एक नम्बर प्रदेश राजधानी सम्भाव्यता अध्ययन

  • प्रकाशित मितिः पुष, 5, 2074
  • डा.बद्रीविशाल पोखरेल

एक नम्बर प्रदेशको राजधानी इटहरीलाई केन्द्र बनाएर गर्दा यस प्रदेशका १४ जिल्लाका जनताका लागि पाइक पर्ने विज्ञसमुहको ठहर देखिन्छ । इटहरीलाई केन्द्र बनाउँदा पूर्वमा बेलबारी, उत्तरमा धरान, पश्चिममा इनरुवा, बराह, चतरा क्षेत्र र दक्षिणमा टङ्की, विराटनगरसम्म को पेरिफेरि बुझिन्छ । नागरिक समाज इटहरी(२०६२,०६३) का अध्यक्ष कमलेश शर्मा पौडेल नेतृत्वको कार्यसमितिको संयोजनमा आयोजित नागरिक भेलाले इटहरी नगरपालिकाका अध्यक्ष–मेयर द्वारिकलाल चौधरीको संयोजकत्वमा यस क्षेत्रका नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरु समेत रहेको राजधानी सरोकार समाज, इटहरी गठन गरेको छ ।

समितिद्वारा भूगोलविद् उमानाथ रिजाल सहित छ जनाले तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा प्रदेशको राजधानी इटहरी रहेको तथ्याङ्कपरक तथा सन्दर्भ सामग्री सहितको विश्लेषणात्मक निष्कर्ष निकालेको देखिन्छ । तालिका र नक्सा सहित आठ पृष्ठमा लिखित प्रस्ताव पत्रमा १० उपशीर्षकको यो अध्ययन प्रतिवेदन सातबटै प्रदेशको राजधानी निरुपणको आधार हुने देखिन्छ ।

अध्ययन प्रतिवेदनमा प्रदेशको राजधानी त्यस क्षेत्रका १४ जिल्लाका जन समुदायलाई सबै हिसाबले पाइक पर्ने भन्दै विकास निर्माणका साधनको सहज उपलब्धता, सेवा सुविधाको सहज विस्तार र वितरण गर्न उपयुक्त हुने, आर्थिक सामाजिक, सांस्कृतिक एवं राजनीतिक गतिविधिको सघन अंन्तःसम्बन्ध इटहरीमा अत्यन्त सहज हुने हुनाले यही स्थान राजधानीको केन्द्र क हुनु पर्ने उल्लेख गरिएको छ । त्यसैगरी प्रस्तावमा प्रदेशको राजधानी भौगोलिक एवं पर्यावरणीय दृष्टिले अनुकूल,भविष्यमा राजधानीलाई विकास र विस्तार गर्नका लागि अनुकुल जग्गा जमिनको पर्याप्त उपलब्धता हुनसक्ने, शिक्षा स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत आवश्यकताहरु समेत भएको वा हुन सक्ने केन्द्रको खास परिधि सम्ममा राजधानी छनोट गर्नु आवश्यक हुन्छ भनिएको छ ।

राजधानी छनोटका लागि भूगोल र जनसंख्याको सन्तुलित केन्द्र (center of gravity or balancing  point) टुङ्गो लगाउन यो “प्रचलित न्यूनतम योगको यात्रा दुरी” (minimum aggregate travel distance ) को महत्वपूर्ण वैज्ञानिक विधि प्रयोग गरिएको छ । त्यसका लागि आधारभूत तथ्याङ्क प्रदेशका चौध जिल्लाको जनसंंख्या र जिल्ला सदरमुकाम संम्म जोडिएका सडक यातायात मार्गको दुरी लिइएको छ देखिन्छ । प्रदेश नम्बर एकको हकमा हाल प्रदेश राजधानीका लागि प्रस्तावित एवं चर्चित केन्द्रहरु– धनकुटा, धरान, इटहरी एवं विराटनगर सम्म प्रत्येक जिल्ला सदमुकामबाट जोडिएका वा निकट भविष्यमा जोडिने कम दुरीका सडक मार्गको लम्बाइको मापन गरिएको छ । जिल्लाहरुको जनसंख्यालाई गन्तव्य अर्थात् प्रस्तावित राजधानी सम्मको दुरीले गुणन गरी योग निकाले पछि न्यूनतम यात्रा दुरीको योग रहेको प्रस्तावित केन्द्रहरु मध्ये कुन केन्द्र कम यात्रा दुरीको हुन आउछ भन्ने देखाउँछ । प्राविधिक सूत्रका रुपमा m=edij ×pi अर्थात M = m = केन्द्र, dij = =    आउने जिल्लाबाट पुग्ने केन्द्रको दुरी रpi= = आउने जिल्लाको जनसंख्या हो । यो विधिले देखाउने केन्द्र भौगोलिक र तथ्याङ्ंकीय भाषामा जनसंख्याको median centre भनिन्छ ।

प्रदेशका जिल्लाहरुको जनसंख्या र चर्चित/प्रस्तावित राजधानी केन्द्र सम्मको जिल्ला सदरमुकामबाट हुने सडक संजाल न्यूनतम दुरीका सडक मार्गको दुरीसंग गरिएको गणनाको योग (m=edij × pi ) ले के देखाइ रहेको छ भने प्रदेशका १४ जिल्लामा बसोबास गरिरहेका सम्पूर्ण जनसंख्याले सडक मार्ग भएर यात्रा गर्दा इटहरीको लागि ४३२६६०००, धरानको लागि ४८४६७९०००, विराटनगरको लागि ४९०४१७००० र धनकुटाको लागि ६२९५६८००० किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ । अतः हालको सडक संजाल र जनसंख्याको वितरणको संन्तुलित केन्द्र balencing centre अर्थात् आकर्षण केन्द्र (centre of gravity) प्रस्तावित केन्द्रहरु मध्ये इटहरी उप–महानगरपालिकामा रहेको प्रष्ट हुन्छ । इटहरीबाट पूर्वमा बेलवारी तथा पश्चिममा झुम्कालाई प्रस्तावित केन्द्र मानेर हिसाब गणना गर्ने हो भने पनि इटहरी आउँँदाको न्यूनतम योगको दुरी भन्दा केही तल माथिको तथ्य आउने सहज अनुमान गर्न सकिन्छ ।

अतः इटहरीलाई हालकै इटहरी मात्र होइन, बृहत्तर इटहरीको संम्भावित संरचनाको अवधारणा सहित लेटाङ, बेलवारी, दुहवी, इनरुवा, रामधुनी, बराह क्षेत्र तथा धरान सम्मको बृत्तक्षेत्रभित्र राजधानी निर्धारण गर्न उपयुक्त देखिन्छ । यो गणनाले सबै जिल्लाका जनतालाई पाइक पर्ने स्थानको वास्तविकता स्पष्ट हुने विज्ञ समूहको ठहर देखिन्छ । प्रदेश राजधानी स्थलको ऐतिहासिक राजनीतिक पुष्ठभूमि र सुरक्षा विषयसित जोडेर विज्ञसमूहले इटहरी क्षेत्रको महत्वलाई उजागर गरेको छ । महाभारत कालीन विराट राज्य, हरैंचा, गैसार जस्ता मिथक किम्वदन्तीहरुदेखि विजयपुर धनपाल थान कोच प्रदेशको इतिहास जोडिएको यो क्षेत्रमा सेन राज्य अंन्तर्गत सुरक्षित स्थान विजयपुर राजधानीको समीप र मध्य भागमा इटहरी रहेको बताउँछ । यसैको सिरानमा वा उत्तरमा हिमालसम्म माझ किराँत वा लिम्वूवान संस्कृति विस्तारित रहेको प्रतिवेदनमा उल्लेख छ ।

पुराना ऐतिहासिक केन्द्र या त भारतीय सीमा नजिक छन् या त साँगुरा पहाडी धरातलमा रहेका साना गाउँरशहरका अवस्थामा रहेका छन् । यसले आधुनिक निर्माण विकासका आवश्यकता एवं आकांक्षालाई धान्न सक्तैन । शहरीकरण र भवन निर्माण ज्यादै खर्चिलो र साँगुरो हुन्छ , पहाड खार्नु वा सम्याउनु पर्ने हुनाले पर्यावरण सन्तुलनमै असर पर्ने हुन्छ । अतः इटहरी क्षेत्रमा  विकास विस्तारका असीमित सम्भावनाहरुको उच्चतम उपभोग गर्न सकिन्छ । यहाँ प्राकृतिक प्रकोपजन्य सम्भावित समस्याको पनि न्यूनीकरण गर्न सकिन्छ । अंतराष्ट्रिय सीमा भन्दा टाढा राष्ट्रिय सुरक्षा संयन्त्रहरुको निकट पहुचको क्षेत्र र वाढी पहिरो जस्ता जोखिम न्यून रहने हुँदा इटहरी क्षेत्र राजधानी छनोटमा पर्नु स्वाभाविक हुने प्रतिवेदनमा उल्लेख गरिएको देखिन्छ ।

पूर्वको १ नं. प्रदेशको राजधानीका लागि प्रस्तावित एवं चर्चित स्थानहरुमा आवश्यक पूर्वाधारहरुको पूर्ण संरचना छैन । भएका पूर्वाधारहरु स्थानीय स्तरको आवश्यकता पूरा गर्न पनि सक्षम छैनन् । त्यसैले प्रस्तावित प्रदेश राजधानीको स्थलमा नयाँ पूर्वाधार संरचना निर्माण गर्नै पर्ने हुन्छ । सडक संञ्जालको राम्रो विकास भएको, आधुनिक संरचनाहरु सेवा सुविधाहरु, सार्वजनिक स्थल, भवन खेलकुदका मैदान स्टेडियम आदिको संरचना कायम भए वा हुने अवस्थाको क्षेत्रमा प्रदेश राजधानी कायम गर्नु पर्ने अवस्थामा महाभारत पर्वत श्रृखलाको दक्षिणमा रहेका मैदानी फाँटमा अवस्थित इटहरी क्षेत्र नै उपयुक्त हुने अध्ययन प्रतिवेदनको निष्कर्ष देखिन्छ । विषम धरातलीय क्षेत्रमा प्रदेश राजधानी चयन गर्दा प्राकृतिक र पर्यावरणीय असन्तुलन उत्पन्न गराउँछ । प्रकृति मैत्री विकासका संरचना निर्माण गरेर राजधानी सहरको व्यवस्था गर्न पहाडमा भन्दा समदूरीको तराईका फाँटको इटहरी क्षेत्र उपयुक्त हुने देखिन्छ ।

राजधानी भनेको केवल राजनीतिक एवं प्रशासनिक गतिविधिको केन्द्र मात्र नभएर आर्थिक सामाजिक कृयाकलापहरु जोडिदै सघन रुपमा विकास र विस्तार हुँदै जाने हुँदा तदनुकूलको स्थान छनौट गर्नु बुद्धिमानी हुन्छ । सडक यातायातको सुविधाले गर्दा पूर्वी पहाडतर्फ मात्र छैन काठमाण्डौ तथा पश्चिम तर्फका अन्य जिल्लाहरुमा पनि व्यापारिक सामानको सहज आपूर्ति इटहरीवाट हुन्छ । क्षेत्रीय व्यापारको प्रतिस्पर्धामा नेतृत्वको तीव्र विकासले इटहरी क्षेत्रका लागि असीम सम्ंभावना देखाउँछ । औद्योगिक विकास, व्यावसायिक सेवा सुविधा, कृषिको आधुनिकीकरणमा पनि पूर्वी तराई अव्वल रही आएको छ । मोरङ सुनसरी औद्योगिक करिडोर विकसित र आधुनिक सडक संञ्जालको विकासमा पूर्व पश्चिम राजमार्ग र उत्तर दक्षिण कोशी राजमार्गको स्तर उन्नतिले ठूलो योगदान पु¥याउने छ । उत्तर दक्षिण शाखा मार्ग समानान्तर विकासमा छन् ।

बैक तथा वित्तीय संस्थाहरुको सघन विकास भएको यो क्षेत्रमा व्यवसायिक आधुनिकीकरणमा तीव्रता आइरहेको छ । अरुण करिडोर मार्फत् किमाथांका नाकाबाट सडक यातायत खुलेको अवस्थामा चीन–नेपाल –भारत तथा वांङ्गलादेश सम्मको अन्तराष्ट्रिय व्यापारिक ट्रान्जिटको रुपमा सुनसरी मोरङको उत्तरी समथर क्षेत्र विकसित हुने प्रवल सम्भावना देखिएको छ । यस्तो क्षेत्रले नै प्रदेशको प्रशासनिक र राजनीतिक केन्द्र र राजधानीलाई आकर्षण गर्ने कुरा अध्ययनमा उल्लेख गरिएको छ ।

विराटनगर धरान तथा धनकुटा धेरै अघिदेखि पूर्वका शैक्षिक केन्द्रका रुपमा रहेका भए पनि हाल आएर इटहरी र सुन्दरहरैचा (सुकुना –गछिया)ले पनि शैक्षिक केन्द्रको स्वरुप ग्रहण गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालय यसै क्षेत्रमा अवस्थित छ । सांस्कृतिक विविधता पनि यो क्षेत्रमा व्यापक छ । वराह क्षेत्र, चतरा, रामघुनि, पिण्डश्वर, राजारानी, बुढासुव्वा जस्ता पवित्र एवं प्रसिद्ध तीर्थस्थलहरुले धार्मिक पर्यटनलाई समेत उजागर गरिरहेका छन् । थारु, धिमाल, राजवंशी, संथाल जस्ता जनजातिका परम्परागत धार्मिक थान (स्थान) मेला पर्वहरुको पनि आफ्नै साँस्कृतिक महत्व छ । कोशीटापू वन्यजन्तु आरक्ष, वर्जुताल, ताल तदैया, हसिना, वैतौना, राजारानी जस्ता सीमसार क्षेत्रहरु समशीतोष्ण हावापानीको महाभारत पर्वत श्रृखलामा अवस्थित भेडेटार, साँगुरी गडी, उदाउँदो सूर्य हेर्ने धजे, जेफाले मिक्लाजुङ जस्ता पर्यटकीय स्थल भ्रमणको लागि पनि यातायातको राम्रो व्यवस्था भएकाले राजधानीको अवस्थितिलाई आकर्षण गर्दछ । चारकोसे झाडीमा जंगल सफारी, क्षेत्रीय रङंगशाला, प्रसस्त होटल व्यवसाय आदिले थप पर्यटकीय एवं मनोरञ्ंजनकेन्द्रको महत्व दर्शाउँछन् ।

प्रादेशिक राजधानीको अवस्थित वहुजातीय, बहुभाषिक, वहु साँस्कृतिक विविधताले सम्पन्न क्षेत्रमा निर्धारण गरियो भने सबै खाले सांस्कृतिक समुदायहरु बीच अन्ंतर सम्वन्ध अंन्तर निर्भरताको प्रकृया अघि बढ्ने छ, यसले राष्ट्रिय सांस्कृतिक एकीकरणको प्रकृयामा गति दिनेछ । वृहत्तर मेघासिटी (megalopolis) को सम्भावना पनि काठमाडाँै पछि पूर्वी तराईको इटहरीमा देखिन्छ । इटहरीलाई केन्द्रविन्दु राखेर हाललाई वीस किलो मीटरको दुरी परिधिमा पूर्व पश्चिम, उत्तर दक्षिण–वेलवारी, दुहवी, इनरुवा, रामधुनी, वराह र धरान सम्मको वृत्तमा वृहत्तर मेधासिटीको आकांक्षा, परिकल्पना र आवश्यकतालाई आगामी १०,२० वर्ष सम्ममा साकार पार्ने सकिने प्रवल सम्भावना देखिन्छ । इटहरी केन्द्रित वृहत् महानगर एउटा सपना वा परिकल्पना मात्र नभएर १५,२० वर्ष देखिको आर्थिक, सामाजिक र शहरी विकासको गतिशीलताले भविष्यको सम्भावना प्रक्षेपण गरिरहेछ । यो पूर्व क्षेत्रकै ज्ञान सभ्यता र समृद्धिको प्रतीक वन्ने छ । इटहरी क्षेत्रमा हिमाल, पहाड र तराई मघेसका जनसमुदाय विच गहिरो अन्तर सम्बन्ध र निर्भरता अन्यत्र भन्दा वेग्लै क्षेत्रीय वा प्रादेशिक विशेषताको रुपमा विकसित भएका छन् ।

पहाडवाट वसाइँ सराइको गन्तव्य पनि पूर्वी तराइका जिल्लामा नै रहेको छ । यस्तो अंतर सम्बन्धको मुख्य कडी विगतमा विराटनगर धरान, भद्रपुर जस्ता केन्द्र थिए भने हालको विकास क्रमले इटहरी दमक र विर्तामोड जस्ता उदीयमान शहरहरु प्रमुख कडी बनेका छन् । राजनीति र विकास आन्दोलनका गतिविधि पनि त्यस्तै केन्द्रहरु मार्फत् दूरदराज सम्म प्रशारित हुन्छन् । यस्तो केन्द्र मध्ये सवैलाई पाइक पर्ने क्षेत्रमा–इटहरी केन्द्रीत क्षेत्रमा प्रादेशिक राजधानीको ठहर उपयुक्त हुने विज्ञसमूहको राय रहेको छ । पहाडमा साँगुरा नदीवँेसी र उपत्यका छन,् त्यहाँ बृहत् शहरीकरणका लागि स्थान अभाव हुन्छ । हाल जनस्तरमा प्रस्तावित र चर्चामा रहेको केन्द्र धनकुटामा विस्तार गर्ने स्थानको अभाव र न्यूनतम यात्रादुरी योगको गणनामा समेत धनकुटा पछि परेको देखिन्छ । त्यहाँ पानीको आपूर्तिको पनि ठूलो समस्या छ । धरानमा पनि विस्तार गर्नकालागि उपयुक्त जमिनको अभावका साथै पानीको आपूर्तिमा समस्या रहेको छ । विराटनगर भारतीय सीमासँग जोडिएको केन्द्र भएकाले खुला सीमाका कारण असुरक्षाको सम्भावना हुनका साथै न्यूनतम यात्रा दुरीको योग गणनाले प्रादेशिक राजधानी तोक्न उपयुक्त देखिँदैन ।

( राजधानी सरोकार समाजले विज्ञहरु (उमानाथ रिजाल,केशव दाहाल,डम्बर खतिवडा, मोहन तिमसिना,दिलकुृमार बन,रामप्रसाद चौलागाईं) को सहयोगमा तयार पारेको अध्ययन प्रतिवेदनको सारसंक्षेप ) 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved