माध्यम, प्रेरणा र आवश्यकता जेसिज– श्यामसुन्दर पौडेल

  • प्रकाशित मितिः पुष, 2, 2074
  • पहिलो किताब संवाददाता

विराटनगर/ दशवर्ष अगाडि क्याम्पस पढ्न विराटनगर रहँदा चिटिक्क, फिटिक्क, रिमिक्क देखिने अनुसासित र आकर्षक व्यक्तित्व बारे सोच्दै हिड्थे । आँखाले खिचिएको यो दृश्य व्यवहारमा उतार्ने सपना देखिरहन्थे । लाग्थ्यो–व्यक्तित्व बोकेका नेतृत्वको जिम्मेवारी के होला ? कसरी यस्तो अवस्थामा जीवनले फड्को मार्ला ?

अनगिन्ति सोचाइलाई व्यवहारमा रूपान्तरण गर्ने माध्यम बारे सोचिरहेका उनै व्यक्ति श्यामसुन्दर पौडेल अहिले त्यही सपनाको फलमा रमाइरहेका भेटिन्छन् । भन्छन्–‘माध्यम, प्रेरणा र जीवनको आवश्यकता जेसिज ।’

जेसिज वर्ष २०१८ लागि एकवर्षे नेतृत्व चयनका लागि ४४ औं महाधिवेशन पुस ८, ९ र १० रुपन्देहीको सिद्धार्थनगरमा हुँदैछ । देशभरका साढे छ हजार युवा सदस्य रहेको संस्थाबाट दुई हजार बढी युवाले प्रतिनिधिका रूपमा सहभागिता जनाउँदै छन् । त्यही महाधिवेशनको हलबाट निर्वाचित हुने आशासहित उपाध्यक्ष पदको लागि मनोनयन दर्ता गराएका पौडेल सामाजिक क्षेत्रमा क्रियाशी र युवाबीच लोकप्रिय मानिन्छन् ।

जेसिजमा १७ पदमध्ये १२ पद उपाध्यक्ष रहने व्यवस्था भएअनुसार पौडेलले एक उपाध्यक्ष पदमा आफ्नो उमेदवारी दर्ता गराएका छन् ।
चुनावी अभियानमा रहेका उनको जेसिज यात्रा ८ वर्षको छ । जेसिजले युवामा अनुसाशनसहितको व्यक्तित्व, नेतृत्व, उद्यमशीलता बढाउँछ भन्ने कुराले आकर्षण गराएपछि त्यसैमा संलग्न भएका उनी आफ्नो सपना पूरा गर्ने माध्यम पनि जेसिज नै भएको मान्दछन् ।

विभिन्न सामाजिक क्षेत्रमा योगदानसहितको विराटनगर जेसिजको जनसम्पर्क अधिकृत, कार्यकारी उपाध्यक्ष, अध्यक्षसमेत भएका पौडेल यतिबेला विराटनगरमा एउटा सफल र सक्षम व्यवसायीको रूपमा स्थापित छन् । विराटनगरमा स्वास्थ्य प्राविधिक विषयको अध्यापन गराउँदै आएको कोशी हेल्थ इन्ष्टिच्युट र स्वास्थ्य सेवा प्रदान गर्दै आएको मोरङ सहकारी अस्पताल उनीसहितको संलग्नतामा सञ्चालित छ ।

छोटै समयमा उद्यमशील बन्न सक्नुको मुख्य प्रेरणा सामाजिक क्षेत्रमा क्रियाशील गराउने जेसिज नै भएको दावी उनको छ । यही उद्यमशीलताको नमुना बनेको कोशी हेल्थ इन्ष्टिच्युटले ७० जनालाई रोजगारीसहित ९०० विद्यार्थीलाई अध्ययन गराउँदै आएको छ ।

५० शैयाको मोरङ सहकारी अस्पतालले १ सय ४० जनालाई रोजगारीसहित सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । ‘मैले जसरी सोचिरहेको थिएँ, त्यसरी नै सफलता पाएको छु’ सञ्चालक पौडेल भन्छन्–धेरै असाह्य र गरिबले सेवा पनि पाइरहेका छन् । व्यक्तिगत चेतनामा सामाजिक सेवा भावना जगाउने जेसिजले कर्ममा लागिरहन अभिप्रेरित गर्दै आएको उनको भनाइ छ ।
जेसिजको नेतृत्वका हैसियतले भूकम्पपीडितको सहयोगका लागि राहत सामाग्रीसहित, स्वास्थ्य शिविर र आवास निर्माणमा चारदिनसम्म सिन्धुपाल्चोकमा र पछिल्लो समय बाढी पीडितको लागि विभिन्न सहयोग जुटाउनेदेखि उपलब्ध गराउने भूमिकामा समेत पौडेल सफल र उदार मानिएका छन् ।

यसबाहेक नेदरल्याण्डमा भएको अन्तराष्ट्रिय कन्फरेन्स, एसिया प्यासिफिक कन्फरेन्समा सहभागितादेखि हालसम्म १९ वटा राष्ट्रको भ्रमण गरिसकेको अनुभव रहेको उनी सुनाउँछन् ।

‘युवा जेनेरेशनको संस्था जेसिज, उनै युवाबीच म लोकप्रिय छु’ पौडेल दावीसहित भन्छन्–जेसिजमा मैले दिइएको उपाध्यक्षको उमेदवारी युवाहरूकै हितमा प्रयोग गर्ने शर्तमा दिइएको हो । सामाजिक सेवासहित युवा पुस्तालाई सकारात्मक सोचका साथ नेतृत्वमा अगाडि बढाउने योजनामा रहेको उनी बताउँछन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved