सामुहिक बार्गेनिङ्ग कमजोर बन्दा मजदुरको श्रम मुल्यमा बिचौलिया हावी

  • प्रकाशित मितिः कार्तिक, 14, 2075
  • नवराज कट्टेल

विराटनगर/ औद्योगिक प्रतिष्ठानमा मजदुर संघ तथा संगठनको कमजोर उपस्थितिले ठेकेदारी प्रथाबाट मजदुर आपूर्ति गर्ने क्रम बढेपछि उनीहरुले पाउने श्रम मुल्यमा बिचौलिया हावी हुन थालेको छ । बिचौलियाको रुपमा रोजगार आपूर्तीकर्ता तयार गरेर मजदुरका मागहरुलाई निस्तेज गर्ने र उनीहरुले पाउने सेवा सुविधा समेत कटौती गर्न औद्योगिक प्रतिष्ठानले नयाँ बाटो प्रयोगमा ल्याउन थालेका छन् ।

ट्रेड यूनियनहरुको मालिकसँगको मिलेमतो र औद्योगिक प्रतिष्ठानसँगको साँठगाँठ बढेपछि बिचौलियामार्फत मजदुर तथा कामदार आपूर्ती गर्ने क्रम बढेको छ । जसका कारण श्रम ऐनले तोकेको सेवा सुविधामा समेत बिचौलिया हावी हुन थालेका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोर भित्रका प्रतिष्ठानमा मजदुर उपलब्ध गराउँदै आएका रोजगार आपूर्तिकर्ताले बिचौलियाको रुपमा मजदुरमाथि शोषण गर्ने गरेका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरले बुधबार औद्योगिक करिडोर भित्रका चार प्रतिष्ठानमा गरेको अनुगमनमा मजदुरको तलवमा बिचौलिया हावी भएको देखिएको हो ।

यतिसम्म संघीय सांसद मोती दुगडले सञ्चालनमा ल्याएको दुगड स्पाइसेसमा महिला र पुरुष कामदारमै तलव विभेद देखिएको छ । राजु राजबंशी मण्डलमार्फत कामदार आपूर्ती गरेको उद्योगमा कार्यरत महिलालाई ४ सय २५ र पुरुषलाई ४ सय ४५ रुपैँया दिने गरिएको हो । जबकी उनीहरुले पाउने समान ज्याला ५ सय १७ रुपैँया प्रतिदिन हुन आउँछ । उद्योगसँग लिएको मजदुरको न्यूनतम ज्याला बिचौलियाको रुपमा रहेको आपूर्तिकर्ताको गोजीमा जाने गरेको छ ।

प्रतिष्ठानले ट्रेड यूनियनसँग आवद्ध मजदुरले दुईवर्षमा सामुहिक बार्गेनिङ्ग गर्ने र सेवासुविधा बढाउनु पर्ने शर्तलाई टार्न बिचौलिया तयार गर्ने गरेका हुन् । बिचौलियाको सम्पर्क र सम्झौतामा आएका मजदुरले उद्योगसँग सेवासुविधा माग्न सक्दैनन् । माग्ने मजदुरलाई कामबाट निकाल्ने गरेका छन् । आपूर्तीकर्ताबाट माग गरेर आएका मजदुरसँग प्रतिष्ठानले काम गर्ने सम्झौता र नियुक्ति पत्र समेत दिदैन । श्रम तथा रोजगार कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सन्जेलका अनुसार अनुगमनका क्रममा प्रतिष्ठित उद्योगीहरुले सञ्चालन गरेका उद्योगमा काम गर्ने कामदारले न्यूनतम पारिश्रमिक पाउन सकेका छैनन् ।

विराटनगर रानीमा सञ्चालित ट्राइकट इण्डष्ट्रिज, हात्तिमुडा–१ स्थित आरती स्ट्रिप्स प्रा.लि., यसैगरी दुगड स्पाइसेस र बुढीगंगा गाउँपालिका–५ स्थित क्वालिटी नुडल्सको अनुगमन गर्दा चारै उद्योगमा कार्यरत मजदुरले न्यूनतम पारिश्रमिकबाट बन्चित गरेका छन् ।ट्राइकर्ट उद्योगी बासुदेव गोल्यान, दुगड स्पाइसेस सांसद मोती दुगड र क्वालिटी नुडल्स उद्योगी नवलकिशोर काबराले सञ्चालन गरेका उद्योग हुन् । पदमा रहेका यस्ता उद्योगीले सञ्चालन गरेको उद्योगमा कार्यरत मजदुरको अवस्था भने दयनिय छ ।

सेवा र सुविधा बढाउन सामुहिक बार्गेनिङ्ग गर्नका लागि आवश्यक पर्ने मजदुरसँग सम्बन्धित संघ तथा संगठन आरती स्ट्रिप्समा अहिलेसम्म खोल्नै सकेको छैन । त्यहाँ भारतीय र नेपाली नागरिकबीच नै दुईथरीको सेवा र सुविधा उपलब्ध गराउने गरिएको छ । संघीय सांसद मोति दुगडको दुगड स्पाइसेस प्रा.लि.मा कार्यरत मजदुरलाई महिला र पुरुषमा विभाजन गरेर तलव दिने गरिएको छ । मजदुरले पाउने न्यूनतम पारिश्रमिक नदिएको उद्योग प्रशासनले पुरुष मजदुरलाई ४ सय ४५ र महिला मजदुरलाई ४ सय २५ रुपिँया प्रतिदिन दिने गरेको हो ।

यो उद्योगमा ट्रेड यूनियनसँग आवद्ध ६६ जना मजदुरलाई श्रम ऐनले तोके अनुसारको सेवा दिएको छ । तर, रोजगार आपूर्तीकर्तालाई बिचौलियाको रुपमा माग गरिएका दुईसय मजदुरलाई दैनिक ४ सय ४५ मात्रै दिइएको पाइएको हो । उद्योगमा कार्यरत मजदुर अजय राजबंशीका अनुसार तलव बृद्धिको माग गर्न उद्योगीसँग ती मजदुर जान पाउँदैनन् । उनीहरु बिचौलियाको निगाहामा चल्नुपर्ने बाध्यता रहेको छ । उद्योगमा राजु राजबंशी मण्डलले मजदुर आपूर्ती गर्दै आएको उद्योगका उत्पादन विभाग प्रमुख रनबहादुर बुढाथोकीले जानकारी दिए ।

यसैगरी विराटनगरस्थित आरती स्ट्रिप्स प्रा.लि.मा कार्यरत पाँचसय ५० मजदुरमध्ये भारतीय नागरिकलाई तोकिएभन्दा बढी तलव र सेवा सुविधा दिएपनि नेपाली नागरिकका हकमा भने न्यूनतम मात्रै तलव दिइएको पाइएको छ । उद्योगमा कार्यरत मजदुर समेत ठेकदारमार्फत आपूर्ति गरिएको उद्योगका निर्देशक संजीव शर्मा बताउनुहुन्छ । श्रम ऐनले तोकेको सेवा र सुविधा आरतीले दिएपनि उद्योग भित्रै विभेद गर्ने गरेको मजदुरहरुको गुनासो छ ।

यसैगरी नेपालमै स्वीटर र आउटर उत्पादनमा चिनिएको ट्राइकर्ट उद्योगले लामो समयदेखि कार्यरत मजदुरलाई नियुक्तिपत्र नदिएको र श्रम ऐनले तोकेको तलव नदिने गरेको देखिएको छ । उद्योगका प्रवन्धक शक्ति गोल्यानले निजी कम्पनिको आफ्नो नियम अनुसार कामदार माग गर्ने र त्यहि अनुसारको सेवासुविधा दिने गरेको बताउनुभयो । उद्योगमा १४ वर्षदेखि कार्यरत निता बरालले आफूलाई दैनिक पाँचसय रुपिँया दिने र अन्य सेवासुविधाबाट बन्चित गराएको बताउनुभयो ।

हात्तिमुढा–५ स्थित क्वालिटी नुडल्सले भने श्रमिकलाई दैनिक ३ सय ९५ रुपिँया भुक्तानी गर्दै आएको देखिएको थियो । वरिष्ठ श्रम अधिकृत सञ्जेलले अनुगमन गरिएका उद्योगहरुसँग मागिएका कागजात र लिएको विवरणका आधारमा मजदुरले पाउने तलव तत्काल भुक्तानी गराउने बताउनुभयो । उहाँले स्थानीय प्रशासनमार्फत बिचौलियादेखि उद्योग सञ्चालकसम्मलाई नियन्त्रणमा लिएर मजदुरले पाउने रकम असुल गरि उपलब्ध गराउने दावी गर्नुभयो । औद्योगिक प्रतिष्ठानमा ट्रेड यूनियनहरुको उपस्थिति कमजोर बन्दै गएपछि बिचौलियामार्फत कामदार पूर्ति गर्ने र उनीहरुलाई सेवा सुविधा कटौति गर्ने गरिएको देखिएको छ ।

यस्ता बिचौलियाले औद्योगिक प्रतिष्ठानसँगको सम्झौतामा मजदुरले पाउने न्यूनतम पारिश्रमिक वापतको तलव लिने गरेपनि मजदुरलाई भने दिदैनन् । श्रम ऐन २०७४ लागु भएसँगै तोकिएको सेवाशर्त अनसारको सेवा तथा सुविधा औद्योगिक प्रतिष्ठानले दिनुपर्ने र कुनैपनि रोजगार आपूर्तीकर्ताको ठेकेदारी प्रथा चल्न नहुने जिफन्ट कोशीका अध्यक्ष किशोर धमला बताउनुहुन्छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र श्रम ऐन २०७४ लागु भईसकेको छ । मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपिँया तोकिएकोसहित श्रम ऐनको दफा (५२) मा सञ्यकोष, दफा (५३) उपदान, दफा (५४) औषधी उपचार खर्च, दफा (५५) मा दुर्घटना बिमा र दफा (१० र ११) मा रोजगार सम्झौताको स्पष्ट प्रावधान उल्लेख गरिएको छ ।

ऐनमा तोकिए अनुसार हरेक कामदारको सञ्चकोष कायम गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा हस्तान्तरण हुनेगरि हरेक महिना ८.३३ प्रतिशत उपदानको व्यवस्था गरिनुपर्ने, एकलाख रुपिँयासम्मको उपचार वापतको सुविधा ग्यारेन्टी गरिनुपर्ने, सात लाख रुपिँयाको सबै खाले दुर्घटना बिमा गरिनुपर्ने र हरेक रोजगार कम्पनिले कामदारलाई रोजगार सम्झौता गराएर मात्र काममा लगाउनुपर्ने प्रावधान छन् । रोजगारदाता कम्पनिले दिने औषधी उपचार खर्चको सुविधामा भने कामदारको ५० प्रतिशत सहभागिता रहने ऐनमा उल्लेख छ ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved