सीमा क्षेत्र भित्र रहेका मसला, साल–सिसौ, कदम तथा वर–पिपलका रुखहरु काटेर चोरी निकासी भईसकेपछि अहिले अन्तर कार्यालय समन्वय अभाव देखिएको भन्दै छानविनको प्रक्रिया बढाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले संघीय सरकारको क्षेत्राधिकार भित्र पर्ने सडकका रुख काटिएको विषयमा छानविन र अध्ययन भईरहेको दावी गरेका छन् ।
क्षेत्राधिकार रहेको सडक डिभिजन कार्यालय विराटनगरले गत माघ १० गते जानकारी पाएको थियो । उसले जानकारी पाउँदा रुखहरु सबै कटान भईसकेका थिए । त्यसपछि प्रहरी, वनमार्फत अनुसन्धानका लागि अनुरोध गरेको छ ।

सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज नेउपानेका अनुसार जानकारीसँगै सडकको रेखदेखका लागि नियुक्ति गरिएका सुपरभाईजर गंगा सापकोटा र फिल्ड प्राविधिक तथा सव–इन्जिनियर मिथलेशकुमार यादवसँग स्पष्टिकरण माग गरिएको छ ।

नेउपानेले आफ्ना मातहतका कर्मचारीसँग स्पष्टिकरण लिएका छन् भने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले विराटनगरका प्रमुख रहेका नेउपानेसँग स्पष्टिकरण मागेको छ । सडकको सम्पति सुरक्षा गर्ने दायित्व विपरित काम हुँदा समेत जानकारी नराख्नुलाई मिलेमतोको आशंका गर्दै स्पष्टीकरण सोधिएको हो । 

सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख नेउपानेका अनुसार प्रदेश १ सरकारले गत भदौमा लागु गरेको सडक सुरक्षा तथा सुशासन कार्यक्रम कार्यन्वयनमा ल्याउन अतिक्रमण हटाउने विषयमा छलफल भएको थियो । त्यसैमा टेकेर रातारात रुख काटेर बिक्री भएका हुन् । तर, त्यसैलाई आधार बनाएर सुन्दर हरैंचा नगरपालिकाका प्रमुख ढकालले कानुन विपरित काम गरेपछि सडक विभागले अख्तियारमार्फत छानविन गराउने तयारी गरेको बुझिएको छ ।

गत मंसिरमा प्रमुख जिल्ला अधिकारी, मोरङका प्रहरी प्रमुखसहितको छलफलमा सडकको सीमा क्षेत्र भित्रका घर तथा टहराहरु हटाउने भन्ने थियो तर रुख तथा अन्य सडक सम्पतिको विषयमा कुरा भएको थिएन । सडककै क्षेत्राधिकारमा पर्ने रुखहरु कटान गर्नुपर्ने भएपनि डिभिजन वन कार्यालयले मात्रै अधिकार पाउँछ । त्यसका लागि सडक विभागको स्वीकृति अनिवार्य हुन्छ । सडक ऐन २०३१ जारी भएपनि नियमावली नबनेका कारण सडक सम्पतिको रुपमा रहेका रुखको सुरक्षा दायित्व सडकलाई रहेपनि कटान गर्ने अधिकार वनलाई मात्रै हुन्छ ।

सुन्दर हरैंचा नगरपालिका–८ सलकपुरमा सव–डिभिजन वन कार्यालय छ । वन कार्यालय अगाडीका समेत रुखहरु काटिएको छ । तर, नियन्त्रण र नियमन गर्नुपर्ने निकायले समेत कुनै खोज र खबर भने काटिसक्दासम्म गरेको देखिदैन । डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत रामलखन ठाकुरले अनाधिकृत रुपमा रुखहरु काटिएको विषयमा अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।

कहाँ छन् र कुन अवस्थामा छन् भन्ने विषयमा वन कार्यालयलाई अध्ययन गर्न जिम्मेवारीसहितको निर्देशन जिल्ला प्रशासन कार्यालय मोरङले दिएको छ । सलकपुर वन सव–डिभिजनका प्रमुख लालबहादुर माझी सुन्दर हरैंचा नगरपालिकाले रुखहरु काटेपनि निर्वाचित जनप्रतिनिधिका अगाडी आफू निम्जो हुनुपरेको बताए ।

नगरपालिकाका प्रमुख शिव ढकालले भने आफूले अन्जानमा रुखहरु काटेको र काटिएका रुखहरु सडकमार्फत वन कार्यालयलाई बुझाउन सक्ने जवाफ दिएका छन् । तर, बिक्री भईसकेका रुखहरु सबै फिर्ता ल्याउन समस्या हुने र त्यसको यकिन मुल्याकंन हुननसक्ने हुँदा तस्करीमा संलग्न रहेका ढकाल विरुद्ध अख्तियारमार्फत कारवाही चलाउन तयारी भईरहेको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved