चियाको राजधानी इलाममा कफीको व्यावसायिक खेती

  • प्रकाशित मितिः पुष, 10, 2075
  • पहिलो किताब संवाददाता

इलाम / इलाम चियाका लागि प्रख्यात क्षेत्र हो । यहाँ उत्पादनका हिसाबले मात्र नभइ मनोरञ्जनात्मक दृष्टिले चियाको महत्व ठूलो छ । पछिल्लो समय यहाँ चिया किन्न आउनेसँगै चियाबारीको अवलोकन गर्ने र वनभोज खाने सम्मका बाह्य तथा आन्तरिक पर्यटक भेट्टिन्छन् । चियाको यही प्रख्यात क्षेत्रमा पछिल्लो समय भने कफीको व्यावसायिक खेती शुरु हुन थालेको छ ।

“चियाकै प्रतिस्थापनका रूपमा चिनिएको कफीबाट लाखौं आम्दानी गर्दै आएका छन्, अन्य परम्परात भन्दा कफीखेती सजिलो भएकाले यसतर्फ आकर्षित भएको हो,” इलाम माइजोगमाइका कफी किसान गञ्जु प्रधान बताउँछन् । प्रधानले हाल वार्षिक तीन देखि चार सय मन (एक मनमा ४० किलो) कफी उत्पादन गर्छन् । कफीबाट राम्रो आम्दानी हुने बुझेपछि अन्य खेतीलाई विस्थापन गरेर कफी शुरु गरेको उनको भनाइ छ ।

खेती मात्र नभइ बिक्रीसमेत आफै गर्दै आएका प्रधानले गाउँघरमा कफी खेतीका बारेमा जानकारी समेत दिँदै आएका छन् । “पराम्परात खेती गर्नुभन्दा कफीबाट धेरै फाइदा मिल्छ । चारदेखि पाँचवर्ष सम्ममा कफीबाट उत्पादन लिन सकिन्छ,” उनले भने ।

प्रधानले थपे,“हामी जेमा पनि दुःख नगरी हुदैन । दुःख गर्दा पनि आम्दानीमूलक क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ ।” आम्दानी मात्र नभइ बजार पनि राम्रो भएकाले यसको खेती शुरु गरेको किसानको भनाइ छ ।

तालीम तथा दक्षजनशक्ति भएमा खेती गर्न सहज हुने अर्का कफी किसान दीप लामाको भनाइ छ । सूर्योदय नगरपालिकाको ‘फिक्कल टी एण्ड कफी कम्पनी’ खोलेका लामाले कफी खेती मात्र नभइ प्रशोधन समेत गर्ने गरेका छन् । उनले यहाँ कफीको प्रशोधन गरेर काठमाडौँंमा बेच्ने गरेका छन् । बीस वर्षअघि इलामको केही ठाउँमा कफी लगाइए पनि उत्पादनले राम्रो भाउ नपाउँदा खेती विस्तार हुनसकेको थिएन । विश्व बजारमा नेपाली कफीको माग बढेसँगै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा ठूलो क्षेत्रमा कफी लगाइएको चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले बताए ।

नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन भएको कफीको माग राम्रो छ अधिकारीले भने, “पहाडी क्षेत्रमा उत्पादन भएको कफीको गुणस्तर राम्रो हुने भएकाले माग राम्रो छ ।”

नेपालमा अरविगा जातको कफी लगाइने गरेको छ । समुद्री सतहको आठ सयदेखि १६ सयसम्मको उचाइमा कफी राम्रो उत्पादन हुन्छ । प्रमुख अधिकारीका अनुसार नेपालमा पाँच सय मेट्रिक टन कफी उत्पादन हुन्छ भने विश्व बजारमा यहाँको सात हजार टन कफीको माग छ । नर्सरीबाट बगैँचामा लगाएको तीन वर्षपछि फल्न शुरु हुने कफी रोपेको ५० वर्षसम्म उत्पादन हुन्छ । एउटा बोटमा वर्षेनी पाँच÷सात किलोसम्म कफी फल्छ । अहिले प्रतिकिलो ५० देखि ८० रुपियाँसम्ममा कफीको दाना किनबेच हुने गरेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved