राजधानीको रन्को- लोकराज निरौला

  • प्रकाशित मितिः पुष, 8, 2074
  • लोकराज निरौला

दशवर्षे महान जनयुद्ध १९ दिने ऐतिहासिक जनआन्दोलनको सफलतालाई वैधानिक र संस्थागत गर्ने प्रक्रियामा दोस्रो संविधान सभाबाट संविधान जारी गर्ने बेला राज्यको पुनःसंरचना अन्तरगत प्रदेशको सिमाङ्कन गर्ने बेलामा कसैले विकास क्षेत्र टुक्रियाउन नहुने कसैले अञ्चल, जिल्ला, वार्ड गाउँ, खोला, खोल्सो टुक्रियाउन नहुने माग राखेर निकै आन्दोलन भए तर यसरी नटुक्रियाउँदा नजोड्दा राज्यको अर्को पुनःसंरचना नहुने त्यसरी नै प्रदेशको नामाकरण गर्ने र राजधानी तोक्ने कुरामा पनि ठूलो मतभेद र विवाद रह्यो ।

यहाँ पहिचानवादीहरूले ऐतिहासिक जातीय पृष्ठभूमिका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने अडान राखे भने पहिचान इतर रहेका क्षेत्रीयतावादीहरूले जातको कुरा ग¥यो भने त साम्प्रदायिक र अशान्ति पैदा भइहाल्छ नि भनेर नदी, हिमाल, देवीदेउता, खोलाखोल्साको नामबाट प्रदेशको नामाकरण हुनु पर्ने अडान राखे । प्रदेशको नामाङ्कन र राजधानी तोक्नका लागि राजनीतिक सहमती जुट्न नसक्ने अवस्था देखिँदै गएपछि दोस्रो संविधान सभाबाट पनि संविधान जारी गर्न कठिन हुंदै गएपछि प्रदेशको नामाकरण र राजधानीको विवाद, बन्ने प्रदेश सभाले टुंगो लगाउने शर्तमा नेपाली संविधान २०७२ साल असोज ३ गते जारी भयो ।

संविधान जारीपश्चात् स्थानीय तह र प्रदेशसभा र संघीय प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधि सभाको समानुपातिक निर्वाचन तर्फको मत परिणाम निर्वाचन आयोगबाट आधिकारिक रूपमा घोषणा भइनसकेकाले निर्वाचन परिणामले पूर्णता प्राप्त गर्न सकेको छैन । यसै पेरिफेरिमा प्रदेशसभा र संघीय प्रतिनिधिसभाको निर्वाचनको परिणाम घोषणा भइसक्दा प्रदेशको राजधानी आफ्नो ठाउँमा हुनुपर्ने अडान राखेर खिचातानी र आन्दोलनहरू सुरु भएका छन् । यसरी आफ्नो ठाउँमा राजधानी हुनुपर्ने माग राखेर आन्दोलन हुने प्रदेशहरू मध्ये १ नं.प्रदेश अग्रपङ्तीमा रहेको छ ।

यहाँ धनकुटा, धरान, इटहरी, मोरङ, झापा लगायतका ठाउँमा प्रदेशको राजधानी हुनुपर्ने माग राखेर आन्दोलन सुरु भएका छन् । ठाउँठाउँमा राजधानीको माग राखेर आन्दोलन हुन थालेपछि अब राजधानी र प्रदेशको नामाकरण सडकबाट हुने कि प्रदेशसभाबाट हुने ? सडक वैधानिक हो कि सदन वैधानिक हो ? यहाँनिर सम्वैधानिक प्रश्न चिह्न आएको छ । यसको वैधानिक र विधिवत समाधान खोज्ने हो भने अब प्रदेश सभाको गठन अन्तिम चरणमा पुगेको हुनाले प्रदेशको नामाकरण र राजधानी तोक्ने काम सम्बन्धित प्रदेशसभा सदस्यहरूको बहुमतको निर्णयबाट हुनुपर्दछ ।
प्रदेशको राजधानी जुन प्रदेशको उपयुक्त स्थान देखिन्छ त्यही ठाउँमा बनाउँदा हुने कुरा हो ।

यसो हुँदा कहीँ आकाश खस्दैन सकभर राजधानी प्रदान गर्ने सेवा सुविधामा सबै क्षेत्रको सहज पहुँच पुग्ने र हुने ठाउँमा राजधानी भए राम्रो । हाम्रो देशको भौगालिक विकटताका कारण ठ्याक्कै त्यस्तो नहोला । यहाँ आआफ्नो ठाउँको विकास र समृद्धिका लागि राजधानी मागेको तर्क गरेका छन् । त्यसो हो भने कम विकसित भएका तराई मधेशक्षेत्र दुर्गम पहाडी जिल्ला भोजपुर, खोटाङ, हुम्ला, जुम्लातिर किन राजधानी नबनाएर विकसित ठाउँमै राजधानी बनाउने त ? यो राजधानीको रन्को र आन्दोलन केवल आआफ्नो राजनीतिक लाभ लिने पुँजीजीवि र भौतिक र पुँजीको विकासको कुरा गर्न अधिभूतवादीहरूको बौद्धिक विलास र समय बिताउने कुरा हो ।

जबकी यसबाट भविष्यमा उनीहरूको खेलो फड्को चल्न सकोस नत्र एउटा व्यवस्थित बसपार्क बनाउन नसकेको अवस्थामा के को राजधानीको लडाइँ ? यो विवाद जुन प्रदेशको जहाँ उपयुक्त हुन्छ त्यहीँ राजधानी तोक्दा भइहाल्छ

राजधानीको विवाद र आन्दोलन भइरहँदा मलाई एउटा प्रसङ्ग याद आयो कुरा आजभन्दा २० वर्ष अगाडिको हो । म त्यति बेला आपूm बसेको वडाको निर्वाचित जनप्रतिनिधि पनि थिएँ । वडाको एउटा टोलमा अरू टोलको भन्दा विकास पनि कम थियो ।

त्यहाँ तीन धुरदेखि पाँच धुरसम्म घडेरी किनेर बसेका, थोरै जग्गामा घर झुप्रा बनाएर बसेका सुकम्बासी, घरभाडामा बस्ने अर्ध कृषि र दैनिक ज्यालादारी मजदुर गरेर खाने मानिसहरु बस्थे । त्यस टोलमा चारजना जति जमिनदारको जग्गा धेरै थियो । उनीहरू धुले, कच्ची सडक निर्माण गर्नका लागि त्यतिबेला एकइन्च जमिन समेत छोड्न मान्दैनथे । त्यही बेला टोलका केही युवाले बाटो बन्नुपर्ने माग राखेर आन्दोन गर्न थाले उनीहरुले बाटो नबनेसम्म ढाट लगाएर टोलमा सवारी साधन छिर्न नदिने निर्णय गरे । टोलका विकास प्रेमीहरूले जमिनदारसँग संघर्ष गरेर टोल बस्तीसम्म पुग्ने कच्ची सडक बाटोको निकास खोले ।

केही समयमा टोलको मूल सडक सानो चौडामा भएपनि कालोपत्रे भयो । तब जमिनदारहरू धमाधम जग्गा कित्ताकाट गरेर महँगोमा बेच्न थाले बाटो नपुगेको ठाउँमा आपैmं जग्गा दिएर बाटो खोल्न थाले । अहिले उनीहरू महँगोमा जग्गा बेच्ने जमिनदारका दर सन्तानहरू सुविधा सम्पन्न शहरतिर पलायन भइसकेका छन् । महँगो जग्गा बेचेर एक समय गरिबलाई महँगो व्याजमा ऋण दिएर कमाएको पैसा अहिले उनीहरुले सहरका निजी बैंक र सहकारीमा थुपारेका छन् ।

आफ्नो बैंक वा सहकारीको आफैं सञ्चालक प्रबन्धक घोषित भएका छन् । अब उनीहरु अफ्ठ्यारो परेको बेला त्यस टोलको वीरबहादुरलाई दश रुपैयाँ पाँच रुपैयाँ प्रतिसयकडा व्याजमा ऋण लगानी गर्दैनन् । अब उनीहरू राम्रो जग्गा सुनचाँदी धितो भएकालाई उनीहरूका बैंक र सहकारीमार्फत ऋण लगानी गर्दछन् ्। ती बाटो निर्माण गर्न बिजुलीको खम्बा ल्याउन सडकको ढल खन्न संघर्ष गर्ने मानिसहरू आज पनि त्यति नै जग्गामा बसेका छन् । उनीहरु त्यही सुकम्बासी बस्तीमा बसेका छन् । उनीहरूको परिवारमा कसैको पनि न त आर्थिक स्तर, न शैक्षिक स्तर खासै माथि उक्लिएको छ ।

यही हो राजधानीको लडाइँ । जहाँ राजधानी हुन्छ । त्यहाँ भीडभाड हुन्छ । चहलपहल पनि बढ्छ । व्यापार व्यवसाय फस्टाउँछ । लगानी गर्न सक्नेको कमाइ राम्रो हुन्छ । घर जग्गाको मूल्य आकासिन्छ । घर जग्गाको मूल्य बढेपछि धेरैले थोरै घर जग्गा महँगोमा बेचेर आपूm बसेको ठाउँ छोड्छन् । त्यहाँ नवधनाढ्य वा मध्यम वर्गीय मानिसहरू आउँछन् । घरधनीहरू घरभाडा बढाउँछन् । सामान्य जागिरे बाहिरबाट आएका विद्यार्थी सहर तथा कलकारखानामा काम गर्ने मजदुरहरूलाई घरकोठा पाउन कठिन हुनेछ । श्रमजीवीको संख्या पनि बढ्छ । ठगी खानेको संख्या पनि बढ्छ ।
सहरमा व्यापार व्यवसायमा स्थापित भएका घरजग्गा धेरै र राम्रो भएका मालामाल हुनेछन् । मजदुर किसान सुकुम्बासी सानो पुँजी लगानी भएका उख्मी व्यासायी टिक्न गाह्रो पर्नेछ । जुवा, तास, देहव्यापार, चोरी, ठगी मौलाउने छन् । यी राजधानीका उपहार हुन भने राजधानी मै बस्नेहरूले छोटो समयमा कम यातायात खर्चमा सेवा लिन पाउनेछन् । यो चाहिँ सुविधा हो । त्यसो भएकाले प्रदेशको राजधानी जहाँ भएपनि हुन्छ ।

प्रदेशको नामाकरण चाहिँ ऐतिहासिक पहिचान, पृष्ठभूमि त्यसप्रदेशमा रहेका शहीद, व्यक्तित्व, त्यस प्रदेशमा बसोबास गर्ने नागरिकको मनोभावना बुझेर वा प्रस्तावित नाममा नागरिक सुझाव संकलन गरेर प्रदेशसभाले एक वर्षभित्र पनि गर्न सक्छ ।

अब जनताले निर्वाचित गरेका प्रतिनिधि रहेको प्रदेशसभा गठन भइसकेकोे अवस्थामा सडकबाट राजधानी अनि भोलि प्रदेशको नाम माग्नुको औचित्य खासै छैन । अस्तु



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved